मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

आफ्ना ‘रणनीतिक लक्ष्य’मा आक्रमण भए परमाणु आक्रमण गर्ने उत्तर कोरियाको चेतावनी

शुक्रबार, २४ भदौ २०७९, २२ : ४५
शुक्रबार, २४ भदौ २०७९

उत्तर कोरियाको संसदले अरुले आक्रमण नगरी पहिले आफूले आणविक हमला गर्ने अधिकार सहितको नयाँ कानून पारित गरेको छ ।  त्यस अवसरमा नेता किम जोङ उनले प्योङयाङले आफ्नो आणविक हतियारलाई कुनै कुरामा नसाट्ने बताए । नयाँ कानुनमार्फत उत्तर कोरियाले आत्मरक्षाको लागि पहिले आफैले आणविक आक्रमण गर्न सक्ने अधिकारलाई सुनिश्चित गरेको त्यहाँको सरकारी मिडियाले बताएका छन् । 

आणविक हतियारमा कुनै ‘बार्गेनिङ’ हुँदैन
‘हाल पारित आणविक हतियार नीतिको सबैभन्दा महत्त्वपूर्ण पक्ष यसले आणविक हतियारलाई लिएर कुनै बार्गेनिङ हुदैन भनेर स्पष्ट गरिदिएको छ,’ किमले संसदमा बोल्दै भने ।  ‘तिनले हामीलाई १०० दिन, हजार दिन, १० वर्ष वा सय वर्ष प्रतिबन्ध लगाउन् तर हामी देशको अस्तित्व र हाम्रा जनताको सुरक्षाको रक्षा गर्ने आत्मरक्षाको अधिकारलाई अफ्ठ्याराहरुबाट क्षणिक सहजताका लागि कहिल्यै परित्याग गर्ने छैनौं ,’ किमले भने । 

उत्तर कोरियाले आणविक हतियार हासिल गर्ने प्रयास गरिरहेकाले उमाथि कयों प्रतिबन्धहरु लगाइएको छ ।  प्योङयाङको संसदले बिहीबार सन् २०१३ को त्यो कानून प्रतिस्थापन गर्यो जसले देशलाई आणविक अस्त्रयुक्त शत्रु राज्यबाट हुने आक्रमण वा अतिक्रमण रोक्न आणविक हतियारहरू प्रयोग गर्ने अधिकार दिएको थियो । 

नयाँ कानूनले सामूहिक विनाशका हतियारहरूद्वारा देशको ‘रणनीतिक लक्ष्य’ विरूद्ध आक्रमण हुन लागेको पहिचान भएमा पहिलो आक्रमण (आणविक हमला) आफैले गर्ने अनुमति दिन्छ ।  पुरानो कानून जस्तै, नयाँ कानूनले पनि प्योङयाङले गैर–आणविक राष्ट्रहरूलाई परमाणु हतियारको धम्की दिने छैन भनेको छ । तर ती मुलुकले परमाणु हतियार भएको देशसँग मिलेर उत्तर कोरियालाई आक्रमण गरे भने आक्रमण गर्ने बताएको छ । यो व्यवस्था छिमेकी दक्षिण कोरियातर्फ लक्षित देखिन्छ । 

थप परमाणु परीक्षणको खतरा ?

उत्तर कोरियाले सन् २०१७ यता फेरि आणविक परीक्षण पुनः सुरु गर्ने तयारी गरिरहेको सन्दर्भमा यस्तो कानुन आएको छ ।   प्योङयाङले सातौं आणविक परीक्षण गर्ने तयारी गरिरहेको बेला वासिङ्टन र सियोलले त्यसो नगर्न चेतावनी दिइरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप