शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आइतबारसम्म सिट बाँडफाँडको टुङ्गो लाग्छ : खनाल

शनिबार, २५ भदौ २०७९, २२ : ३७
शनिबार, २५ भदौ २०७९

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आसन्न प्रदेश तथा प्रतिनिधि सभाको चुनावका लागि सत्ता गठबन्धनबीच सिट बाँडफाँटको  विषय अन्तिम चरणमा पुगेको बताएका छन् । समाजवादी प्रेस सङ्गठन नेपाल कास्कीद्वारा पोखरामा आयोजित पत्रकार भेटघाटमा नेता खनालले आफूहरूले सहमतिको ९० प्रतिशत कोर्स पूरा गरेको बताएका हुन् । 

आइतबारसम्म सिट बाँडफाँडको टुङ्गो लाग्ने खनालले बताए । “एमाले राप्रपा र पाँच दलीय गठबन्धन, यसपालि गठबन्धन गठबन्धनका बीचमा अर्को चुनाव हुनेवाला छ, उनले भने, ‘यस चुनावको परिणामका विषयमा सिङ्गो देशले जिज्ञासाका साथ हेरिरहेको छ, हामी वार्ताका क्रममा छौँ, हामी सहमतिको नजिक पुगेका छौँ, पर्सिसम्म हामी सहमतिमा पुग्छौँ ।” गठबन्धनका बिच सहमति भए पनि आफूहरू चुनावको मैदानमा निस्कने नेता खनालले बताए ।

मुलुकमा वाम एकता इतिहास देखी अहिले सम्म पनि उत्ति कै महत्वपूर्ण र आवश्यक रहेको उनले बताए । २०४८ सालमा आफूहरूले एक वाम एक ठाउँ भन्ने अभिप्राय लिए पनि त्यस बखत सफल हुन नसकेको इतिहास कोट्याउँदै नेता खनालले महाकाली सन्धिसम्म आइपुग्दा विभाजन सम्म पुगेको तितो यथार्थ पनि सुनाए । त्यसरी विभाजन हुनु दुःखद भएको बताउँदै नेता खनालले नेपालका वामहरूले अनेक अवसरहरू गुमाउँदै आएको बताए ।

अहिले विवादमा परेको नागरिकता विधेयक तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा बनेको नेता खनालले उल्लेख गरे । त्यस बेला प्रगतिशील भनिएको यो विधेयकका सम्बन्धमा अहिले राष्ट्रपति विद्यादेवी भण्डारीले खेलेको भूमिका प्रति उनले संङ्कोच व्यक्त गरे । 

पूर्व प्रधानमन्त्री समेत रहेका खनालले आफूलाई कुनै पदको लोभ नभएको बताए । आफूहरू व्यक्तिगत रूपमा प्रधानमन्त्री वा राष्ट्रपति बन्ने लोभ नभएको तर राष्ट्रको आवश्यकता अनुसार जिम्मेवारी बहन गर्न तयार रहेको उनले बताए । आगामी चुनावमा माओवादीसँग कार्यगत एकता गर्ने उनले बताए । उनले भने, अबको चुनावमा पनि हामी कार्यगत एकता गछौँ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप