सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

विकासका नाममा हुने डोजर आतङ्क बन्द हुनुपर्छ : मन्त्री यादव

शनिबार, २५ भदौ २०७९, १० : ००
शनिबार, २५ भदौ २०७९

वन तथा वातावरणमन्त्री प्रदीप यादवले विकासका नाममा हुने डोजर आतङ्क बन्द हुनुपर्ने बताएका छन् । पछिल्लो समय विकासका नाममा जथाभावी डोजर प्रयोग गरी जङ्गल विनाश गर्नुका साथै ठाउँ–ठाउँमा पहिरा जाने र बाढी पहिराको जोखिम बढ्दै गएकाले विकासमा नाममा जङ्गल तथा डाँडाकाँडा भत्काउने तथा मास्ने कार्य तत्काल बन्द हुनुपर्ने उनले बताएका हुन् ।

उनले भने, “सडक चाहियो भन्दैमा डोजर लाएर जङ्गल मासेर डाँडा भत्काउन काम अब रोक्नुपर्छ, जथाभावी डोजर प्रयोग गर्दा कति विनास हुँदैछ, त्यसको ख्याल गरेरमात्रै डोजर प्रयोग गर्न आवश्यक छ ।” यसैगरी उहाँले शिक्षा, सडक, विद्युत् आजको प्रमुख आवश्यकता भए पनि जथाभावी डोजर प्रयोग गरेर सडक बनाउँदा विकाससँग सँगै विनाश निम्त्याएको उल्लेख गरे ।

“म विकासको विरोधी होइन तर विकास गर्ने नाममा विनाश ननिम्तियोस्”, उनले भने, “हामीले गरेका विकासले दीर्घकालिन रुपमा सेवा देओस् तर हाम्रा विकासले विनासको जोखिम नल्याओस् ।” जलवायू परिर्वतनका कारण विश्वभरिमा विभिन्न घटनाक्रम बढ्दै गइरहेकाले नेपालले पनि अब जलवायू परिर्वतनका क्षेत्रमा सचेत भएर काम गर्नु पर्ने उनको भनाइ थियो । 

विशेष गरी नेपालका पहाडी क्षेत्रमा पछिल्लो समय डाँडाकाँडा भत्काउनुका लागि तीनै तहका सरकारतर्फबाट डोजर प्रयोग गर्दै आइएकाले त्यसलाई रोक्न कडा कानुनको व्यवस्था आवश्यक रहेको र उक्त कार्य रोक्नु पर्ने मन्त्री यादवको जोड थियो । सडकलगायतका विकास गर्दा विज्ञसँगको राय सुझाव तथा सल्लाह अनुसार काम गर्नुपर्ने मन्त्री यादवको भनाइ थियो ।

यसैगरी उनले विकास र वातावरण एक आपसका प्रतिद्वन्द्वी नभइ परिपूरक भएकाले दिगो विकासको अवधारणा बमोजिम नै नेपाल सरकारले सञ्चालन गर्ने कुनै पनि विकास निर्माण कार्यबाट वातावरणमा पर्न सक्ने सम्भावित असरलाई अनिवार्य रुपमा सम्बोधन गर्नुपर्ने धारणा राखे । वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ अनुसार सबैले विकास निर्माणका काम गर्नुपर्ने उनको भनाइ थियो । वायु प्रदूषण न्यूनीकरणका लागि सरकारले विभिन्न काम गर्न निती नियम बनाएको भए पनि कार्यान्वयन पक्ष फितलो भएका कारण समस्या भएको समेत मन्त्री यादवले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप