शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

कपनमा खहरे बग्ने बित्तिकै मैले गाली खान्छु : गगन थापा

आइतबार, २६ भदौ २०७९, १४ : ११
आइतबार, २६ भदौ २०७९

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले धोबीखोला कोरिडोरको कपन–बुढानिलकण्ठ डुबान नियन्त्रणको काम सरकारले छुट्टै आयोजना बनाउन माग गरेका छन् । आइतबार  प्रस्तावित धोबीखोला कोरिडोरको कपन–बुढानिलकण्ठ डुबान नियन्त्रण आयोजना सम्बन्धित अन्तरक्रियामा महामन्त्री थापाले यस्तो माग गरेका हुन् । उनले धोबी खोला कोरिडोरको कपन–बुढानिलकण्ठ डुबान नियन्त्रण गर्न अहिले विभिन्न खण्ड–खण्डमा स्थानीय नगपालिका, प्रदेश सरकार र प्राधिकरणले समेत काम गरेको भन्दै अब एउटै आयोजनामार्फत काम गर्नुपर्ने बताए । 

उनले भने,‘ धोबीखोला कोरिडोरको कपन–बुढानिलकण्ठ डुबान नियन्त्रणको काम सरकारले छुट्टै आयोजना बनाएर गरिदिनुपर्छ । जसमा नाम मात्रको आयोजना बनाउने होइन । काठमाडौं उपत्यका प्राधिकरण, स्थानीय नगरपालिका, प्रदेशले एउटा गरी खण्ड खण्डमा काम गर्ने काम भएको छ । यसलाई एउटै आयोजनामार्फत बाढी नियन्त्रण गर्न के गर्ने योजना बनाउनुपर्छ । यो स्थानमा स्थानीय तह, प्रदेशले छुट्टै काम गर्नुहुँदैन ।’

थापाले सबै योजनाहरुलाई एउटै आयोजनामार्फत काम गरेर कपन–बुढानिलकण्ठ डुबान नियन्त्रणको काम गर्नुपर्ने बताए । उनले करिडोर क्षेत्रमा भएका खण्ड–खण्डका कामहरु सबै अब बन्ने आयोजना अन्तर्गत ल्याउन पनि माग गरे । उनले आफू यही क्षेत्रको जनप्रतिनिधि भएकाले कपन खहरेमा बाढी आउन साथ सबैभन्दा धेरै गाली खाने गरेको बताए ।

‘करिडोर क्षेत्रमा भएका कामहरु सबै अब बन्ने आयोजना अन्तर्गत आउनुपर्छ । मन्त्रिपरिषदबाट पास भएर आएपछि आयोजनाको मास्टर प्लान बनाउन एक वर्ष लाग्नसक्छ । यो क्षत्रमा सबैभन्दा बढी गाली खाने मान्छे म हुँ । कपनमा पानी आएर खहरे बग्ने बित्तिकै सबैभन्दा बढी गाली मैले खान्छु । करिडोर क्षेत्रमा सयौं घर बनेका छन् ।’

थापाले अहिले करिडोर क्षेत्रमा २ आना र ५ आना जग्गामा सयौँ घरहरु बनेकाले बनेका घरहरूको समेत संरक्षण गर्नेगरी मास्टर प्लान बनाउन सुझाव दिए । ‘बाहिरबाट आएमा मानिसहरुले २ आना ५ आनामा घर बनाउनु भएको छ । उहाँहरूसँग लालपुर्जा छ । उहाँहरुले वर्षैपिच्छे कर तिर्नुभएको छ । उहाँहरु वैधानिक रुपमा बस्नुभएको छ,’ थापाले भने, ‘करिडोर बनाउने क्रममा खोलाको बहावलाई मात्रै नियन्त्रण गर्ने गरी मात्रै नभएर बनाएका घरहरूको समेत संरक्षण कसरी गर्ने सोच्नुपर्ने देखिन्छ ।’

महामन्त्री थापाले करिडोर क्षेत्रमा बनेका घरहरु वैधानिक रहेको र वर्षैपिच्छे राज्यलाई कर बुझाएकाले खोलालाई पहिलेको अवस्थामा ल्याउने गरी मात्रै नभएर घरहरूको समेत संरक्षण कसरी गर्ने भन्ने बारेमा सोच्नुपर्ने बताए । यस्तै शहरी विकासमन्त्री मेटमणि चौधरीले धोबी खोला कोरिडोरको कपन–बुढानिलकण्ठ डुबान नियन्त्रणको लागि सरकारले छुट्टै आयोजना बनाएर काम गर्ने बताए ।

उनले सरकारले धोबीखोला करिडोर निर्माणको लागि अब बस्ने मन्त्रिपरिषद्ले छुट्टै आयोजना बनाउने प्रस्ताव पास गर्ने बताए ।  मन्त्री चौधरीले करिडोर निर्माणमा सरकारले जनताहरु त्यहाँबाट विस्थापित हुनु नपर्ने गरी बनाउने प्रतिवद्धता जनाए ।

उनले धोबीखोला कोरिडोरको कपन–बुढानिलकण्ठ डुबान नियन्त्रणको विषयमा संसद गगनकुमार थापाले विषेश पहल गर्नुपर्ने बताए । मन्त्री चौधरीले संसद थापाको पहललाई शहरी मन्त्रालयले शतप्रतिशत भन्दा बढी सहयोग गर्न तयार रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप