बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कम्युनिजम् हाम्रो देशलाई सुहाउला ?

शनिबार, २५ भदौ २०७९, १२ : ५८
शनिबार, २५ भदौ २०७९

नेपाल भाषा पत्रिकाका सम्पादक श्री फत्तेबहादुरज्युले कम्युनिजम् हाम्रो देशलाई सुहाउला ? भनी मसँग सोध्नुभएकामा जवाफको रूपमा पत्रिकामा प्रकाशनको निम्ति यो लेख लेख्दैछु ।

सबैभन्दा पहिले हामीले कम्युनिजम् भनेको के हो ? यसको परिभाषा के हो ? भन्ने विषयमा बुझ्नु अनिवार्य हुन आउँदछ । कम्युनिजम् भन्नाले पुँजीवादी समाजभन्दा मात्र विकसित समाज नभई समाजवादभन्दा पनि उच्चस्तरिय समाज हो । मानिसले अहिलेसम्म योभन्दा उच्चस्तरिय समाजको परिकल्पना गरेका छैनन् । यसरी कम्युनिजम्को परिभाषा के हो ? भन्ने विषयको सवालको जवाफ आफसे आफ प्रस्टिन्छ । कम्युनिजम् समाज विकासको त्यो चरण हो, जुन समाजमा विद्यमान सम्पूर्ण उत्पादनका साधनहरू समाजको अधीनमा हुन्छन् र समाजको हर सदस्यलाई आ–आफ्नो योग्यता अनुसार कामको बाँडफाँड गरिन्छ । आवश्यकता अनुसार चाहिने कुरा (नेसेस्सिटी) पूरा गर्ने काम हुन्छ । कम्युनिजम्को छोटो परिभाषा यो नै हो ।

कम्युनिजम् हाम्रो देशलाई सुहाउला कि नसुहाउला भन्ने विषय विभिन्न कारणले वाद–विवादको विषय हुन सक्ने भएता पनि हाम्रो देशलाई सामन्तवादको पञ्जाबाट मुक्त गरिनुपर्छ भन्ने विषयमा कुनै विवाद हुन सक्तैन । सामन्ती शोषणबाट हाम्रो देशलाई मुक्त गरिनुपर्छ किन ? किनभने, सामन्ती समाज अर्थात् सामन्तवाद भनेको समाज विकासको त्यो स्तर हो, जसमा समाजका बहुसंख्यक जनता किसानहरूको श्रममा सामन्त तल्सिङहरूले शोषण गरेका हुन्छन् । आज हाम्रो समाजको मुख्य स्वरूप नै यही हो र शोषणको प्रमुख रूप नै यही हो । देशको तमाम अवनति तथा दुर्भाग्यको प्रमुख कारण पनि यही हो ।

​हाम्रो देशमा विद्यमान सामन्तवादी समाज र आमूल परिवर्तनपश्चात् आउने साम्यवादी समाजलाई तराजुमा राखेर जोख्यौँ भने कुन व्यक्ति कानो होला कि साम्यवादी समाजलाई नरुचाओस् । सुहाउनेको परिभाषा नै मनपर्ने हो । तर यहाँ प्रश्न सुहाउने र मनपर्नेको होइन, प्रश्न त अवश्यम्भावीको हो । प्रकृतिको नियम नै उच्चस्तरतर्फ परिवर्तन हँुदै जानु हो । यही उच्चस्तरमा परिवर्तन हुँदै जाने प्राकृतिक नियम अनुसार नै बाँदरबाट मानिसको विकास भयो, आदिम साम्यवादी समाजबाट दास युगीन समाज आयो, दास युगीन समाजबाट सामन्तवादी समाज आयो, सामन्तवादी समाजबाट पुँजीवादी समाज र नौलो जनवादी समाज आयो, पुँजीवादी समाज र नौलो जनवादी समाजबाट समाजवादी समाज आयो र आजसम्म यस समाजवादी समाजबाट पनि परिवर्तनको नियमलाई अंगीकार गर्दै साम्यवादी समाजतर्फ इतिहासले पाइला सार्दैछ । समाज विकासको यो नियम सबै देशमा लागू हुन्छ भने हाम्रो देश मात्र अपवाद हुन सक्तैन । हाम्रो देशमा पनि साम्यवादी समाज नआई छोड्दैन, आउँछ आउँछ । यसमा कुनै शंका छैन ।

जहाँसम्म मनपर्ने र सुहाउने प्रश्न छ, यो यौटा विवादको विषय हो । किनभने यस भित्र आ–आफ्नो वर्गीय स्वार्थ लुकेको हुन्छ । दासयुगीन समाजभन्दा सामन्तवादी समाज, सामन्तवादी समाजभन्दा पुँजीवादी तथा नौलो समाजवादी समाज अझ उच्चस्तरीय समाज हो भनी सबै मानिसले भन्दै गरे तापनि प्रत्येक तल्लो स्तरको समाजबाट माथिल्लो स्तरको समाजमा परिवर्तन हुन क्रान्तिको बाटोबाट मात्र सम्भव भएको छ । प्रतिक्रियावादी र प्रगतिशील जन समूहको निर्णयात्मक संघर्ष नै कान्ति हो । यसबाट यो कुरा सिद्ध हुन आउँछ कि कुन समाजमा कुन कुन वर्गको स्वार्थसिद्ध भइरहेको हुन्छ, त्यो वर्गले तत्तत् समाजलाई परिवर्तन गर्न चाहँदैन र झै–झगडा तथा अन्तरद्वन्द्व विद्यमान हुन्छ ।

वास्तवमा भन्ने हो भने आजसम्म हजारौँ हजार महात्माहरूले मानव जातिको भलाइको निम्ति धेरै नीति तथा सिद्धान्तहरूको प्रतिपादन गरे । यसको साकार रूप साम्यवादी सिद्धान्त तथा समाजवादी समाजमा मात्र देखाप¥यो । त्यसो भएकाले बिलायतका प्रख्यात धर्मगुरु ह्युलेर जोनसनले क्राइष्टको सपना रुसमा पूरा भयो भनेका थिए भने भारतका एकजना गान्धीवादी विद्वान पण्डित सुन्दरलालले गान्धीको सपना चीनमा पूरा भयो भनेका थिए । उनीहरू दुवैको भनाइमा सत प्रतिशत नै सत्यता छ ।

(यो सामग्री हामीले पुष्पलालका छानिएका रचनाहरू भाग ४ बाट लिएका हौँ ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पुष्पलाल
पुष्पलाल
लेखकबाट थप