सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

चिनियाँ सभामुख ली नेपाल आउँदै

सोमबार, २७ भदौ २०७९, ०६ : १६
सोमबार, २७ भदौ २०७९

सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चीनका सभामुख तथा राष्ट्रिय जनकङ्ग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु औपचारिक नेपाल भ्रमणका लागि सोमबार नेपाल आउँदै छन् । लीसहितको चिनियाँ प्रतिनिधिमण्डल तीनदिने भ्रमण आउन लागेको र उनीहरु भदौ २९ गतेसम्म नेपालमा रहने परराष्ट्र मन्त्रालयको भनाइ छ । 

सोमबार नै सभामुख सापकोटा र चिनियाँ नेता लीबीच भेटवार्ता गर्नुहुने कार्यसूची रहेको छ । सभामुख सापकोटाले लीको सम्मानमा साँझ रात्रिभोजको आयोजना गर्नेछन् । मङ्गलबार चिनियाँ नेता लीले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग छुट्टाछुट्टै भेट गर्नेछन् । बुधबार उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवास पुगेर शिष्टाचार भेट गर्ने कार्यसूची रहेको छ ।  

नेपाल भ्रमणका क्रममा अध्यक्ष लीले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड’सँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्नेछन् । ली चीनको चिनियाँ कम्युनिष्ट पार्टीको शीर्ष नीति निर्माता निकाय पोलिट्ब्युरो स्थायी समितिमा राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली खस्याङपछि तेस्रो नम्बरमा छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप