शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

राम्दीमा पक्की पुल बनाउन प्रक्रिया थालियो

शुक्रबार, २४ भदौ २०७९, १० : ४२
शुक्रबार, २४ भदौ २०७९

गण्डकी र लुम्बिनी प्रदेशको सङ्गमस्थल राम्दीस्थित कालीगण्डकी नदीमाथि पक्की पुल बनाउने प्रक्रिया थालिएको छ । सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जा र पाल्पाको सीमामा हाल रहेको पुल जीर्ण भएपछि नयाँ पुल बनाइने भएको हो ।

वि.सं २०२८ मा भारतले निर्माण गरिदिएको ‘स्टिल ट्रस’ पुल जीर्ण हुँदै जाँदा ठूला भारवहन क्षमताका सवारीसाधन आवतजावतमा रोक लगाई नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता भएको हो । हाल सञ्चालनमा रहेको ९३ मिटर लामो पुलभन्दा पाँच–सात मिटर तल अर्को पुल बनाउने गरी सडक विभाग पुल महाशाखाले सर्भे सम्पन्न गरिसकेको छ । ठेक्का प्रक्रिया अगाडि बढिसकेको पुल विभाग पुल सेक्टर पोखराका आयोजना प्रमुख एवं सिनियर डिभिजनल इञ्जीनियर नवराज बाँस्तोलाले जानकारी दिए ।

बोलपत्र आह्वान गरी २०७९ असार ३० गते हिम सगरमाथा कन्स्ट्रक्सनसँग पुल निर्माणका लागि सम्झौता भएको हो । “सम्झौता भएको मितिले तीन वर्षभित्र निर्माण सम्पन्न गरिसक्नुपर्छ”, उनले भने, “कुल रु २७ करोड ७१ लाखको लागतमा निर्माण सक्ने गरी सम्झौता भएको छ ।” पुल एक सय आठ मिटर लम्बाइ र ११ मिटर चौडाइको हुने छ । पुलको दायाँबायाँ झण्डै डेढ मिटरको फुटपाथ रहने छ । उक्त पुलको ४० टनसम्मको भारवहन क्षमता रहने छ । 

सम्झौता भएको मितिले नौ महिनाभित्र अर्थात् आगामी चैत मसान्तसम्म डिजाइन स्वीकृत गरिसक्नुपर्ने छ । निर्माणस्थलको माटो परीक्षण गरिसकिएको छ भने चैत मसान्तभित्र नै निजी जग्गामा बनेका घर–टहरा खाली गरी क्षतिपूर्ति दिइने उनले बताए । उक्त पुल जीर्ण र पुरानो भएकाले चार–पाँच वर्षदेखि अधिकतम १० टन भारवहन क्षमताका सवारीसाधनलाई मात्रै सामान ढुवानी गर्न दिइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप