पुस्तक अंश : कमलरी ‘फरैना’को त्यो मुस्कान
छुट्टिने तरखर गर्दै गर्दा बटुवाले भने, हेर, आजको समयमा पनि यसरी अरुको घरमा दास बनेर बस्नु भनेको मानवताकै उपहास हो । मानिसको संवेदनशीलता माथिको खेलबाड हो । स्वतन्त्रतालाई बन्धक बनाउनु हो । जीवनको कलकलाउँदो बिरुवालाई सानैमा निमोठ्नु हो । आखिर सुनकै भए पनि पिँजडाभित्र चरी कहिल्यै रमाउँदैन । उसलाई उड्नका लागि खुला आकाश चाहिन्छ ।
शिक्षाको पारिलो घामले बस्ती उज्यालो हुनुपर्ने बेलामा ओस्याइलो काइ परेको सेपिलो दम्स्याइलोमा बिरुवाहरू कठ्याङ्ग्रिएको देख्दा मेरो हृदय पनि खण्डित हुन पुग्यो । शोषण र दमनको विभेदरूपी साङ्लोलाई हामीले अब चुँडाल्नुपर्छ । हाम्रा लागि अवसर कसैले जुटाइदिँदैन । अवसर भन्ने कुरा हामी आफैँले सिर्जना गर्दै जानुपर्छ । अँध्यारो ओडारबाट बाहिर निस्केपछि मात्रै उज्यालो संसारलाई समग्रतामा नियाल्न सकिन्छ । उज्यालाहरूको खोजी गर्नु नै जीवनको अर्को नाम हो ।
फरैना मुसुक्क मुस्कुराइन् । उनले बटुवाका कुरा कति बुझिन्, कति बुझिनन्, त्यो अलग कुरा हो ।
गाईबस्तु निकै पर पुगिसकेका थिए । हतास मानसिकतामा बटुवालाई ‘जान्छु है’ भन्दै फरैना दौडिइन् । बटुवाले परसम्म खाली पैताला दौडिएकी फरैनालाई नियाली रहे ।
बटुवाको मनमा प्रश्नका अनेकन् ज्वारभाटा उठ्न थाले । फरैनाहरूले यसरी जुत्ता–चप्पलसमेत लगाउन नपाउनुको कारण उही चरम गरिबी नै रहेछ । अहिले यिनका खुट्टाका पैताला नै चप्पलजस्ता भइसकेका छन् । खाली खुट्टा हिँड्दा कति काँडा बिझ्छन् होला ? कति चोटपटक लाग्छ होला ? दिनभरि नै खालीखुट्टा हिँडाइले राती कति झम्झमाउँछन् होला गोडाहरू ?
केही बेरपछि बटुवाले आफ्नो झोला बोके । फरैनासँग भएको कुराकानी सम्झँदै उनी समीको फेदबाट दाहिनेतर्फ मोडिएको बाटोतिर तेर्सिए । उता पर फरैनाले गाएको मैना गीतको भाकाको मधुरो स्वर बटुवाको कानमा ठोक्किइरहेको थियोः
हरि मैना, आउ आउ भैया गाउँके गँवलिया हो मैना ।
आइ जइबो भैया डुनु खोल्हवा मुहाने हो मैना ।।
गीतको भाकाले भनिरहेको थियो, ए गाउँका दाजु भाइ । आओ हौ, दुबै खोलाको मुहाननेर । साँच्ची भन्दा छुट्टिएर बटुवा र फरैना खोलाको दुइ किनारझैं भए । थाहा थिएन, यिनको मिलन अब कुनै दिन होला कि नहोला ।
बटुवासँग भेट भएर घर फर्केको साँझ फरैनालाई राति अबेरसम्म निद्रा परेन । बस्तुभाउ थन्क्याएपछि उनले सधैँझैँ घरको सुसेधन्दा गरिन् । जमिनदारका छोराछोरीहरूको स्याहारसुसार, भित्रबाहिरको काम, भाँडाकुँडा माझमुझ सबै सकेर सुत्न लाग्दा उनको मनमा अर्कै प्रकारको अनौठो तरङ्गको सिर्जना भयो ।
आखिर ती बटुवा कहाँदेखि आएका थिए होलान् ? किन मसँग त्यति धेरै कुरा गरे होलान् ? मेरो बारेमा किन त्यस्तरी सोधे होलान् ? मलाई किन त्यत्रो अर्ति दिए होलान् ? म दुखिया, खोटो कर्मको मान्छे कसरी उनले भनेझैँ अघि बढ्न सक्छु होला ? यस्ता अनेकौँ प्रश्नहरूले फरैनालाई निरन्तर झक्झक्याइ रह्यो ।
रातको प्रहर ढल्कँदै गएपछि सधैँझैँ घरका सबै सदस्यहरू निदाए । गोठका बस्तुभाउ पनि निदाए । तर, मनमा कुरा खेलाइरहेकी फरैना आधा रातसम्म निदाउन सकिनन् । उनको मनको छापाखानामा अनेकौँ प्रश्नपत्रहरू छापिन थाले । ती प्रश्नमध्ये मनमनै कतिको उत्तर दिन उनी समर्थ भइन् । कतिपय प्रश्नको उत्तर रहस्यकै गर्तमा बिलायो । यस्तैमा उनी निदाइन् ।
भर्याङको फेदमा मुस्किलले सुतेकी फरैना सपनामा भने फूलैफूलले सजिएको आरामदायी बिस्तारामा पल्टिरहेकी थिइन् । छेवैमा लटरम्म पाकेका फलहरूले डाली लचक्कै थियो । चराचुरुङ्गीको चिरबिराहटले सुरम्य तुल्याएको परिवेशमा उनी थिइन् । पर कतै भव्य समारोहको उद्घाटन भएझैँ मङ्गल धुन बजिरहेको थियो । नीला पहाडबाट सङ्गीतको राग अलाप्दै झरनाहरू झरिरहेथे । धान खेतको सुवास बोकी आएको बतासले छोएपछि सतिसालका पातहरूले थपडी बजाएझैँ अनुभूति हुन्थ्यो । चौतारीका वर–पीपल नृत्यमग्न थिए ।
भालेको डाँकसँगै फरैनाको निद्रा टुट्यो । ढिलो निदाएर पनि उनी चाँडै बिउँझिइन् । बिउँझँदा उनको वास्तविकता पनि उनैसँगै बिउँझियो । सपनाका सुन्दरतम क्षणहरू सपनाकै देशमा छुट्यो । यद्यपि, फरैना मुसुक्क मुस्कुराइन् र घरधन्दा गर्न लागिन् ।
उनले आफ्नो पुर्खा, परिवार एवं स्वयं आफूसमेत गरिबीको चपेटामा परेको र अर्काको सहारामा बाँच्नु परेको बाध्यतालाई भित्रैदेखि नियालिन् । अनि, आफैँलाई प्रश्न गर्न थालिन् ‘के हामी जस्ताले सधैँ यस्तै दुःखद अवस्था झेलिरहनु पर्ने हो त ? के यो हाम्रा लागि सामाजिक अभिशाप नै होइन त ? हामीले पुखौँदेखि यस्तै अवस्था भोग्दै त आयौँ, के अबका भावी पिँढीले समेत यस्तै अवस्था भोग्दै जानुपर्ने होला त ?
के यस्तो दुःखकष्टबाट छुटकारा पाउने कुनै पनि उपाय छैन त ? के हामीले अब कुनै आँट र साहस गर्नै सक्दैनौँ त ? के हामीमा कुनै जोसजाँगर नै छैन त ?
आखिर हामीले नै त गरिदिएका छौँ अर्काको काम, आफ्नो पेट भोकै राखेर । हामीले नै त भरिदिएका छौँ अर्काको पेट । अनि, हामीले किन कत्ति पनि सोच्दैनौँ यस्तो कहालीलाग्दो जिन्दगीबाट पार पाउन ? कति वर्षसम्म यस्तै निरीह भएर बाँच्ने हामीे ? अब त केही न केही सोच्नै पर्ला ।’
यस्तै–यस्तै अनगिन्ती उतारचढावका सिलसिला सल्बलाइरहन्छन् फरैनाका मानसपटलभित्र । पीर, व्यथा र छटपटीका अनगिन्ती मानसिक द्वन्द्वसँग रुमलिएरै भए पनि फरैनाले सुकिलो भविष्यको सपना देख्न थालिन् । जसरी हिलोको साम्राज्यभित्रबाट पनि कमलको थुँगा मुस्कुराउँछ ।
उनको दैनिकीको रूपमा बिहानै मालिकका परिवारका सदस्यहरूभन्दा पहिला नै उठिसक्नुपथ्र्याे । यदि चाँडै नउठेमा मालिक्नीको ठूलै खप्की खानुपथ्र्याे ।
एकदिन फरैना ज्वरो आएर निस्लोट सुतिरहेकी थिइन् ।
मालिक्नी चिच्याइन्, ‘उठ् ए खानाको काल ।’
तर फरैनालाई उठ्न हम्मे हम्मे थियो । उनी बल गरेर उठ्न कोशिश गरिरहेकी थिइन् । त्यसैबेला मालिक्नीले जगल्टो तानेर उठाइन् । उनलाई असह्य पीडा भयो ।
‘चुप लाग, अझै रुन्छेस् ? त्यत्रो भाँडाको डंगुर के मैले माझ्नु ?’
हाँसो त फरैनाको शब्दकोशमा थिएन । आँसुसमेत झार्ने उनको भाग्यमा लेखिएको थिएन । ज्वरोले इन्तु न चिन्तु भएको बेला पनि उनी भाँडा माझ्न थालिन् । कमजोर ज्यानले माझेका भाँडा पनि टलक्क टल्किए । तर, उनको जिन्दगी कहिले टल्किने हो, उनी स्वयम्लाई थाहा थिएन ।
त्यो घटनापछि उनले आफ्नो जगल्टो मालिक्नीले अँठ्याएर पछारेको सपना बारम्बार देख्थिन् र निस्सासिँदै जरपत्तालसँग उठ्थिन् । एक प्रकारले कुखुराको आवाजसँगै उठ्नुपथ्र्याे र जमिनदारको परिवार नउठ्दै गोठपातको काम सिध्याउनुपथ्र्याे । यति हुँदाहुँदै पनि हरेक रात निदाउनुअघि फरैनाको मनमा स्वतन्त्रताको एक रन्को बाँसुरी बज्थ्यो । अँध्यारो सुरुङमा यात्रा गर्दै गएपछि एक दिन सुनौलो बिहान कसो नभेटिएला भन्ने सकारात्मक दृष्टिकोणले उनलाई डोर्याउन थाल्थ्यो ।
हुन त उनको जीवन साह्रै अप्ठ्यारोमा फसेको थियो । न त शरीरमा मन परेको पहिरन लाउन पाइन्थ्यो, न त मीठो खान नै पाइन्थ्यो । जमिनदारका छोराछोरीका जड्यौरी कपडा लाउनुपथ्र्याे भने उनको परिवारले खाइसकेपछि मात्र खाना खानुपथ्र्याे । त्यो पनि केवल बचेखुचेको मात्र । सधैँभरि बचेखुचेको र त्यो पनि चिसो भएको बासी खाना खानुपर्ने भएकोले पनि कैयौँपटक बिरामी पर्नुपथ्र्याे । यद्यपि, फरैनाले हरेस खाएकी थिइनन् ।
दिनभर आफ्ना खाली गोडाहरू ढुङ्गा, माटो, कङ्क्रिट र काँडाहरूमा यत्रतत्र दौडाउँदै गरेको असरले गोडा साँझमा झम्झमाउन थाल्थे । त्यसैको असरले भित्रभित्रै पोलेको जस्तो र कताकता चसक्क–चसक्क बिझाएको जस्तो महसुस हुन्थ्यो । टाउकोमा ठूल्ठूला पानीका घैँटाले थिचिँदा थाप्लो र घाँटीका नसा दुख्न थाल्थे । कहिलेकाहीँ त घाँटी पनि दायाँबायाँ घुमाउन नसकिने अवस्था हुन्थ्यो । दिनभरिको कडा परिश्रमको थकान अनि शिरदेखि पाउसम्मको दुखाइले रातभरि निदाउन पनि साह्रै गाह्रो हुन्थ्यो । यसरी छटपटीमा बिताएका धेरै रातको फेहरिस्त थियो फरैनासँग ।
कहिलेकाहीँ त कामको चापले रातभरि हनहन्ती ज्वरो आउँथ्यो । तर, त्यतिबेला ‘तिमीलाई आज के भयो ? किन निदाएकी छैनौ ? किन छट्पटाइरहेकी छ्यौ ?’ भनेर सोध्ने कोही पनि हुँदैनथ्यो । किनकि, फरैना अर्काको घरमा कमलरीको रूपमा वर्षभरिको लागि मोलमोलाइ भएर किनिएको वस्तुझैँै हुन पुगेकी थिइन् । आधा रातसम्म के के सोचेर उनको मन उकुसमुकुस हुन्थ्यो । आफ्नो जिन्दगीलाई पहिले–पहिले त उनले खूब धिक्कारिन् पनि । तर, बटुवाको त्यो दिनको उत्प्रेरणाले फरैना दिनप्रतिदिन मानसिक रूपले सशक्त र सबल बन्न थालिन् ।
अनगिन्ती पीडाहरूले भित्रभित्रै चिमोटिरहँदा यति दुःखदायी जिन्दगी बाँच्नुभन्दा त बरु मर्नु नै निको हुन्थ्यो होला भन्ने सोच नआएको पनि होइन । तर, हरेक रातपछि अवश्यमेव उज्यालो बिहान हुने शाश्वत सत्यझैँ एक न एक दिन त पक्कै आफ्ना पनि दिन उदाउनेछन् भन्ने सोच, धीरता र साहस उनमा पलाउन थाल्यो ।
वास्तवमा गरिब र दीनदुःखीको कहालीलाग्दो अवस्था कस्तो हुन्छ ? त्यो कुराको पीडा केवल उनीजस्ता कमैया कमलरीहरूलाई मात्रै अनुभूति हुन्छ । जसरी प्रसव पीडा केवल बच्चा जन्माउने आमालाई मात्र अनुभूति हुन्छ । त्यसै गरी यो कहालीलाग्दो भोगाइको पीडा केवल फरैनाहरू जस्तालाई नै थियो । दैनिक पसिनामा नुहाउनु उनीहरूको बाध्यता थियो । मनका रहर मनभित्रै कहर बन्थे । फरैनाहरूका लागि मीठो खानु, राम्रो लाउनु र आराम गर्नु भनेको सपनाझैँ हुन्थ्यो । किनकि, विपनामा यस्ता कुरा पाउनु असम्भव थियो ।
कहिलेकाहीँ त ‘हाम्रा दिनहरू पनि आउलान् ए ?’ फरैनाका मनले यस्तै कल्पिन्थ्यो । फरैनाको सोच भने अरुको भन्दा अलि फरक नै थियो । उनी आशावादी थिइन् । सोचाइ र गराइले मात्रै मानिसलाई प्रगतिको मार्गमा अघि बढ्न अभिप्रेरित गर्छ भन्ने कुरामा फरैना विश्वस्त हुन थालिन् ।
वर्षौँदेखि आफ्नी आमा र समुदायका अन्य आमाहरूका सधैँ पिठ्युँमा बच्चा, थाप्लोमा भारी र खाली खुट्टाको हिँडाइ देख्दै आएको कारणले नै फरैनामा पनि यस्तो साहस आएको हो । आमाहरूको पालामा स्कुल नजिक थिएनन् । छोरीहरूले पनि पढ्नुपर्छ भन्ने चेतनाको विकास पनि त्यत्ति धेरै भएको थिएन ।
यो पिछडिएको थारू समुदायमा त झन् पढ्न सक्ने क्षमता र साहस नै हुन्नथ्यो । यदि यदाकदा भए पनि केही परिवारमा मात्र सीमित थियो । यसको प्रमुख कारण त उच्च गरिबी र पछ्यौटेपन नै हो । किनकि, आफ्नो जग्गाजमिन तथा बस्ने बासको पनि अभाव भएकोले जमिनदारकोमा आश्रित हुनुको अर्काे विकल्पै पो के थियो र ?
जीवनभर श्रम गर्दागर्दै जुनी बित्थ्यो । भावी सन्ततिहरूसमेत उनै जमिनदारहरूप्रति नै समर्पित हुनपर्ने बाध्यता थियो । यो साँघुरो घेराबन्दीबाट बाहिर उम्कन समयले सङ्घर्षको माग गरिरहेको थियो ।
भदौ २४ गते विमोचन भएको सन्तोष श्रेष्ठको उपन्यास ‘फरैना’ बाट ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेवान्डोस्की चम्किएपछि घरेलु मैदानको फाइदा उठायो बार्सिलोनाले
-
च्याम्पियन्स लिगमा एटलेटिको मड्रिडको गोल वर्षा
-
गाउँ रित्तिने चिन्ताले झन् केश पाक्दै
-
अनुहारमा कसरी लगाउने टोनर ?
-
काठमाडौंमा ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ हुने
-
१२ बजे, १२ समाचार : चुनौतीका चाङमाथि सामाजिक सुरक्षा कोष, सहकारी ठगीमा एमाले नेता कारागार चलानदेखि समाजवादीका ३४४ नेता बेरोजगारसम्म