आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पुस्तक चर्चा : ​मोरङिया थारु चिनाउने पुस्तक

शनिबार, २५ भदौ २०७९, ०७ : १२
शनिबार, २५ भदौ २०७९

२०४८ सालतिर बारा जिल्लाको फत्तेपुरमा थारु साहित्यको बृहत् सम्मेलन भएको थियो । रामसागर चौधरीजीसँग मेरो पहिलो भेट सोही कार्यक्रममा भएको जस्तो लाग्छ । कार्यक्रममा मेरो कथा पहिलो हुँदा उहाँको ‘भिख्नाके नागरिकता’ शीर्षकको कथा शायद तेस्रो भएको जस्तो लाग्छ । उहाँको टिमले प्रकाशित गरेको थारु भाषाको ‘हौली’ पत्रिका मैले अझै पनि सँगालेर राखेको छु । त्यस कार्यक्रमपछि उहाँसँग भेट हुन छाड्यो ।

म विद्यार्थीसँग टेलिफोन थिएन । उहाँ कर्मचारी मान्छे पुरै नेपाल चक्कर लगाउँदै ठिक्क थियो । मोबाइलको जमाना थिएन । फेसबुकको जमाना आएपछि उहाँसँग बल्ल भेट हुने संयोग जुर्‍यो, पहिलो भेट भएको करिब तीन दशकपछि । पछिल्लो भेटको एक दशकको अवधिमा उहाँसँगको भेटघाट निकै बाक्लिएको छ ।

२०४९ सालमै ‘अनमोल बेहाल’ कविता संग्रह प्रकाशित गरिसक्नु भएका रामसागरजी अझै पनि कविता लेखनको मोह त्याग्न सक्नु भएको छैन । नेपाल प्रज्ञा प्रतिष्ठान तथा नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा कविता पठाउने मैले सूचना दिएपछि उहाँ २ वर्ष अघि कविता सुनाउनै मात्र खनारबाट काठमाडौँ आइपुग्नु भएको थियो । 

थारु लेखक संघ नेपालको म संस्थापक केन्द्रीय अध्यक्ष छु । थारु लेखक संघ नेपालको संस्थापक सदस्य हुनुहुन्छ उहाँ । थारु लेखक संघ नेपालको आयोजनामा प्रत्येक वर्ष हुने थारु साहित्य राष्ट्रिय सम्मेलनमा उहाँको सार्थक उपस्थिति रहन्छ । यसपाली २०७८ फागुन १२ देखि १४ सम्म कञ्चनपुरको सिंहपुर गाउँमा भएको छैठौं थारु साहित्य राष्ट्रिय सम्मेलनमा सहभागी हुन उहाँ ३० घण्टाको बस यात्रा गरेर खनारबाट काठमाडौँ आइपुग्नु भयो । यहाँ पनि कविता वाचन गर्नु भयो, आफ्नो सक्रियता देखाउनु भयो । 

म १३ वर्ष गोरखापत्र दैनिकमा थारु भाषाको पृष्ठ संयोजक रहेँ । उहाँ मलाई भेट्न काठमाडौँ, तीनकुनेको अन्नपूर्ण पोष्ट दैनिकमा आएपछि गोरखापत्र दैनिकमा थारु भाषाको पृष्ठमा निरन्तर लेख्न आग्रह गरेँ । उहाँले मेरो आग्रह शिरोधार्य गर्नुभयो । लेखको सङ्ख्या बढ्दै गयो । 

मैले उहाँलाई थुप्रै पटक आग्रह गरेँ, सबै लेखको सङ्कलनस्वरुप पुस्तक प्रकाशन गर्नोस् । मलाई लाग्छ, त्यहीँ निरन्तर घच्घच्याईको कोसेली स्वरूप यो ‘मोरङिया थारु’ पुस्तक प्रकाशन सम्भव भयो । 

यो पुस्तक चार खण्डमा विभाजित छ । पहिलो खण्डमा मोरङिया थारुको सामाजिक संरचना, मान्यजन, सामाजिक शासन, मान पदवी, वंश पंघतदेखि थारु गाउँको नामको विशेषता समेटिएको छ । दोस्रो खण्डमा मोरङको शासन ब्यवस्था, बस्ती बिस्तार, जनआन्दोलन पछिको अवस्था लगायत विषयबस्तु छ । 

त्यस्तै, तेस्रो खण्डमा पूर्वीया थारु भाषा साहित्यको अवस्था, डिहवार थान पूजा, बहरजत्रा पूजा, अरबन्ही, सिरुवा पावन, गोठाले पावन लगायतबारे चर्चा छ । 

विविध खण्ड नाम दिइएको चौथो खण्डमा थारुको जरजर अवस्था, थारु समाजमा विशेष दिन, बञ्चितीकरणमा थारु समुदाय लगायत विषयको उठान गरिएको छ । 

पुस्तकको नाम ‘मोरङिया थारु’ राखिए पनि यसको तेस्रो र चौथो खण्डले पुस्तक मोरङका थारूबारे मात्रै केन्द्रीत नभई समग्र पूर्वीया थारूहरूको जनजीवनलाई नै एक ढंगले उजागार गरेको छ । 

पूर्वी क्षेत्रबाट थारु भाषामा पुस्तक पत्रिकाको प्रकाशन अत्यन्त न्यून हुँदै गएकोमा रामसागरजीको यस पुस्तकले सागरबाट एक गागर पानी भए पनि त्यसको शीतलता अवश्य दिएको छ ।

थारु भाषाको लेखनमा रामसागरजी र मेरो शैली मेल खाँदैन । तर हामी दुई मातृभाषा लेखनमा निरन्तर छौं । यस्तै मातृभाषामै लेखन कार्यको निरन्तरताले एक न एकदिन थारु भाषाको मानक लेखनशैली अवश्य बन्नेछ भन्नेमा हामी दुई विश्वस्त छौं । तर ‘मोरङिया थारु’ पुस्तकमा लेखनको कुन शैली अपनाइएको हो, प्रष्ट छैन । पूर्वीया थारु भाषीले मध्य–पूर्वीया लेखनशैली पुस्तिका तथा व्याकरण समेत प्रकाशन गरेका छन् । तर यसले त्यसको ‘फलो’ गरेको छैन । बरु एउटै शब्द विभिन्न किसिमले लेखिँदा धेरै ठाउँमा दाँतमा ढुंगा लागेजस्तो महसुस हुन्छ । आगामी पुस्तकमा एउटा लेखनशैलीमा पुस्तक प्रकाशन गर्नुहुनेछ भन्ने आशा गरौं ।

साहित्यिक कार्यक्रममा मात्रै होइन, सामाजिक, धार्मिक कार्यक्रममा समेत उत्तिकै सक्रिय रामसागरजीको जुनसुकै क्षेत्रमा पनि युवाहरु भन्दा पनि बढी खट्न सक्ने लगनशीलताको प्रमाण हो यो पुस्तक । उहाँको लगनशीलताबाट अरुले पनि उत्प्रेरणा लिन सक्नुपर्छ । मैले थाहा पाएको छु कि उहाँका अरु पनि धेरै पाण्डुलिपि थुप्रिएका छन्, ती पनि चाँडै पुस्तकाकारको रुपमा आऊन् शुभकामना । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णराज सर्वहारी
कृष्णराज सर्वहारी
लेखकबाट थप