विचार

नेपाली राजनीतिका वीपी, साहित्यमा विश्वेश्वर

person explore access_timeभदौ २५, २०७९ chat_bubble_outline0

विश्वेश्वरप्रसाद कोइराला (१९७१ भदौ २४) यो धर्तीमा आएको पनि १०७ वर्ष पुगिसकेको छ । आफ्नो ६८ वर्षको आयु नेपाल र नेपालीको लागि खर्चेर २०३९ साउन ५ गते यो धराबाट बिदा लिएका वीपीबारे अनगिन्ती लेखिए ।उनको बहुआयामिक व्यक्तित्व र साहित्यिक पाटो राजनीतिको यात्राबारे गहन अध्ययन अनुसन्धान भएका छन्, भैरहेका छन् । 


वीपी कोइरालाको व्यक्तित्व र कृतित्वको अनेक आयाममा १९ जना विद्वान्हरूले विद्यावारिधि गरिसकेका छन् भने स्नातकोत्तर तह र दर्शनाचार्य तहमा गरेर करिब पाँच सय जना अनुसन्धाताहरूले शोध गरिसकेका छन् । 



यसरी झट्ट हेर्दा अब वीपीको बारेमा लेख्नुपर्ने धेरै छैनन् जस्तो लाग्छ । तथापि अझै धेरै रहस्य चिन्तन र मननको विषय वीपीको समग्र व्यक्तित्वमा रहेको देखिन्छ । उनका बारे मान्छेको आकर्षण र सम्मोहन उस्तै छ । उनको जादुयी व्यक्तित्वबारे नलट्ठिने राजनीतिज्ञ नेपालमा छैनन् । 



वीपी कोइराला कम्यूनिष्ट पार्टीसँग चर्को मतभेद राख्थे, काँग्रेस र कम्युनिष्ट मिलेर पञ्चायत विरुद्ध लडौं भन्ने पुष्पलालको अनुरोधलाई वीपीले तिरस्कार गरेका थिए । तथापि नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीले वीपीको उच्च प्रशंशा गर्दै २०४७ को एक अन्तर्वार्तामा ‘मलाई मन पर्ने राजनेता वीपी कोइराला हुन् । उनी जस्तो रचनात्मक सोच र शैलीको राजनेता दक्षिण एशियामा मैले देखेको छैन’ भन्दै अभिव्यक्ति दिएका थिए ।

त्यस्तै सुन्दरीजलस्थित वीपी बन्दी गृहमा पुगेर प्रचण्डले वीपीले प्रयोग गर्ने सामान छोएर भावुक भएर उनको प्रशंसा गरेको पनि धेरै भएको छैन । वीपी बाँचेका भए एमाले बनिसक्थे भनेर ओलीले अवमूल्यन गरेको पनि हिजोअस्ति नै हो । 

अझ अर्को घतलाग्दो कुरा वीपीलाई फाँसीमा चढ्नबाट जोगाउन उनको मुद्दा फैसला गर्ने पञ्चायतकालीन न्यायाधीश कम्युनिष्ट समर्थक रहेको प्रमाणित भएको छ । वीपी केन्द्रमा हुनु र उनका विरोधी समेतमा उनको आकर्षण देखिनुको कारण उनको बौद्धिक र सैद्दान्तिक क्षमता उदाहरणीय भएर नै हो भन्नेहरू छन् । 

उनको व्यक्तित्वको अनेक पाटा र सन्दर्भ छन् । यसर्थ उनको व्यक्तित्वलाई कतै न कतैबाट मन पराउने सचेत जमात उल्लेख्य भएको कुरा उनका बारे हुने गरेका र भएका शोध सामग्रीले स्पष्ट पार्दछ । धेरैले भन्छन् कि वीपीको व्यक्तित्वबाट राजा महेन्द्र प्रभावित थिए । उनी वीपीलाई सम्मान पनि गर्थे तर एउटा राजाको अघिल्तिर वीपी प्रजा मात्रै हुन् भन्ने ‘इगो’को कारण महेन्द्रले वीपीलाई बन्दी बनाएर अहम्को तुष्टि लिए ।

नेपालभित्र मात्रै होइन, दक्षिण एशियामा नै वीपीको लोकप्रियताप्रति नेताहरू भयभित थिए, जसको कारण २०१७ को राजा महेन्द्र ‘कु’लाई परोक्ष प्रत्यक्ष अन्तराष्ट्रिय वैधानिकता मिलेको थियो । इन्दिरा गान्धीसमेत वीपीको राजनीतिक लोकप्रियताले आफूलाई हीनताबोध गर्थिन् भन्ने अध्येताहरूको निश्कर्ष छ ।

नेहरूसँग पनि राष्ट्रियताबारे वीपीको मनोमालिन्य भएको विषय नेपाल–भारतको इतिहासमा सुरक्षित छ । राजनीतिका माध्यमबाट जीवनको विजयेच्छा चाहने कोइराला साहित्य र कलाका माध्यमबाट जिजीविषा चाहन्थे, जसको पुष्टि उनका अडान राजनीतिक आन्दोलन प्रजातान्त्रिक समाजवादप्रतिको निष्ठा र साहित्य साधनले गरिसकेको छ । 

वीपीको शिक्षा यात्रा 

वीपीले गृहनगर विराटनगरमै प्रारम्भिक शिक्षा लिए । कक्षा तीन पढ्न उनी बनारस गएको र अंग्रेजबाट सञ्चालित शिक्षा बहिष्कार गरिँदा उनी बनारसमा ठठेरी बजारमा रहेको गान्धीद्वारा सञ्चालित आश्रम विद्यालयमा केही समय अध्ययन गरे । विसं १९८५ सालमा हरिश्चन्द्र स्कुलमा ८ कक्षामा भर्ना भई  १९८७ सालमा प्रवेशिका उत्तीर्ण गरेका थिए । 

प्रवेशिकापछि काशी हिन्दू विश्वविद्यालयमा भर्ना भएर त्यहींबाट अर्थशास्त्र र राजनीतिशास्त्रमा १९८९ मा इन्टरमिडिएट पास गरे । त्यसपछि कलकत्ता गएर विसं १९९३ मा कलकत्ता विश्वविद्यालयबाट कानुनमा स्नातक पास भए । त्यहीं एमए पढ्दा पढ्दै उनी राजनीतिमा सक्रिय भएर आफ्नो स्नातकोत्तरको पढाई पूरा गर्न पाएनन् । औपचारिक अध्ययन रोकिए पनि स्वअध्ययन वीपीको यथेष्ट थियो । उनले केही समय दार्जिलिङमा वकालत पनि गरेका थिए ।

राजनीतिमा वीपी 

भारतीय स्वतन्त्रता आन्दोलनको क्रममा वीपी कोइरालको सन् १९३० मा भारतीय समाजवादी पार्टीको सदस्य र सक्रिय कार्यकर्ताको रूपमा पहिलोपहिलो पटक जेल परेका थिए । दोस्रोपटक सन् १९४२ मा जेल परेका वीपी भारतीय स्वतन्त्रता संग्रामको प्रभावले नेपालमा राणा शासन अन्त्यको अभियानमा लागे । यस क्रममा कलकत्तामा रहेका नेपालीहरूको उपस्थितिमा २००३ कार्तिक १२, १३ मा सम्मेलन गरेर नेपाली राष्ट्रिय काँग्रेसको स्थापना गरे । जेलमा रहेका टंकप्रसाद आचार्य सभापति र कार्यवाहक सभापति वीपी बन्दै पूर्णकालीन राजनीतिमा होमिएर नेपालमा प्रजातन्त्र स्थापनार्थ काम सुरु गरे ।

विसं २००४ सालमा विराटनगर जुट मिल कारखानाको हड्तालमा नेपाली राष्ट्रिय काँग्रेसको नेतृत्व वीपीले गरेका थिए । उनी त्यहींबाट नेपालमा पहिलोपल्ट पक्राउ पर्छन् र बन्दीको रूपमा काठमाडौँ ल्याइन्छन् । २००६ चैत्र २७ गते विभिन्न नामबाट राजनीति गरिरहेका अरू संगठन र नेपाली राष्ट्रिय काँग्रेसबीच एकता हुन्छ र त्यहाँ पार्टी एकता र जनक्रान्तिको लागि वीपीले पार्टीको केन्द्रीय नेता मात्रै रहेर नेतृत्वको दावी छोड्छन् र विधिवत रूपमा नेपाली काँग्रेसको जन्म हुन्छ ।

 नेपाली काँग्रेसले २००७ सालमा प्रजातन्त्रको लागि संघर्ष अघि बढायो, क्रान्तिको नेतृत्व वीपी कोइरालाबाट भएको थियो । क्रान्तिको लगाम वीपीले आफ्नो हातमा राखेका कारण वीपीको निर्णय र आदेश कार्यान्वयन हुन्थ्यो भन्ने इतिहासका अध्येताहरूको भनाइ छ । 

२००७ फागुन ७ मा नेपालमा प्रजातन्त्र आयो, राणा शासन ढल्यो । नेपाली जनताले प्रजातन्त्र पाए । त्यसको नेतृत्वकर्ताको हिसाबले वीपीको योगदान उल्लेखनीय छ । प्रजातन्त्र प्राप्तिपछि राणा–काँग्रेस संयुक्त सरकारको गृहमन्त्री भएर वीपीले केही समय काम गरे । राजनीतिबाट प्रजातन्त्रको चाहना राख्ने कोइराला कानुनी राज र सामाजिक न्यायमा विश्वास गर्थे । 

२०१६ जेठ १३ गते नेपाली काँग्रेसले दुई तिहाइ बहुमतसहित आफ्ना पार्टीका संसदीय दलका नेता वीपी कोइरालालाई नेपालको २२ औ र पहिलो जननिर्वाचित प्रधानमन्त्रीको जिम्मेवारी दियो । १८ महिना मात्रै सरकार चलाउन पाएका वीपीले भूमिसुधार र विर्ता उन्मुलनमा काम गर्दै थिए, जसको जोत उसको पोत भन्ने काँग्रेसले अबलम्बन गरेको नीति लागू हुँदै थियो । अर्को उल्लेख्य पक्ष वीपीको मन्त्रीमण्डल समावेशी र प्रतिनिधित्वको सवालमा अब्बल थियो ।

झन् तत्कालीन विश्व परिस्थितिमा नेपाली नारी र तिनको मर्यादामाथि उठाउन नारीको सहअस्तित्व स्वीकार गर्दै वीपीले २०१५ सालको चुनावमा निर्वाचन क्षेत्र नम्बर ६६ डोटी, डडेलधुराबाट द्वारिकादेवी चन्द ठकुरानी उठाएर चुनाव मात्रै जिताएनन्, स्वास्थ्य र स्वायत्त प्रबन्ध उपमन्त्री बनाएर विश्वभर हलचल मच्चाउन सफल भएका थिए । 

जबकि सन् १९७१ मा मात्रै स्विजरल्यान्डमा महिलालाई मताधिकार प्रयोग गर्न दिइयो, जुन नेपालको पहिलो संसदीय चुनाव २०१५ भन्दा १२ वर्ष पछिको घटना हो । वीपीको त्यो उद्दात्त भावना र प्रयोगले निरन्तरता पाएको भए आज नेपाली नारीको ३३ प्रतिशतको भाग ५० प्रतिशत भन्दामाथि पुग्ने निश्चित थियो ।

 नेपाली राजनीतिमा वीपी उसै मानक बनेका थिएनन् भन्ने दृष्टान्त उल्लेखित प्रसङ्गबाट छर्लंग हुन्छ । १५ वर्षभित्र आफ्नो झैँ प्रत्येक नेपालीको आर्थिक हैसियत र सामाजिक हैसियत पुर्याउने वीपीको ध्येय आजका राजनीतिज्ञ स्वयम् नेपाली काँग्रेसको लागि समेत आश्चर्यले जिब्रो टोक्नुपर्ने अवस्थाको छ । 

नेता र सर्वसाधारणको जीवनस्तरमा आर्थिक विषमताको भयंकर ठूलो खाडल छ । व्यवस्था बद्लेपछि अवस्था पनि बदल्नुपर्ने वीपीको समाजवादी नीति थियो । त्यसैले सबै नेपालीको शिक्षा, स्वास्थ्य र आर्थिक हैसियत वीपी आफ्नो जत्तिकै बनाउन चाहन्थे ।

 राष्ट्रियता, प्रजातन्त्र, समाजवाद वीपीका मन्त्र र प्रयोग थिए । दुर्भाग्य राजा महेन्द्रलाई आफै सरकार चलाउने भूत चढ्यो । जनताले चुनेको सरकार चलिरहेको बेला राजा महेन्द्रले २०१७ पुस १ गते वीपीको सरकार अपदस्त गरे । अनि उनीलगायत अरू महत्वपूर्ण नेताहरू गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, दिवान सिंह राई, भद्रकाली मिश्रलगायत नेताहरूलाई ८ वर्षसम्म सुन्दरीजलमा बन्दी बनाएर राखे । २०२५ कार्तिक १४ गते रिहा भएका वीपी त्यसपछि ८ वर्ष भारत निर्वासनमा बसे । 

वीपी जिम्वेवार र जवाफदेही थिए भन्ने कुराको उदाहरण आफूलाई आठ वटा मृत्युदण्डको फैसला हुने सङ्गीन अपराधको मुद्दाको बयानमा यसरी निर्धक्क दिएको जवाफ र कार्यकर्ताप्रतिको विश्वासमा व्यक्त भएको पाइन्छः ‘एउटा निरङ्कुश तानाशाही व्यवस्था फ्याँक्नका लागि जुनसुकै साधन अपनाइए पनि सबै जायज हुन्छ । 

जहाँसम्म मेरो निजी मामला हो, म राजतन्त्रको खिलाफ छैन । तर, निरङ्कुश राजतन्त्रको म घोर विरोधी हुँ । मलाई जुन जुन मुद्दा या घटनामा संश्लिष्ट गरिएको छ, तिनको जिम्मेवारी मेरो हो । म सरकारद्वारा उल्लिखित विध्वंसात्मक, हिंसात्मक, राजतन्त्रलाई  अपदस्त गर्ने, पञ्चायत व्यवस्थालाई उल्ट्याउने कार्यमा स्वयं सामेल भएको छैन । तर वक्तव्य, भाषण या विचारधारामार्फत् मैले त्यस्ता कार्यमा संलग्न हुनेहरूलाई अवश्य प्रेरणा दिएको छु । उनीहरूको प्रेरणास्रोत हुनुको नाताले आफूलाई अवश्य दोषी मान्छु । अब सरकारले आफ्नो मनमा जे आउँछ, त्यो गरोस् । म त्यसकालागि तयार छु ।’ (विशेष अदालतमा वीपीको बयान २०३४ बैशाख १७ तथा जेठ ४) 

वीपीले निरङ्कुश राजतन्त्रको जहिल्यै बर्खिलापमा आफूलाई उभ्याए भने संवैधानिक राजतन्त्रलाई प्रतिकूल अवस्थामा पनि छाँद हालिरहे । वीपीले तत्कालीन राष्ट्रिय अन्तराष्ट्रिय परिस्थितिको आकलन गरेर नै नेपालमा संवैधानिक राजतन्त्रको मोह नछाडेको, राजतन्त्र अपरिहार्य सम्झेको बुझ्न आज पनि कतिपय सन्दर्भमा कम्युनिष्ट पार्टीका नेताहरूको बाणी र राजतन्त्रको अन्त्य कतै हतारमा गरियो कि भन्ने धेरै विशिष्ट राजनीतिज्ञको विचारले व्यक्त गर्दछ । 

प्रचण्ड, ओली, बाबुराम, वैद्य, विप्लव र बिजुक्छे सम्मले वैधानिक सेरोमोनियल, आलंकारिक, सांस्कृतिक या त्यस्तै गणतन्त्रमा समेत अट्ने राजतन्त्रको परोक्ष स्वीकार गरेका छन् । राजतन्त्रको शक्तिलाई मानेका छन् । काँग्रेसभित्र झन् बग्रेल्ती राजावादीहरू छन् । राजतन्त्रको नेपालमा सान्दर्भिकता सधैँ छ भनेर नै वीपीले २०३३ साल पुस १६ मा राष्ट्रिय मेलमिलापको नीति अख्तियार गर्दै राजासँग राष्ट्रियताको मामलामा मेरो गर्धन जोडिएको छ भन्ने वक्तव्य सहित नेपाल आए ।

जब सिक्किम १९७५ मा भारतको पन्जामा पुग्यो, तब नेपालको राष्ट्रियतामाथि पनि खतरा रहेको निश्कर्ष निकाल्दै  वीपी स्वदेश फिर्ता भए, निर्वासन त्यागे, आफ्नै माटोमा मर्न चाहन्छु भने । वीपीको यो कदमको आलोचना र प्रशंसा उत्तिकै भएको छ । 

वीपीको राष्ट्रिय मेलमिलाप दिवस प्रत्येक पुस १६ मा काँग्रेसले विशेष औपचारिक भएर मनाउने गरेको छ । तैपनि काङ्ग्रेस वीपी मार्गमा छैन । हुन त अहिलेको गठबन्धन वीपीको मेलमिलाप नीति अनुकुल नै राष्ट्र बचाउन र प्रजातन्त्र जोगाउन भएको काँग्रेसजनको तर्क सुनिएको छ । 

वीपी कोइराला २००४ कार्तिक १२ र १३ गते नेपाली राष्ट्रिय काँग्रेसको स्थापना हुँदा ३३ वर्षको उमेरमा पार्टीको कार्यबाहक सभापति बनेका थिए । नेपाली काँग्रेसको स्थापनापछि तीन पटकका अधिवेशन २००९, २०१२ र २०१४ देखि मृत्युपर्यन्त नेपाली काँग्रेसको सभापति बनेर काँग्रेस र देशको नेतृत्व गरे । 

सशस्त्र क्रान्तिको नेतृत्वदेखि भोक हड्ताल, भद्र अवज्ञा आन्दोलन हुँदै जनमत संग्रहसम्म अनेक स्वरूपका आन्दोलनमा वीपी सक्रिय बने । दुःखको महासागरमै डुबे । तर संघर्षको मैदान छोडेर नाजायज सम्झौता र सिद्धान्तको पथबाट विचलित बनेनन् । 

सुखको बाटो हिँड्न चाहेर, सिद्धान्तको राजनीति त्यागेको भए वीपीसँग थुप्रै अवसर र सहज निकासका बाटाहरू थिए, धेरै प्रलोभन प्राप्त थियो । तर दुरूह मार्ग रोजे, आत्मसमर्पण गरेनन् ।

 राजाले गराएको जनमत सङ्ग्रहमा धाँधली हुँदा र पञ्चायतको निर्दलले विजय प्राप्त गर्दा वीपीले सहजै स्वीकार गरेर आफ्नो प्रजातान्त्रिक छविलाई झन् उज्यालो पारे । उनको कथन थियो, ‘खेलमा सहभागी भएपछि निर्णय मान्नु खेलाडीको धर्म हो । पञ्चायतले कम्तिमा एउटा प्रजातान्त्रिक अभ्यासलाई मान्यता दियो । अब देश प्रजातन्त्रको लिकमा छिटै प्रवेश गर्नेछ ।

वीपी उदागारको  १० वर्ष पछि देश बहुदलीय प्रजातन्त्र अवलम्वन गर्न बाध्य भयो भने राजा वीरेन्द्र संवैधानिक राजा बन्न राजी भए । २०४७ सालमा नयाँ संविधान बन्यो र राजा संविधानभित्र बसे । यद्दपि यही संविधान नाघेर राजा ज्ञानेन्द्रले संवैधानिक ‘कु’ सत्र साल भाग दुई मञ्चन गरे, जसको परिणाम नेपालको राजतन्त्र नै विदावारी हुन् पुग्यो । नेपाल संघीय गणतान्त्रिक मुलुकमा रूपान्तरित भयो । संवैधानिक राजतन्त्रका हिमायती वीपी कोइराला गणतान्त्रिक पद्दतिमा पनि स्मरणीय छन् । 

साहित्यमा विश्वेश्वरप्रसाद

राजनीतिमा वीपी भनेर परिचित कोइराला साहित्यमा विश्वेश्वरप्रसादका नामले सुविख्यात छन् । तसर्थ यहाँ उनको साहित्यिक प्रसंगमा उनलाई विश्वेश्वरप्रसाद नै लेख्ने प्रयत्न गरेको छु । भारतमा नै विश्वेश्वरको अध्ययन, बाल्यकाल र युवाकाल बितेको कारण उनी भारतीय स्रष्टाहरूका समिपमा थिए । 

आफूलाई साहित्यमा रुचि जगाउने व्यक्तिको रूपमा विश्वेश्वरले मित्र शान्तिप्रिय द्विवेदीको नाम लिएका छन् । द्विवेदीले कोइरालालाई भारतीय मूर्धन्य साहित्यकारहरूको जमघटमा लगेर परिचय गराउँथे । त्यस भेटघाटमा जयशंकर प्रसाद, मैथलीशरण गुप्ता, मुन्सी अजमेरी, विनोद शङ्कर व्यास जस्ता प्रख्यात भारतीय साहित्यिक हस्ती सहभागी बन्थे । यिनीहरूको प्रभाव र संगतले विश्वेश्वरमा साहित्यको रुचि र उत्प्रेरणा बढ्यो, जसको कारण उनी पनि हिन्दीमा आफ्ना रचना लेख्न थाले । 

विश्वेश्वरप्रसादले लेखेको ‘वहा’ शीर्षकको लघुकथा प्रेम चन्दद्वारा सम्पादित ‘हंस’ पत्रिकामा १९८७ मा प्रकाशित भएको थियो । यसरी कोइरालाका कथा, निबन्ध र विविध रचना हिन्दीमा छापिन थाले । हिन्दी साहित्यमा टैगोर, प्रेमचन्द आदिका अलावा हिन्दीका अनूदित गोर्की, टल्सटय, मोपासा, चेखव आदिका कथा, उपन्यास र साहित्यका अनेक विधा विश्वेश्वरले पढ्न लागे र साहित्यका अनुरागी बन्न थाले । 

हिन्दी साहित्यमा उनको प्रवेश, रुचि र लगाव देखेर कवि धरणीधर कोइराला, सूर्यविक्रम ज्ञवाली लगायतले विश्वेश्वरलाई नेपाली भाषामा पनि लेख्न उत्प्रेरित गर्न थाले । यस क्रममा नेपालीमा ‘शारदा’ पत्रिकामा १९९२ सालमा ‘चन्द्रवदन’ शीर्षकको कथा प्रकाशित गरेर कोइराला नेपाली साहित्यको आँगन टेक्न आइपुगे । फलस्वरूप नेपाली साहित्यका विराट प्रतिभाको रूपमा आज विश्वेश्वर पढिन्छ, पढाइन्छ । 

नेपाली साहित्यमा उनका कथा सङ्ग्रह दोषी चस्मा (२००६), र श्वेत भैरवी (२०३९) प्रकाशित छन् । पात्रमा मानसिक द्वन्द्व, सिर्जना र विकास गरेर कथालाई कलात्मक प्रस्तुति दिने  कोइराला सिग्मन्ड फ्रायडको मनोविज्ञान नेपाली साहित्यमा भित्र्याएर नवीन शिल्प र शैलीद्वारा कथालाई उद्घाटन गर्दछन् ।

विश्वेश्वरका कथामा यौन मनोविज्ञान, बाल मनोविज्ञान, चेतन मनोविज्ञानको प्रकटीकरण भएको पाइन्छ । जातजातिबीच रक्त मिश्रण गर्ने वैवाहिक सम्बन्ध पनि उनका साहित्यिक कृतिमा अभिव्यन्जित यथार्थ हो भनेर ठोकुवा गर्ने अनुसन्धाताहरू पनि त्यत्तिकै छन् । 

विश्वेश्वरले आफ्नो राजनीतिको अत्यन्त प्रतिकूल अवस्थामा सुन्दरीजलमा ८ वर्ष राजबन्दी बस्दा पनि नेपाली साहित्यको श्रीवृद्धिमा आफूलाई तल्लीन गराए । उनका प्रकाशित उपन्यासहरू तीन घुम्ती (२०२५), नरेन्द्र दाइ (२०२७), सुम्निमा (२०२७ ), मोदीआइन (२०३६), हिटलर र यहुदी ( २०४०), बाबु, आमा र छोरा (२०४५) हुन् । ‘आफ्नो कथा’ (आत्मजीवनी) आत्मवृत्तान्त जेल जर्नल (२०५५) प्रकाशित छन् । त्यस्तै, उनका एक दर्जन कविता र केही निबन्ध पनि प्रकाशित भएको छ ।

वीपीका भाषण र अन्तर्वार्ताहरू पनि विभिन्न व्यक्तिले संकलन गरेर किताब प्रकाशन गरेको पाइन्छ । वीपीका रचनाहरू अंग्रेजी, हिन्दी, मैथिली जस्ता अन्य भाषामा समेत प्रकाशित छन् । 

 विश्वेश्वका उपन्यासलाई विषयगत वर्गीकरण गर्दै प्राडा हरिप्रसाद शर्माले वीपीका उपन्यासबारे लेखेका छन्ः उनका उपन्यास सामाजिक, सांस्कृतिक र पौराणिक तीन प्रकारका रहेका छन् । सामाजिक उपन्यासमा तीन घुम्तीलाई नारी समस्या केन्द्रीत अनि नरेन्द्र दाइ र बाबु, आमा र छोरालाई मानवनियति भनेर उल्लेख गरेका छन् । सांस्कृतिक उपन्यास भनेर सुम्निमाको नाम लेख्दै समन्यवयवादी सांस्कृतिक विचार भनेर अथ्र्याएका छन् । 

त्यसै गरी पौराणिक गीता दर्शनमा आधारित उपन्यासमा मोदीआइनलाई चित्रित गर्दै राष्ट्रिय सन्दर्भमा जोडेका छन् अनि अन्तरराष्ट्रिय सन्दर्भमा हिटलर र यहुदीलाई चिनाएको पाइन्छ । 

कलालाई सुरक्षा होइन स्वतन्त्रता चाहिन्छ भन्ने विश्वेश्वर साहित्यमा सम्राट पनि नाङ्गो हुन्छ भन्थे । वीपीलाई राजनीतिमा भन्दा साहित्यमा सफल मान्नेको जमात पनि धेरै छ । साहित्यका बहुल विधामा विश्वेश्वरप्रसाद देखिए । तथापि कथा र विशेष गरी उपन्यास उनको मूल विधागत चिनारी हो । 

विश्वेश्वरप्रसादका साहित्यमा राजनीति देखिदैन तर व्यन्जना र लक्षणामा सन्दर्भपरक अध्ययन विश्लेषण गर्दा राजनीति पनि देख्न सकिन्छ । विश्वेश्वरप्रसाद कोइरालाको उपन्यासमा विचार पक्षमा विद्यावारिधि गर्नु भएका प्राडा भूपति ढकाल भन्नुहुन्छ, ‘वीपीको राजनीतिक प्रभाव साहित्यमा सोझो आँखाले नदेखिनु उहाँको विशिष्ट साहित्यिक क्षमता हो ।’ शायद सामान्य मान्छेको आँखाले कोइरालाका साहित्यमा राजनीति सजिलै देख्ने थिए भने उनको साहित्यको मूल्याङ्कन आजको रूपमा नरहन पनि सक्थ्यो ।  

वीपीका कमजोरी  

वीपीका बारे लेख्दै रमेशनाथ पाण्डे भन्छन्, ‘मन नपरेपछि अथवा रिस उठेपछि वीपी आफूभन्दा कनिष्ठलाई पनि तपाईं भनेर सम्बोधन गर्ने अनि ज्यादै प्रसन्न भएको बेलामा एकैपल्ट दुई खुट्किला भर्याङ चढने गर्नुहुन्थ्यो ।’ 

महान मान्छेहरू आफ्नो कमजोरी र सफलता छिटो देखाउँदैनन् । रिस र खुसी शीघ्रातिशीघ्र प्रकट हुनु प्रख्यात मान्छेका कमजोरी नै हो । कम्युनिष्टहरूसँग मिलेर आन्दोलन गर्न नचाहनु नै देशमा पञ्चायत लामो समय रह्यो । जबकि काँग्रेस र कम्युनिष्ट मिलेर आन्दोलन गर्दा बहुदलीय व्यवस्था २०४६ मा स्थापना मात्रै भएन, २०६४ मा काँग्रेस जनयुद्ध गरिरहेको माओवादी र अन्य सात दल मिल्दा देशबाट राजतन्त्र विस्थापन हुन सम्भव भयो ।

 राजाले जतिसुकै खेदो खन्दा पनि राजतन्त्रको काँध हाल्न नछोड्नु कोइरालाको राजनीतिक कमजोरी हो, कम्युनिष्टहरूको तर्क छ । यद्दपि राजावादीहरू भन्छन् वीपी बनेको नै प्रतिकूलताका बाबजुद पनि राजसंस्थाको समर्थन गर्ने देशभक्त नीतिले राजनीतिक रूपमा यसरी बाँचेका हुन् । 

आफ्नै दाइ मातृकाप्रसाद कोइरालासँगको राजनीतिक द्वन्द्वले वीपीलाई कम्जोर बनायो र राजालाई बलियो बन्न सघायो । त्यसैले राजाले राजनीतिक ‘कु’ गर्न सके । नेपाली साहित्यमा अश्लीलता भित्र्याएको उनीमाथि दोषारोपण गरेको पाइन्छ । आफ्ना प्रजातान्त्रिक योद्धाहरू भीम नारायण श्रेष्ठ र यज्ञबहादुर थापाहरू मारिँदा पनि राजासँग नरम नीति अवलम्बन गरेर सहिदको अवमूल्यन गरेको आरोप पनि वीपीबारे पढ्दा पढ्न पाइन्छ । 

एक आम मान्छेको रूपमा वीपीमा पनि निश्चय नै कमजोरी थिए । यदि कमजोरी नभएका भए वीपी मान्छेको स्वभावगत गुण भन्दा पृथक अर्कै ग्रहका प्राणी हुन्थे । मान्छे कमजोरीसहित नै असल र महान हुन्छन् । समग्रमा वीपी असल मान्छे थिए । 

निश्कर्ष 

राजनीतिका वीपी हुन् या साहित्यका विश्वेश्वरप्रसाद कोइराला, नेपालका एक रत्न साहित्य साधक र राजनीतिका शिखर पुरुष हुन् । उनलाई नेपाली साहित्य र राजनीतिमा गरेको योगदान पुस्तौ पुस्ता नेपालीले स्मरण गर्ने छन् । राजनीतिमा सुधार र परिवर्तन गर्न उनले सामाजिक, भौतिक र आर्थिक रूपले समाजलाई हेरे भने फ्रायडवादी दृष्टि बोकेर साहित्यमार्फत् मान्छेको मन मनभित्र पुग्ने चेष्टा गरे । 

वीपी विशेष समयले जन्माएका विशेष उपलब्धि र विशेष सम्पदा हुन् । तसर्थ उनको राजनीतिक यात्रा मन नपराउनेहरू साहित्यिक यात्राको फिदा छन् । साहित्यमा उनलाई अराजक भन्नेहरू राजनीतिमा उनलाई दूरदर्शी राजनीतिज्ञको उपाधि दिन्छन् । उनको व्यक्तित्वको अनेक पाटा र सन्दर्भ छन् । यसर्थ उनको व्यक्तित्वलाई कतै न कतैबाट मन पराउने सचेत जमात उल्लेख्य भएको कुरा उनका बारे हुने गरेका र भएका शोध सामग्रीले स्पष्ट पार्दछ ।

निश्चित उदेश्य प्राप्तिको लागि गरिने प्रतिवद्धता नै सार्थक मान्छे बन्ने संकल्प सम्झने कोइराला सार्थक मान्छेका रूपमा नेपाली राजनीति र साहित्यमा युगौ बाँच्ने छन् । राजनीति र साहित्यका विलक्षण प्रतिभा वीपी कोइरालालाई उनको १०७ औ जन्म जयन्ती सप्ताहमा शब्दद्वारा हार्दिक श्रद्धा सुमन । 

लेखक त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा एमफिल–पीएचडी अनुसन्धाता हुन्

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।