बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

मनलाई सुन्दर बनाउने तरिका

शनिबार, २५ भदौ २०७९, ०६ : ०७
शनिबार, २५ भदौ २०७९

सुन्दर देखिने चाहना कसको नहोला ? सुन्दर बन्नु भनेको अरूलाई आकर्षित गर्नु पनि हो । अरूबाट प्रशंसा पाउन पनि हो । त्यसैले हामी मुहार राम्रो देखाउन अनेक मेहनत गर्छौँ; शरीर आकर्षक बनाउन मिहिनेत गर्छौँ । फेरि, राम्रा र महँगा कपडा लगाउँछौँ । राम्रो देखिनकै लागि अनेक विधि उपाय अपनाउँछौँ । 

शरीरलाई जस्तै मनलाई सुन्दर बनाउन हामी कति मेहनत गर्छौँ त ? शारीरिक सुन्दरताबाट क्षणभर आकर्षक देखिन सकिन्छ । दीर्घकालसम्म आकर्षित गर्ने त मनको सुन्दरताले नै हो । वास्तवमा, मानिसहरूको मन जित्ने भनेकै सुन्दर मनले हो । शरीरको सुन्दरता र मनको सुन्दरतामा के फरक छ भने शरीर जत्ति बचाइराख्न खोजे पनि उमेरसँगै ढल्दै जान्छ । तर, मनको सुन्दरता समयसँग झनै निख्रिन्छ । 

शरीरलाई सुन्दर बनाउने तरिका त हामीलाई थाहै छ । तर, मनलाई सुन्दर बनाउने कसरी त ? मनलाई सुन्दर राख्न हाम्रा सोच सुन्दर हुनुपर्छ, विशाल हुनुपर्छ र व्यवहारमा सच्चाइ हुनुपर्छ । यहाँ मनलाई सुन्दर बनाउने पाँच प्रमुख उपाय प्रस्तुत गरिन्छ:

मनलाई खुल्ला बनाउनुस्

खुल्ला मन सुन्दर हुन्छ र बन्द मन कुरूप । मनलाई बन्द गरिदिने कारक हो: धारणा वा विचारको आग्रह । जब तपाईं एउटा निश्चित धारणा वा विचारमा जकडिनुहुन्छ, तब तपाईं अरूको धारणा र विचारमा त्रुटि मात्र देख्नुहुन्छ । त्रुटि देखेपछि विवाद गर्न चाहनुहुन्छ र अरूलाई गलत प्रमाणित चाहनुहुन्छ । विवादमा अल्झने र अरूलाई गलत प्रमाणित गर्ने प्रयासले तपाईं अलोकप्रिय मात्र बन्नहुन्छ । 

युवाहरू आफूलाई मनपर्ने नायक, नायिकाको विषयमा पनि विवाद गर्छन् । आफूलाई मनपर्ने नायक नै राम्रो र साथीको मनपर्ने नायक त्यो स्तरको छैन भन्ने कुरामा विवाद हुँदै मित्रतामै कटुता आउने पनि गर्छ । प्रौढहरू कुन राजनीतिक पार्टी ठिक, कुन बेठीक भन्नेमा विवाद गर्छन् । कसैको सैद्धान्तिक विवाद पर्छ । अहिले सामाजिक सञ्जालको जमानामा त सञ्जालमै चर्काचर्की भइरहेको पनि देखिन्छ ।

विद्यालयमा हुने वादविवाद प्रतियोगितामा जित्न खोज्नु त ठिकै हो तर दैनिक जीवनमा गरिने वादविवादले केवल तनाव जन्माउँछ र सम्बन्धमा कटुता ल्याउँछ । वादविवाद भनेको यस्तो कुरा हो, आफू जिते साथीको मन दुख्छ र साथी गुम्न पनि सक्छ । हारे आफैँ लज्जित हुनुपर्ने हुन्छ । यसमा बेफाइदै बेफाइदा मात्र छ । 

आफ्नो स्पष्ट विचार हुनु, धारणा राख्नु नराम्रो होइन । तर, जब तपाईं आफ्नो धारणा मात्र ठिक, आफ्नै विचार मात्र ठिक भन्नुहुन्छ र आपूmसित नमिल्ने विचारमाथि आक्रमण गर्नुहुन्छ, तब कुरूपताले जन्म लिन्छ । आफ्नो धारणा र विचार राख्नु ठिकै हो, तर सबैलाई त्यही धारणा मनाउन खोज्नु, आफ्नो धारणाको आधारमा अरूलाई गलत प्रमाणित गर्न खोज्नु, कहाँनेर अरूको विचार, व्यवहारलाई आलोचना गर्न सकिन्छ भनी खोजी हिँड्नु गलत हो । बन्द मन बातैपिच्छे अरूको आलोचना र वादविवादमा अल्झन चाहन्छ । यसको विपरीत खुल्ला मन नयाँ कुरा सिक्न चाहन्छ, बुझ्न चाहन्छ । अरूको कुरामा के सत्यता छ, के नौलो कुरा छ, खोज्न चाहन्छ ।

सुन्दर मनले सहमतिको विषय पहिले पहिल्याउँछ । कुरूप मनले सुरुमै विमतिका विषय पहिल्याउँछ र आलोचनामा उत्रन्छ । अरूले गरेका सबै कुरामा असहमत हुनु वा गलत प्रमाणित गर्नु जरुरी हुँदैन । हरेक व्यक्तिको कुरामा केही नयाँ र राम्रो कुरा खोज्न सकिन्छ र त्यसलाई स्वीकार्न र प्रशंसा गर्न सकिन्छ । 

यसको अर्थ यो होइन कि तपाईं आफ्नो कुनै धारणा नै राख्न सक्नुहुन्न र अरूको कुरा मात्र सधैँ वाहवाही गरिरहनुस् । कुराकानीमा अरूको गल्ती खोज्नुभन्दा पहिला सहमतिका बुँदा खोज्नुस् । सहमत बुँदामा आफ्नो सहमति जनाउनुस् । यसले सम्बन्ध राम्रो बन्छ । त्यसपछि मात्र असहमत विषय राख्दा स्वीकार्यता बढी हुन्छ । असहमत विषय बिना व्यक्तिगत आक्षेप प्रस्तुत गर्नुस् । 

आफूलाई ठिक नलागेको विषयमा आक्रमण गर्नु, होच्याएर कुरा गर्नु, उडाउनुभन्दा स्पष्टसित “तपाईंको विचार ठिक पनि हुन सक्छ, तर मेरो विचार यस्तो छ” भनेर भन्न सक्नुहुन्छ । वा “मेरो विचार यस्तो हो तर तपाईं बेग्लै विचार राख्न पनि सक्नुहुन्छ” पनि भन्न सकिन्छ ।

अरूको कुरा सुन्नुस्

हामीलाई आफ्नो कुरा सुन्ने मान्छे मनपर्छ । कुरा सुन्दा कुरा मात्र होइन, मानिसको भावना पनि बुझिन्छ । अरूको कुरा नबुझीकन आपूmले कुरा गर्न खोज्दा व्यर्थको विवाद पर्छ ।

कुरा सुन्ने पनि एउटा कला हो । कुरा सुन्ने भनेको शब्द मात्र सुन्ने होइन, भावना पनि सुन्ने हो । शब्दले भन्दा आवाजको उतारचढाव र शरीरको हाउभाउले धेरै कुरा भनिरहेको हुन्छ । त्यसैले कुरा सुन्ने भनेको बोलिरहेको व्यक्तिलाई सम्पूर्ण ध्यान दिनु हो । उसको शब्द, आवाज, शरीरको हाउभाउ, मुखाकृति सबैलाई ध्यानपूर्वक नियाल्नु हो । यसलाई सम्पूर्ण सुनाइ भनिन्छ । 

यसरी सुनेमा मानिसले शब्दमा व्यक्त नगरेका भावना पनि बुझिन थाल्छ । भावना बुझेर मात्र सही प्रतिक्रिया दिन सकिन्छ । भावना नबुझीकन दिएको प्रतिक्रिया ठिक ठाउँमा पर्दैन ।

साथै अरूको कुरा सुनिरहँदा आफ्नो मन शान्त हुनुपर्छ । आफ्नै मनभित्र अनेक कुरा खेलिरहेको छ भने अरूको कुरा पूरापूर ग्रहण गर्न सकिँदैन । अरूको कुरा सुन्ने भनेको आफ्नो बोल्ने पालो पर्खने पनि होइन । हामीमध्ये धेरैजसो अरूको कुरा सुनिरहँदा कहिले यसले बोल्न सकाउला र म यस्तो भनुँला भनेर सोचिरहेका हुन्छौँ । यस्तो अवस्थामा हाम्रो सुनाइ सकारात्मक हुँदैन ।

राम्रो सुनाइको सम्बन्ध खुल्ला दिमागसँग पनि हुन्छ । सुन्नु भनेको दिमागलाई खुल्ला राखेर अरूको कुरा ग्रहण गर्नु पनि हो । दलाइ लामा भन्छन्, ‘बोल्दा मैले जानेको कुरा दोहर्‍याइरहेको हुन्छु । सुन्दा म नयाँ कुरा सिकिरहेको हुन्छु ।’

नकारात्मक मानसिक संवादबाट बच्नुस्

कसैसित रिस उठिरहेको छ वा केही कुरा चित्त बुझेको छैन भने हाम्रो मनमा अनेक नकारात्मक कुरा खेलिरहन्छन् । यसमा रिस, इर्ष्या, जलन आदि सबै नकारात्मक भावना हुन सक्छन् । यसले हामीलाई तनाव हुन्छ ।

कसैको रिसले मनमा नकारात्मक कुरा खेलाइरहँदा वा बदलाको भावनाले जलिरहँदा हाम्रो आफ्नै दिमाग मात्र तात्छ, आफ्नै सुख–शान्ति भंग हुन्छ । यसले शत्रुको त केही पनि बिग्रिँदैन, बरु आफ्नै जीवनका सुन्दर क्षण कष्टमा  परिणत भइरहेको हुन्छ । 

जब मनमा नराम्रो कुरा खेलिरहन्छ, तब हामी ठीकसित सोच्न पनि सक्दैनौँ । त्यसैले, यसलाई आफैँलाई हानी पुर्‍याउने मानसिक व्यवहारको रूपमा लिइन्छ । यस्तो व्यवहारलाई आफ्नो दिमागमा शत्रुलाई सित्तैमा भाडामा राख्नु हो पनि भनिन्छ । जब हामी शत्रुलाई सोचेर मनमनै मुरमुरिन्छौँ, तब हाम्रो दिमागमा शत्रुले सित्तैमा ठाउँ पाउँछ ।

मनमा नकारात्मक मानसिक संवाद खेल्न थाल्यो भने लामो श्वास लिने र छोड्ने र श्वासमा ध्यान केन्द्रित गर्ने गर्‍यौँ भने यो कम हुन थाल्छ ।

पछुताइरहने बानी नबसाल्नुस्

मानिसबाट गल्ती हुन्छ र गल्तीबाट सिक्नुपर्ने पनि हुन्छ । तर पछुताइरहने वा आफैँलाई कोस्ने बानीले हामी कहिल्यै पनि माथि उठ्ने सक्दैनौँ । कहिलेकाहीँ हामी आफ्नै गल्तीमा हाँस्नुपर्ने पनि हुन्छ । पछुताइरहनाले अगाडि बढ्न सकिँदैन । 

कोही मानिस आफ्नो सानै गल्तीमा पनि धेरै कुरा खेलाइरहने हुन्छन् । यसले हीनभावना पैदा हुन्छ । हीनभावनाले मनलाई कुरूप बनाइदिन्छ । अरूलाई आलोचना गरिरहने मन मात्र कुरूप हुने होइन, आफ्नै कमीकमजोरी सम्झेर आफैँप्रति गुनासो गरिरहने मन पनि कुरूप नै हुन्छ । 

त्यसैले आत्मस्वीकृति (सेल्फ एसेप्ट्यान्स) एकदमै महत्त्वपूर्ण छ । सुन्दर मनले आफूलाई जे जस्तो छ, त्यसलाई स्वीकार गर्छ, आफैँलाई माया र सम्मान गर्छ । यसले पहिलेका घटनाबाट सिक्छ र अगाडि बढ्छ । बितिसकेको कुरामा पछुताइरहँदैन ।

नडराउनुस्, नलोभिनुस् 

मानिसका धेरैजसो व्यवहार डर र लोभबाट सञ्चालित हुन्छन् । के ठिक हो भन्ने कुरा थाहा पाई पाई पनि आफ्नो केही सानो कुरा गुम्ने भयले वा केही सानो कुरा पाउने लोभले आफैँलाई बेठीक लाग्ने कुरा पनि हामी गरिरहेका हुन्छौँ । यस्तो कार्यमा हानी वा लाभ धेरै साना हुन्छन् र तत्कालको लागि मात्र हुन्छ । डर र लोभको कारण गरिएको निर्णय कहिल्यै पनि दीर्घकालको फाइदाजनक हुँदैन । 

सर्वसाधारण मात्र होइन, कतिपय ठूला व्यक्तिहरू पनि डर र लोभको कारण बेठीक काम गर्न पुग्छन् । हामी डर र लोभबाट टाढा रही सच्चा व्यवहार गर्ने मानिसको प्रशंसा गर्छौँ भने हामी आफैँ किन डर र लोभबाट मुक्त व्यवहार नगर्ने त ? डर र लोभबाट टाढा रही गरिएको व्यवहार नै सच्चा व्यवहार हो र त्यसमा असीमित शक्ति हुन्छ ।

तर यसको अर्थ यो होइन कि हामी कठोर व्यवहार गरौँ । जस्तो व्यवहारमा पनि शिष्टता हुनु जरुरी हुन्छ । कुनै पनि कार्य गर्नअघि हामी आफैँलाई सोध्न सक्छौँ, कहीँ मेरो कार्य डर वा लोभले निर्दिष्ट त छैन ?

डर र लोभले मुक्त मन नै सुन्दर मन हो । त्यसैबाट सत्यपूर्ण सोचको जन्म हुन्छ र त्यसबाट सबैको कल्याण पनि हुन्छ । 

सुन्दर मन शीतल र हलुंगो त हुन्छ नै । यसले जीवनलाई पनि सुन्दर बनाउँछ । साथै नजिक आउनेलाई समेत शीतलता प्रदान गर्छ । ‘फूलको आँखामा फूल संसार’ भने झैँ सुन्दर मनले हेर्दा संसार नै सुन्दर देखिन्छ ।

लेखक माइन्डफुल लीडरशिप विषयका प्रशिक्षक हुन् 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

आर‍. मानन्धर
आर‍. मानन्धर
लेखकबाट थप