शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मकवानपुरमा कमल थापाको बढ्दो सक्रियता

शनिबार, २५ भदौ २०७९, १२ : ४१
शनिबार, २५ भदौ २०७९

आसन्न निर्वाचनको मिति नजिकिएसँगै राप्रपा नेपालका अध्यक्ष कमल थापाले गृह जिल्ला मकवानपुरमा आफ्नो सक्रियता बढाएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै अध्यक्ष थापाले आफ्नो निर्वाचन क्षेत्रमा सक्रियता बढाएका हुन् ।

राजेन्द्र लिङ्देनसँग राप्रपाको अधिवेशनमा अध्यक्षमा पराजित भएको केही समयपछि उक्त पार्टी परित्याग गरेका थापा पुनः राप्रपा नेपाल पुनर्गठन गरेर पार्टीको नेतृत्व गरिरहेका छन् ।

काठमाडौंमा रहेर पार्टीका नियमित क्रियाकलाप संचालन गरिरहेका थापा चुनाव लक्षित कार्यक्रमहरु संचालन गर्न आफ्नो निर्वाचन क्षेत्र मकवानपुर–१ छिरेका छन् । आगामी निर्वाचनमा प्रतिनिधिसभा सदस्य पदको निर्वाचनको लागि राप्रपा नेपालले मकवानपुर–१ बाट थापाको नाम एकल सिफारिस गरिसकेको छ ।

अध्यक्ष थापा आगामी निर्वाचनमा सो क्षेत्रबाट जित्ने प्रयत्‍नका साथ आफ्नो सक्रियता बढाएका हुन् । ‘घर– घरमा, चोक–चोकमा राप्रपा नेपाल, मकवानपुरे जनताको साथ, समर्थन, सद्भाव शुभेच्छाको निमित्त आभार, सबैको साथ लिएर हामी निरन्तर लक्ष्य र गन्तव्य तर्फ अघि बढ्दैछौ’ भन्दै आफ्नो चुनावी अभियान अन्तर्गत गाउँ छिरेका छन् ।

निर्वाचनको तयारी स्वरुप अध्यक्ष थापा पछिल्लो दिनहरुमा हेटौंडामा नै रहेर निर्वाचन क्षेत्रका नागरिकसँग भेटघाटमा व्यस्त छन् । चुनाव केन्द्रीत गर्दै अध्यक्ष थापा आफ्नो टिम सहित निर्वाचन क्षेत्रको विभिन्न गाउँहरुमा पुगेका थिए ।

उनी चुनावी अभियान अन्तर्गत गत बुधबार मकवानपुरको बकैया गाउँपालिकाको विभिन्न स्थान पुगेका थिए भने बिहिबार हेटौंडा बजार क्षेत्रका केही वडाका पुराना नेता तथा शुभचिन्तक र व्यवसायीहरुसंगको भेटघाटमा सक्रिय रहे ।

हिजो शुक्रबार हेटौंडा बजार क्षेत्रको १६, १७ र १८ नम्बरका आम मतदाताको घर–घर पुगेका अध्यक्ष थापाले त्यहाँ राप्रपाका शुभचिन्तक र पुराना नेता र कार्यकर्ताहरुसंग छलफल गरेका थिए भने शनिबारको लागि उनले हेटौंडामा वृहत अगुवा कार्यकर्ता भेलामा सहभागिता जनाउने र सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रम पछि अध्यक्ष थापा काठमाडौं जाने कार्यक्रम रहेको राप्रपा नेपाल मकवानपुरले जनाएको छ ।

‘२२ गते देखि अध्यक्ष ज्यू हेटौंडामा हुनुहुन्छ । उहाँ पार्टीका विभिन्न कार्यक्रम र पुराना नेता तथा कार्यकर्तासँग भेटघाटमा व्यस्त हुनुहुन्थ्यो । आजको अगुवा कार्यकर्ताको भेलापछि उहाँ काठमाडौं जाने कार्यक्रम रहेको छ ।’, राप्रपा नेपालका एक नेताले भने ‘काठमाडौंमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आगामी निर्वाचनमा गठबन्धन गर्नेबारे छलफल हुने तय भएको छ ।’

उनले आफ्नो जीवनकालको अन्तिम निर्वाचनको रुपमा उक्त निर्वाचनलाई लिएर अघि बढेका छन् । उनी भन्छन्, ‘जीवनकालको अन्तिम निर्वाचन जित्न चाहन्छु ।’ गत बिहीबार जिल्लाका नेता कार्यकर्ताहरु संगको भेटघाटमा मंसिर ४ गते हुने निर्वाचन आफ्नो राजनीतिक जीवनको अन्तिम निर्वाचन हुने भन्दै उक्त निर्वाचनमा जित्न चाहना रहेको इच्छा व्यक्त गरेका थिए ।

‘गाई’ गुमाएका थापालाई होला त एमालेको साथ ?

आगामी निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर–१ बाट चुनाव जित्ने बलियो रणनीति अनुसार अध्यक्ष थापा मैदानमा उत्रिएका छन् । उनी एमालेसँगको एलाइन्समा चुनाव जित्ने दाउमा देखिएका छन् । तत्कालीन नेकपा एमाले नेतृत्वको सरकारमा केपी शर्मा ओलीको मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री बनेका थापा आगामी निर्वाचन पनि ओलीकै भरोसामा विजयी बन्ने दाउको खोजीमा छन् ।

मकवानपुरबाट पटक पटक चुनाव हारेका अध्यक्ष थापा २०५२ मा कानून न्याय, संसदीय व्यवस्था र स्थानीय विकास मन्त्री भएका थिए भने २०५४ मा परराष्ट्र र कृषि मन्त्री, २०६० मा सञ्चार, स्थानीय विकास र स्वास्थ्य मन्त्री, २०७२ मा परराष्ट्र र स्थानीय विकास मन्त्री, २०७४ मा परराष्ट्र मन्त्री भइसकेका छन् ।

अध्यक्ष थापा एमालेको साथ पाए चुनाव जित्ने आन्तरिक हिसाब किताब बोकेर उत्साहित हुँदै हेटौंडा झरेका हुन् । २०७४ को निर्वाचनमा मकवानपुर–१ मा थापा पराजित भएका थिए । एमालेका नेता कृष्णप्रसाद दाहालसँग उनी तेस्रो पटक चुनाव हारेका थिए । तत्कालिन समयमा बाम गठबन्धन विरुद्ध कांग्रेससँग गठबन्धन बनाएर चुनावमा होमिएका थापा पराजित भएका थिए । माओवादी र एमालेको बाम गठबन्धनका उम्मेदवार ४० हजार ६३१ मत प्राप्त गर्दा थापाले ३४ हजार ६५८ मत ल्याएका थिए । यसअघि पनि थापालाई २०४८ र २०५६ को आम निर्वाचनमा पनि दाहालसँग पराजित भएका थिए ।

राप्रपा परित्याग गरी राप्रपा नेपाल पुनः गठन गरेका थापासँग मकवानपुरमा लामो सहयात्रा गरेका दीपक बहादुर सिंह, मधु अधिकारी, खिलप्रसाद चौलागाई लगायतको साथ छैन । पुराना नेता तथा कार्यकर्ताको अपस्थिति पनि अत्यन्त कमजोर रहेको छ । उता पार्टीको ब्राण्ड मानिएको हलो वा गाई चुनाव चिन्ह पनि अध्यक्ष थापाले गुमाएका छन् । सबैतिरबाट कमजोर अवस्थामा रहेका अध्यक्ष थापा चुनाव जित्ने उच्च मनोबल सहित अन्तिम चुनाव भन्दै गाउँ पसेर ‘इमोसनल’ प्रचारमा सक्रिय छन् ।

एकातिर बलियो सत्ताधारी गठबन्धन विरुद्ध अध्यक्ष थापाले प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता देखिन्छ भने एमालेका रामेश्वर राना, कृष्ण दाहाल, मदन दाहाल उम्मेदवार बन्ने चर्चा तीव्र छ । त्यस्तै सोही क्षेत्रबाट लामो समय राप्रपामा रहेर सहयात्रा गरेका दीपक बहादुर सिंह पनि चुनावी प्रतिस्पर्धामा उत्रिने भएका छन् ।

सत्ता गठबन्धबाट कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ उम्मेदवार बन्दा एमालेबाट ‘ग्रिन सिग्नल’ पाएको खण्डमा अध्यक्ष थापाले राप्रपाको सिंहको समेत सामना गर्नपर्ने हुन्छ । एमालेले अध्यक्ष थापालाई सघाए आफ्ना उम्मेदवारहरु फिर्ता बोलाउन सक्नेछ । त्यसो त एमालेले राप्रपा नेपाललाई गत स्थानीय तहको निर्वाचनको ऋण तिर्नै बाँकी छ । गत स्थानीय तहको निर्वाचनमा राप्रपा नेपालले आफ्ना उम्मेदवार नउठाइ एमालेलाई सघाउन विज्ञप्ती नै जारी गरेको थियो ।

अध्यक्ष थापाले आगामी निर्वाचन जित्न आफ्नो चुनाव चिन्ह ‘तीर’लाई जनतामाझ परिचित बनाउनु पर्ने अध्यक्ष थापाको सचिवालयको विश्वास रहेको छ । अध्यक्ष थापाले हेटौंडाको विकास र मकवानपुरका जनतालाई लगाएको गुन नै चुनाव जित्ने आधार भएको सचिवालयको भनाई छ । सचिवालयका अनुसार अध्यक्ष थापाकै कारण बागमती प्रदेश राजधानी हेटौंडा कायम हुन सम्भव रहेको र मकवानपुरको विकासको गोरेटो निर्माण भएकाले मकवानपुरका जनताले आगामी निर्वाचनमा अध्यक्ष थापालाई जिताउने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप