बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा समाजवादी भक्तपुरका अध्यक्ष बस्नेतको घर तोडफोड

शनिबार, २५ भदौ २०७९, २१ : २६
शनिबार, २५ भदौ २०७९

नेकपा (एकीकृत समाजवादी) भक्तपुर जिल्ला अध्यक्ष श्यामसुन्दर बस्नेतको मध्यपुरथिमि नगरपालिका–३ गट्ठाघर नागरिक अस्पताल पछाडि रहेको घरमा हतियारधारी समूहले प्रवेश गरी तोडफोड गर्नुका साथै अपहरणको प्रयास गरेका छन् । आज बिहान करिब ३ बजे हतियारधारी समूहले समाजवादीका अध्यक्ष बस्नेतको घरमा चार–पाँच जना व्यक्ति प्रवेश गरी ढोका तोडफोड गरेको, एक थान मोवाइल र जुत्ता लगेको पाइएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताए ।

उनले भने, “घटना फरक प्रकृतिको रहेकाले छ, यसलाई हामीले गम्भीर रुपमा अनुसन्धान अगाडि बढाइएको छ । घटनाबारे परिसरका प्रहरी उपरीक्षकसहित अनुसन्धान टोलीले निरीक्षण गरेको छ ।” उनले प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीसहितको टोली दिनभर घटनास्थलमा रहेर विभिन्न कोणबाट अनुसन्धान अगाडि बढाइएको बताए । हतियारधारी समूह समाजवादीका अध्यक्ष बस्नेतलाई अपहरण गर्ने प्रयास स्वरुप आएको तर उनलाई नभेटेपछि तोडफोड गरेर फर्किएको हुनसक्ने प्रहरीको अनुमान छ ।  

सो घटनाबारे जानकारी दिँदै अध्यक्ष बस्नेतले भने, “म हिजै मात्र पोखरा गएको थिए, राति पेस्तोलसहित आएको टोलीले मेरो घरको ढोका तोडफोड गरी म सुत्ने कोठामा प्रवेश गरेर मेरो श्रीमतीको कन्चटमा पेस्तोल राखेर दुई झापड हानेर मेरो खोजी गरेका छन् । मेरो जेठो छोरा आएपछि उसलाई समाउन खोज्दा आएका मध्येबाट एक जनाले त्यो होइन छाडिदे भने पछि छोरालाई पनि दुई झापड हानेर गएको र मेरो अपहरण गर्ने उद्देश्यले आएको आशंका मैले गरेको छु ।” अपराधी समूहले घर कम्पाउन्डको गेट फुटाएर भित्र पसेको, त्यसपछि घरको मुख्य ढोका फुटाएर चेन गेटसमेत फुटाएर कोठामा छिरेको पाइएको उनले बताए । 

घटनाबारे जानकारी दिँदै अध्यक्ष बस्नेतकी श्रीमती उषा कार्कीले अपराधी समूह घरमा प्रवेश गरेपछि तेस्रो तलाको बस्नेत सुत्ने कोठामा पुगेको बताइन । उनले भनिन्, “करिब आठ जनाको समूह आएका थिए तर घरभित्र भने तीन जनामात्रै आएका थिए, कान्छो छोरा आडम मसँगै थियो, एक जनाले हातमा पेस्तोल लिएको थियो, त्यसले सिधै हामी सुत्ने कोठामा आएर मेरो पेस्तोल कन्चटमा राखेर डर, त्रास र धम्की दियो, अरुले अन्य कोठामा खोजी गरे । तर उहाँलाई देखेनन्, मेरो जेठो छोरा आदेशसँगैको कोठामा सुतेको थियो, ऊ उठेर आएपछि एक जनाले उसलाई समाउन खोज्यो, अर्कोले त्यो होइन छाडिदे भने पछि गालामा हान्यो र ढोका तोडफोड गरेर फर्किए ।”

मुखमा नकाबसमेत नलगाएका र कालो लुगा लगाएका मोटा तीन जना कोठामा प्रवेश गर्दै अध्यक्ष बस्नेतको अपहरण गर्ने उदेश्यले आएको र नदेखेपछि फर्किएको हुनसक्ने आशंका उनले व्यक्त गरिन्। उनीहरूले बस्नेतको घरबाट छोराले गेम खेल्ने एक थान सानो मोवाइल, एक जोर जुत्ता र किचेनबाट दुईवटा थाल मात्रै लगेको जानकारी दिँदै कार्कीले चोरी गर्ने उद्देश्यले नआएको तर ध्यान अन्यत्र मोड्न चोरेको जस्तो पनि गरेको हुनसक्ने बताइन् ।

घटनास्थलमा रहेका प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक चौधरीले घटना अपराधिक मानसिकताबाट भएको हो कि वा राजनीतिक के हो भन्ने अनुसन्धान भइरहेको बताउँदै बस्नेत परिवारले दिएको बयानका आधारमा अनुसन्धान अगाडि बढाइएको बताए । घटनास्थलमा अपराध अनुसन्धान महाशाखाको विशेष टोलीसमेत आएर अनुसन्धान अगाडि बढाएको चौधरीले बताए । अध्यक्ष बस्नेतले आफू र आफ्नो घर तथा टोलको कडा सुरक्षाको व्यवस्था गर्न माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप