शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय राष्ट्रिय कांग्रेसको ३५७० किमी ‘भारत जोडो’ यात्रा : के राहुल गान्धी पुरै बाटो पैदल हिँड्नेछन् ?

शनिबार, २५ भदौ २०७९, १४ : ३२
शनिबार, २५ भदौ २०७९

भारतीय राष्ट्रिय कांग्रेस पार्टीको योजना अनुरुप सेप्टेम्बर ७ देखि कन्याकुमारीबाट सुरु भएको ‘भारत जोडो यात्रा’ आगामी १५० दिन चल्नेछ । यात्रा भारतका १२ राज्य र दुई केन्द्र शासित प्रदेश हुँदै ३,५७० किलोमिटरको दुरी पार गर्दै जम्मु कश्मीरको श्रीनगरमा समापन हुनेछ । 

भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीले यस पदयात्राको नेतृत्व गरिरहेका छन् । धेरैले यस ३५७० किमी यात्रामा राहुल गान्धीले पुरै लम्बाई हिँड्लान त भन्ने प्रश्न गरिरहेका छन् ।  अगस्ट २९ मा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका वरिष्ठ नेता दिग्विजय सिंहलाई यही प्रश्न सोधिएको थियो । जवाफमा सिंहले राहुलले सम्पूर्ण दुरी हिँडेर पार गर्ने बताएका थिए । ​ दिग्विजय सिंहले त्यस समय राहुल गान्धीले गुजरात र हिमाञ्चल प्रदेशको बीचमा चुनाव प्रचार गर्न सक्ने बताएका थिए ।

दुई राज्यमा निर्वाचन र संसद अधिवेशन
हिमाञ्चल प्रदेशमा नोभेम्बरमा र गुजरातमा डिसेम्बरमा विधानसभा चुनाव हुनेछ । ‘राहुलले पूरै बाटो हिँडेर तय गर्नेछन् । त्यही निर्णय भएको छ । जहाँसम्म चुनावी प्रचार प्रसारको सवाल छ, उनी बीचमा चुनावमा प्रचार गरेर पुन यात्रामा फर्किन सक्छन् ,’ कांग्रेस मिडिया तथा प्रचार विभागका अध्यक्ष पवन खेडाले भने ।

नाम नछाप्ने सर्तमा कांग्रेसका अर्का नेताले भने, ‘भारत जोडो यात्राका क्रममा राहुल गान्धीले केही समयका लागि यात्रा छोडेर चुनावी प्रचारमा जान सक्छन् । तर राहुल चुनावी प्रचारमा हुँदा यात्रा रोकिनेछ र चुनावी अभियान सकिएपछि फेरि त्यही ठाउँमा पुगेर फेरि यात्रा सुरु हुनेछ ।’

कांग्रेसको संकेतलाई मान्ने हो राहुलले संसदको आगामी हिउँदे अधिवेशनको सहभागितालाई प्राथमिकता दिएजस्तो देखिँदैन । कांग्रेसले यात्राको अनुहार राहुल गान्धी रहेको र यात्राको सफलता राहुल कति जनतासँग सम्पर्कमा आउँछन् भन्ने कुराले निर्भर हुने बताएको छ । 

कांग्रेसका अनुसार भारत जोडो यात्रामा राहुल गान्धीसहित कुल ११९ जना पैदल यात्रा गर्नेछन् । कांग्रेस पार्टीका महासचिव जयराम रमेशले ती यात्रु र यात्रामा आवद्ध केही पाहुनाहरु यात्रुसँगै हिँड्ने ट्रकमा बनेका ६० कन्टेनरमा रात बिताउने जानकारी दिएका छन् ।

कांग्रेसले यी कन्टेनरहरू रेलवेको स्लीपर कोचजस्तै भएको बताएको छ । यी ६० वटा कन्टेनरमा करिब २३० जना बस्न सक्छन् । कांग्रेसका अनुसार यात्राको क्रममा राहुल गान्धी पनि यस्तै एउटा कन्टेनरमा बस्नेछन् । यात्रुको सुविधाका लागि घुम्ती शौचालयको पनि व्यवस्था गरिएको छ ।

कन्याकुमारीबाट सुरु भएको कांग्रेसको ‘भारत जोडो’ यात्रा तिरुवनन्तपुरम, कोच्ची, निलाम्बुर, मैसूरु, बेल्लारी, रायचुर, विकरावाद, नान्देड, जलगाउँ, जामोद, इन्दोर, कोटा, दौसा, अलवर, बुलन्दशहर, दिल्ली, अम्बाला, पठानकोट र जम्मू हुँदै श्रीनगर हुँदै अन्त्य हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप