बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

चिकित्सा शिक्षा अध्ययनमा अर्को समस्या : भर्ना भएर पनि पढ्न पाउँदैनन् विद्यार्थी

शुक्रबार, २४ भदौ २०७९, १८ : ३२
शुक्रबार, २४ भदौ २०७९

जनकपुरकी एक विद्यार्थीले ब्याचलर अफ पब्लिक हेल्थ (बीपीएच) पढ्न विराटनगरको इडेनवर्ग इन्टरनेशनल कलेज छनोट गरिन् । चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत प्रवेश परीक्षा (इन्ट्रान्स) मा छात्रवृत्तिमा उनले नाम निकालेकी थिइन् । तर, कलेजले विद्यार्थी कम भर्ना भएको भन्दै पढाउन मानेको छैन । कलेजले पढाउन नमान्दा उनी के गर्ने भन्नेमा अन्योलमा छिन् । कलेजले यो आफ्नो सरोकारको विषय नभएको भन्दै पन्छिने गरेको छ ।

अरु कलेजमा २० गतेबाट नै पढाई सुरू भइसकेको छ । तर, आफूले पढ्ने कलेजमा पढाई सुरू गर्नुको साटो विद्यार्थीलाई झुलाउने काम गर्दै आएको उनको आरोप छ ।

ती विद्यार्थीले भनिन्, ‘हामीलाई अर्को कलेजमा मर्ज गरेर पढ्ने वातावरण बनाईदिनुहोस् भन्दा युनिभर्सिटीलाई भन्नुहोस् भन्छ । यता डीनसँग कुरा गर्दा त्यसको व्यवस्थापन कलेजले गर्नुपर्ने हो भन्नुभयो ।’ आफूसँगै नाम निकालेका अन्य साथीहरूको पढाई सुरू भइसकेको तर, आफ्नो भने भर्नाकै टुङ्गो नलागेको उनले बताइन् ।

उनले पढ्न खोजेको कलेजमा ४ जना मात्र विद्यार्थी छन् । त्यो पनि छात्रवृत्ति कोटाका मात्र । पेईङ (शुल्क तिरेर पढ्ने) विद्यार्थी एउटा पनि भर्ना भएनन् । जसले गर्दा कलेजले नपढाउने भनेको उनको भनाइ छ ।

कलेजमा विद्यार्थी अपुग भएको खण्डमा अर्को कलेजमा मर्ज गर्ने अधिकार सम्बन्धित कलेजहरूलाई हुन्छ । तर, कलेजले आफ्नो सरोकारको विषय नभएको भन्दै पन्छिने गरेको उनको भनाइ छ । इडेनवर्ग पूर्वाञ्चल विश्वविद्यालयद्वारा मान्यताप्राप्त कलेज हो । विश्वविद्यालयले भने समापन म्याचिङ (¥याप–अप म्याचिङ) को नतिजा आएपछि मात्रै समस्यामा परेका विद्यार्थीलाई मर्ज गरेर व्यवस्थापन गर्ने भनेको छ ।

सप्तरीको राजविराजमा रहेको युनियन मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा पनि त्यस्तै समस्या छ । बीपीएचमा ४० सिट क्षमता रहेको उक्त कलेजमा ४ जनामात्र विद्यार्थी भर्ना भएका छन्, त्यो पनि छात्रवृत्ति कोटाका मात्र । जसले गर्दा कलेजले विद्यार्थी नपढाउने भनेको छ ।

राष्ट्रिय चिकित्सा शिक्षा आयोगले १९ भदौबाट कक्षा सञ्चालन गर्न भनेको थियो । तर, त्यो कलेजले अहिलेसम्म पनि पढाई सुरू गर्न सकेको छैन ।

कलेजले विद्यार्थी नपुगेका कारण पढाउन नसक्ने जनाएको एक विद्यार्थीले बताए । यो कलेजमा गत वर्ष पनि यस्तै समस्या भएको थियो । विद्यार्थीहरू आन्दोलनमै उत्रिएपछि अर्को कलेजमा मर्ज गरेर पढ्न पठाइएको थियो ।

कलेजले यो वर्ष भर्ना हुन आएका विद्यार्थीहरूलाई अर्को कलेजमा जान भनिसकेको छ । ‘अहिले कलेजले सधैँ छात्रवृत्तिका विद्यार्थी मात्र पढाएर हामीले कसरी कलेज चलाउने भनेर हामीसँग प्रश्न गर्न थालेको छ,’ ती विद्यार्थीले रातोपाटीसँग भने ।

पूर्वाञ्चल विश्वविद्यालयले भने ‘र्याप–अप’ सकिएपछि मात्रै मर्जबारे प्रक्रिया अगाडि बढाउने बताएको छ । पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत बीपीएचमा यस्तो समस्या देखिएको छ । पोखरा विश्वविद्यालयमा पनि यस्तै समस्या देखिएको छ । विशेषगरी काठमाडौं बाहिरका जिल्लाहरूमा विद्यार्थी कम हुने र कलेजले पढाउन नमान्ने समस्या देखिएको हो ।

पोखरा विन्दवासिनीकी एक छात्राले बीपीएच पढ्न पोखराको ला ग्रान्डी इन्टरनेशनल कलेज छानिन् । भर्ना भएर २ लाख ५९ हजार रूपैयाँ विश्वविद्यालयको खातामा समेत जम्मा गरिन् । तर, उनले पढ्न पाएकी छैनन् । विद्यार्थी थोरै भयो भनेर कलेजले नपढाउने भनेको उनको भनाइ छ । उनलाई कलेजले अन्य कलेजमा गएर पढ्न र त्यसका लागि पत्र लेखिदिने भनेको छ ।

‘विद्यार्थी कम भएर थोरै विद्यार्थीलाई मात्र पढाउन सक्दैनौं, अन्य कलेज जानु भन्नुभयो । घर नजिकै भएकाले त्यही कलेज छानेको थिएँ । अहिले आएर अन्योलमा पारिदियो,’ ती छात्राले भनिन् । यो विषयमा विद्यार्थीहरुले पोखरा विश्वविद्यालयमा सम्पर्क गरेका थिए । विश्वविद्यालयले केही दिन कुर्न भनेको उनीहरुको भनाइ छ ।

‘सेन्ट्रल कलेजमा पनि ४ सिट खाली छ । सुरुमा २० गतेसम्म कुर्न भनेको थियो । अहिले आएर ¥याप–अपसम्म कुर्न भनेको छ । त्यो बेलासम्म सिट खाली भयो भने मात्र पढ्न पाउँछौँ । खाली भयो भने पढ्न पाउँछौ भनेको छ,’ ती विद्यार्थीले भनिन् ।

आफ्नो घर पायक पर्ने क्षेत्र रोजेका विद्यार्थीहरूलाई विद्यार्थी भर्ना कम भएको बहानामा कलेजहरुले अन्यत्र जान भनिरहेका छन् । आफूसँगैका साथीहरू धमाधम पढ्न थालेको तर, आफूले कुन कलेजमा पढ्न पाउने भन्ने नै टुङ्गो नभएको विद्यार्थीहरूको गुनासो छ । 

चिकित्सा शिक्षा संघर्ष अभियानका संयोजक मनिष भट्टराईले चिकित्सा शिक्षा आयोग, सम्बन्धित विश्वविद्यालय र सम्बन्धित कलेज विद्यार्थीको भविष्यमाथि खेलबाड गर्न लागिपरेको बताए । ‘पोखरा विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा पढ्न पठाएका विद्यार्थीहरूलाई कलेज पढ्न नदिएको देखियो । चिकित्सा शिक्षा आयोगले प्राथमिकताको आधारमा पठायो । ती विद्यार्थीहरूले पहिलो किस्ता तिरेर कलेजमा भर्ना भए । तर, अन्तिममा पढ्न पाएनन्,’ उनले भने ।

यसको दीर्घकालीन समाधानको उपाय नखोजी मर्जको विकल्प दिने गरेको उनको भनाइ छ । ‘गत वर्ष पनि यो समस्या आएको थियो । अनि मर्ज गरेर पढाएका थिए । विद्यार्थीले आफ्नो पायक पर्ने कलेज छनोट गरेका हुन्छन् । मर्ज गरेर अर्को ठाउँ पठाउँदा विद्यार्थी मर्का परिरहेका छन्,’ संयोजक भट्टराईले भने ।

प्राथमिकताको आधारमा पोखरा घर भएको विद्यार्थीले पोखरा नै पढ्न पाउने भनेर त्यहीँको कलेज छनोट गरेको हुन्छ । तर, अन्तिमा कलेजले विद्यार्थी कम भएकाले नपढाउने भनेपछि उनीहरू अर्को कलेज जानुपर्ने बाध्यता देखिएको उनको भनाइ छ ।

पूर्वाञ्चल विश्वविद्यालयले यही भदौ २२ गतेभित्र भर्ना प्रक्रिया पूरा गर्न नोटिस जारी गरेको थियो । पूर्वाञ्चल विश्वविद्यालयका युनिक र इडेनवर्गबाहेक कोशी हेल्थ साइन्स, सप्तऋषि कलेज लगायतका कलेजले विद्यार्थी कम भएको भन्दै पढाउन नमानेका हुन् ।

पोखरा विश्वविद्यालय अन्तर्गतको भने ला ग्राण्डी कलेजले विद्यार्थी पढाउन मानेको छैन । अन्य केही कलेजले मर्ज गरेर भए पनि पढाई सुरू गरिसकेका छन् ।

पोखरा विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकायका डीन डा. अमर नागिलाले मर्ज गरेर अर्को कलेजमा पढाउने तयारी भइरहेको बताए । ‘१/२ वटा कलेजमा यस्तो समस्या देखियो । हामी मर्ज गरेर अर्को कलेजमा विद्यार्थी पढाउने गरी तयारी गरिरहेका छौं,’ डीन डा. नागिलाले भने ।

त्यस्तै पूर्वाञ्चल विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकायका डीन होमनाथ निरौलाले अहिले विद्यार्थी नपढाउने कलेजको विवरण संकलन गर्ने काम भइरहेको बताए । ‘कति कलेजमा विद्यार्थी भर्ना भएका छैनन् । हामी विवरण संकलन गरेर विद्यार्थी अपुग रहेका कलेजमा पढाउने वातावरण मिलाउँछौँ,’ उनले भने ।

यो कलेज र चिकित्सा शिक्षा आयोगको सरोकारको विषय भए पनि आफूहरूले सहजीकरण गरिदिने उनको भनाइ छ । ‘आयोगले नतिजा निकाल्छ । कलेज छनोट गरेर विद्यार्थीहरूलाई पढ्न पढाउँछ । तर, विद्यार्थी कम भएको भन्दै पढाउन नमानेपछि हामीले भन्दा पनि आयोगले हो यो विषयमा ध्यानाकर्षण गर्नुपर्ने,’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप