विजयको प्रतीक पर्व : इन्द्रजात्रा

person explore access_timeभदौ २४, २०७९ chat_bubble_outline0

इन्द्रजात्रालाई विजयको पर्वको रुपमा मनाइन्छ । प्राचीन कालमा देवता र असुरको बिचमा ठुलो युद्धको भएको थियो । त्यस युद्धमा भाग लिन त्रिदेव र देवगणले एक ध्वजा बनाइ  विभिन्न पूजाआजा गरी इन्द्रलाई हस्तान्तरण गरेका थिए । उक्त ध्वजा लिएर इन्द्र युद्ध गर्न गए र विजय प्राप्त गरी फर्किए । यसैले इन्द्रजात्रालाई विजयको प्रतीक पर्वको रुपमा मनाइन्छ । इन्द्रजात्रामा उठाइने इन्द्रध्वजाको पनि विशेष महत्व रहदै आएको छ ।


यसरी असुरहरुमाथि देवताहरुको विजयको प्रतीकको रुपमा यो पर्व मनाइन्छ । यस विजयपछि नै इन्द्रध्वज पूजा र समारोहले निरन्तरता पायो । स्वर्गलोक र पृथ्वीलोकमा समेत यस विजयको कामनाले राजा महाराजाहरुले इन्द्रध्वज स्थापना गर्न थाले ।



अर्को कथन छ, पृथ्वीका राजा उपचिर  वसुलाई  स्वर्गका  राजा देवराज इन्द्रले इन्द्रध्वजा दिएपछि उनले युद्धमा सजिलै विजय प्राप्त गरेका कुराहरुले यो पर्वप्रति सबैको आस्था र विश्वास जाग्यो । त्यसैले राजाहरुले आफ्नो राज्यमा सुख र समृद्धिको लागि इन्द्रध्वजा स्थापना गर्ने परम्पराको सुरुवात भयो ।



यस पर्वको सुरुवात दसौं शताब्दीका लिच्छवि राजा गुणकामदेवले गरेको कुरा इतिहासमा उल्लेख छ । यसै जात्राअन्तर्गत मनाइने कुमारी जात्राको प्रचलन भने अठारौं शताब्दीदेखि भएको मान्यता छ । 

इन्द्रजात्रासँग सम्बन्धित मुख्य किम्बदन्तीअनुसार स्वर्गका राजा इन्द्र आफ्नी आमालाई बसुन्धरा देवीको ब्रतको निम्ति आवश्यक पारिजातको फूल र कर्कलो लिन काठमाडौं आई बगैंचाको मालीलाई सोध्दै नसोधी चोर्न गएछन् । चोर्न लाग्दा स्थानीयले आफ्नो तन्त्र शतिmको सहायताले इन्द्रलाई बाँधेर पाता कसेर बिच सडकमा राखेछन् । यसपछिको दृष्यसहित मूर्ति सहितको प्रदर्शन गरेको लोककथन छ ।

काठमाडौंको इन्द्रचोक, किलागल, नरदेवीमा बाँधिएको इन्द्रको मूर्तिलाई अग्लो डबलीमा प्रदर्शन गरिन्छ । यसरी आफ्नो खातिर गएका छोरालाई फर्काउन छोराको सट्टा कुहिरो दिने बाचा गर्छिन् इन्द्रकी आमाले ।  त्यसैले यस समय लाग्ने कुहिरो त्यही  कुहिरो हो भनी मानिन्छ, जसले धान समयमै पाक्न सहयोग गर्ने गरेको छ ।  इन्द्रलाई वर्षा वा सहकालका देवता मानिन्छ ।

यस जात्राका विशेष पक्षमा कुमारी जात्रा, इन्द्र ध्वजा, गणेश र भैरवको जात्रा रहेका छन् । यस जात्रामा विशेष गरी विभिन्न देवीदेवताको मुकुण्डो पहिरिई नाचगान गरिन्छ । यस नाचगानमा नेवार समुदायका विभिन्न गुठी र समूह  सहभागी हुन्छन् ।

इन्द्रजात्रामा उठाइने लिङ्गोका लागि तान्त्रिक विधिअनुसार तयार पारेको कालो बोकालाई काभ्रेको उग्रचण्डी नालाको जंगलमा छोडिन्छ । त्यस बोकाले पहिला जुन रुखलाई छुन्छ, त्यही रुख काटेर ल्याई एकादशीका दिन  विधिपूर्वक लिङ्गो तयार गरिन्छ । यसरी तयार भएको  लिङ्गोलाई बसन्तपुर हनुमान ढोका अगाडिको कालभैरवको मूर्ति अगाडि तान्त्रिक विधिअनुसार विशेष पूजाआजा पछि लिङ्गो उठाइन्छ र इन्द्रध्वजोस्थापना सम्पन्न हुन्छ । यसपछि विधिवत रुपमा इन्द्रजात्रा सुरु हुन्छ ।

यसरी स्थापना गरिएको इन्द्रध्वजामा विभिन्न किसिमका ध्वजापतका र चिह्नले सजाइएको हुन्छ । जसरी भक्तपुरमा मनाइने विस्केट जात्रामा उठाइने लिङ्गोको पताकामा नाग र नागिनी अंकित गरिएको हुन्छ । त्यसरी विधिपूवर्क लिङ्गो उठाए पछि पुजाआजा सुरु हुन्छ  ।

इन्द्रध्वजा उठाउने बेलामा विभिन्न किमिसका मंगलधुन बजाइन्छ । यसै अवसरमा वर्षमा एकपटक मात्र हनुमानढोका दरवार क्षेत्रमा अवस्थित श्वेत भैरवको मन्दिर सर्वसाधारणको पूजाको लागि खोलिन्छ । लिङ्गोको फेदमा इन्द्रको प्रतिमा राखिएको हुन्छ, भतmजनले विशेष श्रद्धा भक्तिका साथ इन्द्रको पूजा गर्ने गर्दछन् । 

लिङ्गो उठाएको ३ दिनपछि बसन्तपुर दरबार क्षेत्रमा जीवित देवी कुमारी, गणेश र आकाश भैरबको पूजा र रथयात्रा गर्ने परम्परा छ । यस जात्रामा कुमारीसहित गणेश र भैरवलाई रथमा राखी काठमाडौंको पुरानो कान्तिपुर नगरीको तल्लो भागको आधा परिक्रमा गराउने गर्दछन् । यो यंलाथ्व चतुर्दशीका दिन गरिन्छ र यसलाई नेवारीमा क्वहने याः भनिन्छ । 

८ दिनसम्म काठमाडौंको आकाश भैरव, भक्तपुरको महाकाली नाच, दश अवतार, साथै इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकको रुपमा पुलुकिसी नाच नचाउने चलन रहिआएको छ  । यसै अवसरमा काठमाडौंको इन्द्रदहमा विशेष मेला लाग्छ । यो मेला भर्न आउने भक्तजन रातभर जाग्राम बसी विहान इन्द्रदहमा स्नान गरी मेला भर्दछन् ।

यस पर्वका अवसरमा विशेष गरी नेवार समुदायले  विभिन्न परिकारसहित तयार पारेको सम्मेबजी खान्छन् । इन्द्रजात्राको अन्तिम दिन नानिचा याः भनेर गणेश, भैरव र कुमारीको रथलाई किलागल परिक्रमा गराई  बेलुका साइतमा लिङ्गो ढालेर जात्राको समापन गरिन्छ । नेपाल कृषि प्रधान मुलुक भएकोले पनि इन्द्रलाई विशेष रुपमा पुजिन्छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।