बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गठबन्धनबाट जसपा बाहिरिए लोसपालाई ‘चिट्ठा’ !

शुक्रबार, २४ भदौ २०७९, १८ : १०
शुक्रबार, २४ भदौ २०७९

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले सत्ता गठबन्धन छाड्ने घुर्की दिन थालेसँगै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाललाई रणनीतिक लाभ हुने देखिएको छ । यतिबेला लोसपा नेपाललाई नेकपा एमालेले आफ्नो पक्षमा पार्न प्रयास गरिरहेको छ । सत्तारुढ गठबन्धनबाट जसपा बाहिरिएको अवस्थामा स्वाभाविक रुपमा गठबन्धनले पनि लोसपालाई नै भित्र्याउने प्रयास गर्ने निश्चित छ । किनकि नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा यसअघि नै गठबन्धनमा लोसपालाई भित्र्याउन प्रयासरत थिए ।

जसपाले साथ छाडेको अवस्थामा देउवाले लोसपालाई ल्याउन फेरि एक पटक जोडबल गर्ने बताइन्छ । यसअघि जसपाकै कारण लोसपालाई गठबन्धनमा ल्याउने बाटो छेकिएको थियो । सिट बाँडफाँटमा कुरा नमिलेपछि जसपाले केही दिनदेखि गठबन्धन छाड्ने धम्की दिँदै आएको छ । उसले देशभरमा प्रतिनिधिसभामा ३० र प्रदेशसभामा ६० सिट माग गरेको छ । जसपाले प्रतिनिधिसभातर्फ ३२ सिट रहेको मधेस प्रदेशमा मात्र कम्तीमा २० र प्रदेशसभातर्फ ३० सिट पाउनुपर्ने दाबी गरेको छ ।

जसपाले अत्यधिक सिटमा दाबी गरेको भन्दै गठबन्धनभित्रका प्रमुख घटकले पनि जसपाको विकल्पमा लोसपालाई भित्र्याउन पहल थालेका छन् । कांग्रेसका लागि सिट बाँडफाँटमा जसपाभन्दा लोसपा सजिलो छ । लोसपाले पनि पाँच दलीय गठबन्धनमै जाने भनेर अन्य दलसँग खासै छलफल गरेको छैन । गठबन्धनका लागि लोसपाले एमालेसहित जनमत पार्टी, जनता प्रगतिशील पार्टी, नागरिक उन्मुक्ति पार्टीसँग छलफल गरे पनि कुनै सहमति गरिसकेको छैन ।

लोसपाले सत्तारुढ गठबन्धनमा स्थान नपाए एमालेसँग तालमेल गर्ने गरी विकल्पलाई खुला राखेको छ । यद्यपि, प्रधानमन्त्री देउवाले अझै पनि प्रयास गर्ने भन्दै लोसपालाई थामथुम पारिरहेका छन् । बिहीबारमात्र एमाले र लोसपाबीच गठबन्धनका लागि कुराकानी भएको थियो । लोसपाको ढुलमुले अवस्था देखेर एमालेले आफ्नो निष्कर्ष सुनाएको छैन ।

जसपाले गठबन्धन छाड्ने घुर्की दिन थालेपछि त लोसपा झन् पाँच दलीय गठबन्धनतिर नजर जमाएर बसेको छ । तर लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारीले आफूहरु गठबन्धनका लागि मरिहत्ते गर्ने अवस्थामा नरहेको दाबी गरे । उनले भने, ‘जे कारणले उपेन्द्रजी गठबन्धन छाड्न चाहनु भएको छ, त्यही अवस्था लोसपासँग हुँदैन भन्ने के ग्यारेण्टी छ ?’

उनले जसपासँग गठबन्धनभित्र सिटमा कुरा नमिलेको अवस्थामा लोसपासँग सहजै मिल्छ भनेर विश्वास गर्न नसकिने बताए । भण्डारीले पाँच दलीय गठबन्धनमा जानका लागि लोसपा नहतारिएको बरु कांग्रेसले नै लोसपासँग पटक पटक लोकतान्त्रिक गठबन्धन बनाउँ, सँगै जाउँ भनेर प्रस्ताव गरेको सुनाए ।

एमालेसँग पनि लोसपाको छलफलले निष्कर्ष निकालिसकेको छैन । भण्डारीका अनुसार दुवै दलका नेताले चुनावी तालमेलका लागि आआफ्नो तरिकाले कुरा गरे पनि एमाले–लोसपाबीच गठबन्धनकै लागि भनेर हालसम्म औपचारिक कुरा भएको छैन ।

उनले भने, ‘काँग्रेस र एमाले दुवै दलले लोसपासँग गठबन्धनको विषयमा कुरा गरिरहेका छन्, तर मेरो चाहना भनेको लोसपा, जसपा, जनमत, जनता प्रगतिशील पार्टी, नागरिक उन्मुक्ति पार्टी र तमलोपाबीच गठबन्धन होस् भन्ने छ ।’

भण्डारीका अनुसार ठुला दलसँग गठबन्धन गर्दा लोसपालाई त्यति फाइदा हुने छैन । उनले भने, ‘कांग्रेस, एमालेका मतदाताले मधेसवादी दललाई मत दिँदैनन्, मधेसवादी दलको बीचमा मात्र गठबन्धन भयो भने कांग्रेस र एमालेसँग गठबन्धन गर्दाभन्दा बढी सिट आउन सक्छ ।’ कांग्रेस वा एमालेसँग गठबन्धन भयो भने जसपा र लोसपालाई थ्रेसहोल्ड कटाउन पनि मुस्किल हुने उनको बुझाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप