आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

युवा तथा खेलकुद मन्त्रालयलाई विभाजन गर्न आवश्यक छ : मन्त्री गहतराज

आइतबार, २६ भदौ २०७९, १३ : १५
आइतबार, २६ भदौ २०७९

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले आगामी निर्वाचनमा युवाहरुलाई देशभित्र नै स्वरोजगारको वातावरण बनाउने कुरा नै आगामी निर्वाचनको मुख्य मुद्दा बन्नुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित नेपाल युवा उद्यमशिलता शिखर सम्मेलन २०२२ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

मन्त्री गहतराजले युवा र स्वरोजगारका मुद्दालाई अघि बढाउने पार्टीहरुले नै आगामी देशको बागडोर सम्हाल्नुपर्ने बताए । उनले देशभित्र नै स्वरोजगारको वातावरण बनाउने कुराले अहिले विदेश पलायन भइरहेको युवा शक्तिलाई रोक्ने बताए । मन्त्री गहतराजले युवा तथा खेलकुद मन्त्रालयलाई दुई भागमा विभाजन गर्न आवश्यक रहेको समेत बताए । 

उनले युवा तथा खेलकुद मन्त्रालयलाई युवा, श्रम तथा रोजगार मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयको रुपमा विकास गर्न आवश्यक रहेको बताए । उनले भने– ‘मैले जुन मन्त्रालय सम्हालिरहेको छु, मलाई अहिले अनुभूति भएको छ, हामीले हिजो जुन मन्त्रालय बनायौँ, यो मन्त्रालयको कार्य विभाजन अझै मिलिरहेको छैन भन्ने लागेको छ । त्यसैले मैले अहिले छलफल गरिरहेको छु, युवा तथा खेलकुद मन्त्रालयलाई दुई भागमा बाँड्नुपर्छ । एउटा युवा, श्रम तथा रोजगार मन्त्रालय र अर्को खेलकुदलाई पनि शिक्षाकै रुपमा लिएर शिक्षा तथा खेलकुद मन्त्रालयको रुपमा विकास गर्न आवश्यक छ ।’

उनले अहिले राज्यकै नीतिमा पनि अन्तरविरोध भइरहेको बताउँदै यसलाई समयानुकूल परिमार्जन गर्न आवश्यक भएको बताए । उनले भने, ‘एकातिर खेलकुद र अर्कोतिर युवाहरुको विकास छ । अहिले राज्यकै नीति पनि अन्तरविरोध भइरहेको छ । एउटा मन्त्रालय देशभित्रै स्वरोजगार हुनुपर्छ भन्छ, अर्को मन्त्रालय रेमिट्यान्स ल्याउन बाहिर जानुपर्छ भनेर मेनपावर गुहार्दै हिँड्छ । हामीलाई रेमिट्यान्स चाहिन्छ, दक्ष जनशक्ति बाहिर श्रमको लागि पठाउनुपर्छ । अब युवाहरुलाई रोजगार सिर्जना गर्ने, देशभित्र नै स्वरोजगारको वातावरण बनाउने कुरा नै आगामी निर्वाचनको मुख्य मुद्दा बन्नुपर्छ । जसले यी मुद्दालाई अघि बढाएर जान्छ, तिनै पार्टीहरुले नै आगामी देशको बागडोर सम्हाल्नुपर्छ ।’ 

मन्त्री गहतराजले प्राकृतिक श्रोत र साधनलाई सही ढंगले सदुपयोग गर्ने नयाँ सोच ल्याउनुपर्ने आवश्यक्ता रहेको समेत बताए । उनले एकद्वार प्रणालीबाट युवाहरुलाई तालिम दिने हो भने करिव ७० अर्ब रुपैयाँ रकम केन्द्रित गर्नसक्ने आधार सरकारसँग रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप