सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

बारा कांग्रेसमा पुरानै अनुहार

बिहीबार, २३ भदौ २०७९, १५ : ४९
बिहीबार, २३ भदौ २०७९

आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि बाराको ४ वटा निर्वाचन क्षेत्र मध्ये ३ वटा क्षेत्रमा पुनः पुरानै अनुहार सिफारिस भएको छ । बारा क्षेत्र नम्बर २ मा ७ दशक उमेर नाघेका पूर्व सांसद राधेचन्द्र यादव, क्षेत्र नं ३ मा ७ दशक नजिक (६९ वर्ष) पुगेका पूर्वमन्त्री तथा कांग्रेस सहमहामन्त्री फरमुल्लाह मन्सुर र बारा क्षेत्र नं १ मा ६ दशक उमेर काटेका उमाकान्त चौधरीको एकल नाम सिफारिस भएको छ । 

आगामी निर्वाचनको लागि यादव र मन्सुर ७ औ पटक र चौधरीको नाम पाँचौपटक सिफारिस भएको हो । यसअघि भएका संविधानसभा सदस्य, प्रतिनिधिसभा सदस्य र मध्यावधि निर्वाचनमा ३५ वर्षदेखि यादव र मन्सुरले भाग लिँदै आएका छन् । 
कांग्रेस सहमहामन्त्री मन्सुर बारा क्षेत्र नं ३ र ४ बाट ६ पटक र यादवले क्षेत्र नं २ बाट मात्रै ६ पटक निर्वाचनमा भाग  लिइसकेका छन् । जसमध्ये दुवैजना २÷२ पटक चुनाव जितेका थिए । पूर्वश्रम तथा रोजगार र विज्ञान प्रविधिमन्त्री भएका मन्सुर यसपटक पनि पार्टीले टिकट दिए निर्वाचनमा जाने बताउँछन् ।

‘क्षेत्रीय समितिले मेरो एकल नाम सिफारिस त गरेको छ हेरौँ अब पार्टीले टिकट दियो भने निर्वाचनमा जाने मेरो विचार छ,’ सहमहामन्त्री मन्सुरले भने । सहमहामन्त्री मन्सुरको नाम मुस्लिम कोटाबाट पनि समानुपातिकतर्फ सिफारिस भएको छ । 

कांग्रेस महासमिति सदस्य कृष्णब्रत सिंह पुराना नेताहरुलाई योगदानका आधारमा पार्टीले सामानुपातिकतर्फ समेट्नुपर्ने बताउछन् । यता क्षेत्र नं १ मा एकल नाम सिफरिस भएका उमाकान्त चौधरी बहालवाला संघीय सांसद र खानेपानी तथा सरसफाई मन्त्री हुन्  ।

पार्टीभित्र सत्ता पक्ष निकट रहेका मन्सुर र चौधरी २÷२ पटक मन्त्री भइसकेका छन् ।  ७० वर्ष उमेर काटेका पूर्व सासंद राधेचन्द्र यादव भने लामो समय जिल्ला सभापति र पार्टी केन्द्रीय सदस्य भए । हाल उनकै छोरा राजेश राय यादव कांग्रेस बारा जिल्ला सभापति छन् । 

कांग्रेसका नेता तथा क्षेत्र नं ३ (क) का दावेदार रामानन्द यादवले ६ दशक नाघेका पुराना नेताहरु दोहोर्याएर पार्टीले बारा जिल्लामा एउटा पनि सिट नजित्ने टिप्पणी गरे । बाराको ४ वटा संघीय र ८ वटा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र मध्ये २०७४ को निर्वाचनमा क्षेत्र नं १ मा उमाकान्त चौधरी मात्रै निर्वाचित भएका थिए । 

क्षेत्र नं ३ मा फरमुल्लाह मन्सुर तत्कालीन संघीय समाजवादी फोरमका रामबाबु यादवसँग पराजित भए भने क्षेत्र नं २ मा पूर्व सांसद राधेचन्द्र यादव संघीय समाजवादी फोरमकै रामसहाय यादवसँग पराजित भएका हुन् । मन्सुर, चौधरी र यादव बाहेक क्षेत्र नं ४ मा भने शोभाकर पराजुली, सुनिल कुमार गुप्ता,लालबाबु सिंह, कृष्णब्रत सिंह र राजेश्वर प्रसाद चौरसियाको नाम जिल्ला कार्यसमितिले सिफारिस गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप