बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

दोर्दी करिडोर प्रसारण लाइन सञ्चालनमा, निजी क्षेत्रका आयोजनाको बिजुली खेर नजाने

आइतबार, २६ भदौ २०७९, १८ : १८
आइतबार, २६ भदौ २०७९

 लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरुबाट उत्पादित विद्युत प्रवाहका लागि निर्माण गरिएको दोर्दी करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ ।
नेपाल विद्युत प्राधिकरणले लमजुङको बेंसीसहर नगरपालिकाको उदीपुरबाट दोर्दी गाउँपालिकाको कीर्तिपुर सबस्टेसनसम्मको प्रसारण लाइनमा आइतबारबाट विद्युत प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याएको हो । १३२÷११ केभी कीर्तिपुर सबस्टेसन यसअघि आंशिक रुपमा सञ्चालनमा आइसकेको थियो । अब सबस्टेसन पनि पूर्ण क्षमतामा सञ्चालनमा आएको छ ।  

प्रसारण लाइन सञ्चालनमा आएसँगै त्यस करिडोरमा निजी क्षेत्रले निर्माण गरेका ४ जलविद्युत आयोजनाको ७२ मेगावाट विद्युत कीर्तिपुर सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुने छ ।  
प्रसारण पूर्वाधार अभावमा ती आयोजनाको विद्युत खेर जाने अवस्थाको अन्त्य भएको दोर्दी करिडोर प्रसारण लाइन आयोजनाका प्रमुख रमेश पौडेलले बताए । 
प्रसारण लाइनमा २७ मेगावाटको दोर्दी खोला, २५ मेगावाटको माथिल्लो दोर्दी ए, १२ मेगावाटको दोर्दी खोला–१ र ८.६३ मेगावाटको चेपेखोला साना जलविद्युत आयोजना जोडिने छन् । दोर्दी खोलामा निर्माण भएको जलविद्युत आयोजनाहरुको विद्युत दोर्दी करिडोर प्रसारण लाइनमार्फत उदीपुर सबस्टेसनमा जोडिने छ । 

उदीपुर सबस्टेसनको निर्माणमा केही समय लाग्ने देखिएपछि आयोजनाहरुको विद्युत वैकल्पिक व्यवस्थामार्फत हाल सञ्चालनमा रहेको मध्यमस्र्याङ्दी विद्युतगृहको स्वीचयार्डमा जोड्ने व्यवस्था गरिएको छ । यसका लागि निर्माणाधीन २२० केभीे मस्र्याङ्दी करिडोरको करिब ६ किलोमिटर लाइनलाई प्रयोगमा ल्याइएको छ ।

करिब ८५ करोड रुपैयाँ अनुमानित लागत रहेको दोर्दी करिडोर प्रसारण लाइन सरकारको लगानीमा निर्माण गरिएको हो । प्रसारण लाइनको लम्बाइ १० किलोमिटर छ । आयोजनाले नै कीर्तिपुरमा १३२ केभीको सबस्टेसन निर्माण गरेको हो । निर्माण सम्पन्न भएको प्रसारण लाइनको गत वर्षको असारमा दोर्दी खोलामा आएको बाढीले ४ वटा टावर बगाइदिएको थियो । त्यसमध्ये ३ वटा टावर निर्माण सम्पन्न भएको छ भने एउटा अन्तिम चरणमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप