सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

किन फर्किए चापागाई एमालेमा ?

पदको बार्गेनिङ कि विष्णु पौडेलको विरासत जोगाउन ?
सोमबार, २७ भदौ २०७९, १२ : १९
सोमबार, २७ भदौ २०७९

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य, अर्थ तथा योजना विभागका केन्द्रीय उपप्रमुख एवं पार्टीका निवर्तमान रुपन्देही इन्चार्ज डा. बालकृष्ण चापागाई एमालेमा फर्किएका छन् । उनले आइतबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै  नेकपा एमालेमा फर्किएको घोषणा गरेका हुन् ।

तत्कालीन नेकपाको सरकारमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्दा विज्ञप्ति निकालेर रुपन्देहीबाट एमालेभित्र विद्रोह गरेका चापागाई किन फेरि एमालेमै फर्किए भनेर धेरैले आश्चर्य मानेका छन् । यस क्षेत्रका बौद्धिक व्यक्ति मानिने चापागाईले आफ्नो पार्टी एकीकृत समाजवादीलाई समेत पूर्व जानकारी नदिई एमाले प्रवेश गरेपछि समाजवादीका स्थानीय नेता नै आश्चर्यमा परेका छन् ।

एकीकृत समाजवादीका जिल्ला अध्यक्ष अविराम विकले भने, ‘मलाई कुनै जानकारी थिएन, एक्कासी मिडियामार्फत उहाँ एमालेमा प्रवेश गरेको खबरले आश्चर्य लाग्यो ।’ विकका अनुसार चापागाईले पार्टीभित्र खासै ठूलो विवाद पनि गरेका थिएनन् । तर पार्टीको काम गर्न अल्छी मान्ने, संगठनमा पर्याप्त समय नदिने, संगठन निर्माणका लागि ग्रामीण इलाकाहरुमा जान नमान्ने, कार्यक्रममा पुगिहाले पनि पूरा समय नदिने लगायतका कमीकमजोरी भने चापागाईमा रहेको विकले रातोपाटीलाई बताए ।

​उनले थपे, ‘उहाँ अल्छी नेता हो, संगठन निर्माणमा मेहनत गर्न नखोज्ने, आफ्नै मानसम्मान बढी खोज्ने, त्यसैले सजिलो खोज्न एमालेमा जानुभएको होला ।’ समाजवादीका अर्का एक जिल्ला नेताले भने, ‘उहाँले पार्टीबाट केन्द्रको सांसद ताक्नुभएको थियो, हामीले राजु गुरुङलाई उम्मेदवार सिफारिस ग¥यौं, त्यही असन्तुष्टिले उहाँ एमालेमा फर्कनुभयो ।’

उनका अनुसार चापागाईमा जहाँ पनि पद नै चाहिने, वडा सदस्यमा पनि तयार हुने, सांसद हुन पनि तयार हुने, संगठन निर्माणमा ध्यान नदिने प्रवृत्ति थियो । अस्थिर मनस्थितिका कारण चापागाईले विचार परिवर्तन गरिरहेको उनले बताए ।

पौडेलको विरासत जोगाउने प्रयास

चापागाईलाई एमालेमा पुनः फर्काउने मुख्य योजनाकार हुन् एमाले उपाध्यक्ष विष्णु पौडेल । यसअघि लगातार तीन पटक रुपन्देही क्षेत्र नं. २ (बुटवल) बाट प्रतिनिधिसभा निर्वाचन जितेका पौडेललाई यो पटक भने जित्न सहज छैन । पार्टी विभाजनको असरमात्रै होइन, अहिलेको बलियो पाँच दलीय गठबन्धनले यसपटक पौडेललाई चुनाव जित्न चुनौती दिएको छ । गत वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनको मत परिणाम अनुसार यो निर्वाचन क्षेत्रमा करिव ८ हजार मतले गठबन्धन अगाडि छ । यदि गठबन्धनका दलबाट लोकप्रिय उम्मेदवार छनौट भएमा पौडेललाई चुनाव जित्न कठिन हुनेछ । यो कुराको राम्रो हेक्का राखेका पौडेलले रुपन्देही क्षेत्र नं. २ मा आफ्नो विरासत जोगाउन चापागाईलाई पच्छ्याइरहे र अन्ततः एमाले अध्यक्ष केपी ओलीलाई फोन गर्न लगाएर आईतबार भेट गराई पार्टी प्रवेश पनि गराए ।

एमाले छोडेर समाजवादीमा लागेका रुपन्देहीका प्रभावशाली नेतामध्ये एक चापागाई थिए । मुख्यतः पत्रकारिता पेसाबाटै चर्चा कमाएर राजनीतिक क्षेत्रमा लागेका चापागाईलाई एमालेमा फर्काउँदा बुटवलवासी मतदातामा राम्रो सन्देश जाने भएकाले पौडेलले उनलाई फर्काउन दौडधुप गरेका थिए । समाचार स्रोतका अनुसार पौडेलले चापागाईलाई सम्भव भएमा संघमै, नभए प्रदेशमा सांसद बनाएर मन्त्री बनाउने आश्वासन दिएका छन् । एमालेवृत्तमा चापागाईले पदको बार्गेनिङ गरेर एमाले फर्किएको भन्ने चर्चा छ ।

२०७४ सालको पहिलो स्थानीय तहको निर्वाचनमा चापागाई बुटवल उपमहानगरपालिकाको मेयर उठ्न चाहन्थे । तर विष्णु पौडेललाई रिझाउन नसक्दा उनले टिकट पाएनन् । पौडेलले आफ्ना विश्वास पात्र शिव सुवेदीलाई मेयरको उम्मेदवार बनाए र चुनाव पनि जिताए । आफूलाई बेवास्ता गरेर सुवेदीलाई मेयर बनाएपछि पौडेलसँग रुष्ट बनेका चापागाईले बुटवलका केही सार्वजनिक कार्यकममा पौडेलको चर्को आलोचना गरे । पौडेलको नामै लिएर उनको कार्यशैलीको चर्को विरोध जनाए । बेलाबेला विज्ञप्ति नै निकालेर उनले विरोध गरिरहे । पार्टीमा एक्लै संघर्ष गरिरहेका चापागाई अन्ततः एमाले विभाजनपछि एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । अहिले उनले ‘पुरानै घर फर्किएको’ बताएका छन् ।

चापागाईले निकालेको विज्ञप्तिमा प्रगतिशील वाम एकताको आवश्यकता औंल्याइएको छ । मातृ पार्टीमा फर्कि योगदान दिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र केन्द्रीय उपाध्यक्ष विष्णु पौडेलले गरेको आग्रहलाई आत्मसात गरी एमालेमा फर्किएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप