शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

पुस्तक बिक्रीबाट ‘सात जुनी विकास कोष’ स्थापना

आइतबार, २६ भदौ २०७९, ११ : ४१
आइतबार, २६ भदौ २०७९

उपन्यासकार मणि नेपाली पनेरूले ‘सात जुनी विकास कोष’ स्थापना गरेका छन् । उनले आफ्नो पुस्तक ‘सात जुनी’को बिक्रीबाट प्राप्त सम्पूर्ण रकम समाज सेवामा लगाउने भएका छन् । शनिबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै पनेरूले गत महिना लोकार्पण भएको सो पुस्तकको बिक्रीबाट प्राप्त एक लाख रुपियाँ हस्तान्तरण गर्दै माइती नेपालीको संस्थापक एवं सीएनएन हिरो अनुराधा कोइरालामार्फत हेमा–पनेरू अध्यक्ष तथा कलाकार अविनाश न्यौपाने उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष रहने गरी ‘सात जुनी विकास कोष’को घोषणा गरे हुन् ।

गोरखा जिल्लाको सौरपानीमा जन्मिई संयुक्त राज्य अमेरिका बस्दै आएका पनेरूले सौरपानीलाई नै आधारविन्दु बनाई त्यहाँका विविध समस्या समाधानमा उक्त कोषले काम गर्ने बताए । “यस पुस्तक बिक्रीको सम्पूर्ण रकम मेरो जन्मभूमि सौरपानीको विकासका लागि सदुपयोग गर्ने निर्णय भएकाले यो कोषको घोषणा गरेको छु । यो प्रयास मेरो मातृभूमि नेपाल प्रतिको सङ्लो मायाले प्रेरित छ” उनले भने, “म नेपाललाई प्रेम गर्छु भन्ने साङ्केतिक सत्कार्य हो ।” विश्वव्यापी सोचौँ र स्थानीय रूपमा काम गरौँ भन्ने यो आफ्नो एक सन्देश पनि भएको उनले बताए ।  

विकास कोषको घोषणा गर्दै अनुराधा कोइरालाले काठमाडौँमा बसेर गाउँको कुरा गरेर विकास नहुने बताइन् । चुनावको बेला मात्र मुख देखाउन गएर गाउँ समाजको विकास नहुने उनको धारणा छ । “मणि नेपाली पनेरूजी देशमा नबसे पनि जानुअगाडि जुन समिति बनाएर काम गर्न छोडेर जाँदै हुनुहुन्छ, त्यो समितिले समाजको खास समस्या के हो भन्ने पहिचान गरी इमानदारीपूर्वक गाउँमै पुगेर काम गर्नेछ भन्ने विश्वास लिएकी छु ।” उनले भनिन्, “हामी चुनाव आउँदा मात्र गाउँ गएर त्यहाँका समस्या पहिल्याउन सक्दैनौँ ।” कसैसँग सहयोग लिँदा जहिले पनि गरिब देश भनेर माग्ने गरेको देखेको तर हामी कदापि गरिब नभएको उनले जिकिर गरिन् । हामीले आफूलाई गरिबका रूपमा चिनाउन नहुने उनले बताइन् ।

कोषका कार्यवाहक अध्यक्ष अविनाश न्यौपानेले यस कोषमार्फत आफू इमानदार भएर समाजको हितमा काम गर्ने बताए ।
गत महिना पनेरूद्वारा लिखित चार कृतिहरु उपन्यास ‘सात जुनी’, बालकविता सङ्ग्रह ‘हाम्रो झन्डा’, गीति सङ्ग्रह ‘स्वर्गको गाथा’ र कविता सङ्ग्रह ‘मुटु हराएको मान्छे’ एकसाथ लोकार्पण गरिएको थियो । यी चार कृतिमध्ये ‘सात जुनी’को बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम विकास कोषमा राखिने छ । यस कोषमा अन्य दाताहरूबाट प्राप्त रकमसमेत जम्मा गरिने उनले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप