बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

अब डिजिटल पूर्वाधारमा ध्यान दिनुपर्छ : डा.वाग्ले

बिहीबार, २३ भदौ २०७९, १४ : ३६
बिहीबार, २३ भदौ २०७९

पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाले नेपालमा सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडल पूर्वाधार निर्माणका लागि राम्रो भएपनि नेपालमा सफल हुन नसकेको बताएका छन् ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलन २०२२ को ‘इन्फ्रास्ट्रक्चर फर  ग्रोथ– दी बिग पिक्चर पोस्ट कोभिड सिनारियो’ सत्रमा डा.खतिवडाले यस्तो धारणा राखेका हुन् । दुई कारणले यो मोडल नेपालमा सफल नभएको उनको धारणा छ ।

‘पहिलो त साझेदारी भन्ने वित्तिकै इमानदारिता चाहिन्छ, जुन दुवैतिर उत्तिकै हुनुपर्छ, तर नेपालमा यस्तो भइरहेको छैन, अर्काे भनेको हाम्रा कयौं कानून समय सान्दर्भिक छैनन्’ डा. खतिवडाले भने । लगानी आकर्षित गर्न कयौं कानूनी सुधार भएपनि धेरै कुरामा अझै सुधार हुन बाँकी रहेको उनको भनाई छ ।

अर्थतन्त्रलाई गतिशील बनाउन पूर्वाधार पहिलो शर्त भएपनि यसमा बृहत अध्ययन तथा अनुसन्धान, लक्ष्य निर्धारण, जोखिम तथा लाभको हेक्का राख्नुपर्ने राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) का वरिष्ठ आर्थिक सल्लाहकार अर्थशास्त्री डा.स्वर्णिम वाग्लेले बताए । शासकीय सनकको भरमा अपारदर्शी पूर्वाधार निर्माणबाट बच्नुपर्ने अहिलेको टड्कारो आवश्यकता रहेको भन्दै डा. वाग्लेले भविष्यमुखी पूर्वाधार निर्माणमा नेपालले कदम चाल्नुपर्नेमा जोड दिए ।

‘पहिलोदेखि तेस्रो औद्योगिक क्रान्तिसम्म नेपालले पर्याप्त काम गरेको छैन, हरेक औद्योगिक क्रान्तिबाट संसारका धेरै देशले लाभ लिएपनि नेपालले यसमा लाभ लिन सकेको छैन, अहिलेको चौथो औद्योगिक क्रान्ति जुन एआई, सूचना प्रविधि, मसिन लर्निङको उदय भएको छ, यस्ता डिजिटल पूर्वाधारमा ध्यान दिन आवश्यक छ’ डा.वाग्लेले भने ।

कोरोना महामारीकालमा एसियाली क्षेत्रका देशहरूले १.७ ट्रिलियन अमेरिकी डलरभन्दा बढी गुमाएको एसियाली विकास बैंकले अनुमान गरेको छ । एकातिर महामारीको क्षति अर्कातिर आधुनिक पूर्वाधारमा गर्नेपर्ने लगानीको दबाब रहेकाले पूर्वाधार निर्माणमा निजी क्षेत्रको सहभागिता आवश्यकता बढ्दै गएको छ । पूर्वाधार निर्माणमा निजी क्षेत्रको सहभागिता एसियाली क्षेत्रमा बढ्दै गएको एडीबीका उपाध्यक्ष अशोक लभासाले बताए ।

कोरोना महामारीकालमा एकातिर राजस्व घटेको र अर्कोतिर महामारी नियन्त्रणका लागि सरकारले गर्नुपर्ने खर्चका कारणले नेपालको सार्वजनिक ऋण बढ्दै गएको छ । यही कारणले पनि नेपालले पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई सहभागी गराउनुपर्ने उनको भनाई छ ।

पूर्वाधारमा हुने लगानी ठूलो रकममा हुन्छ । यसको जोखिम पनि धेरै हुने तर त्यस्तोमा उल्टो हरेक आयोजनामा राजनीतिकरण हुने गरेको लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले बताए ।  ‘निजी लगानी चाहिन्छ भन्ने कुरामा हामी सबै सहमत छौं तर, यहाँ जुन खालको राजनीतिकरण हुन्छ यो माइन्डसेट परिवर्तन हुन आवश्यक छ’ पूर्व प्रमुख कार्यकारी अधिकृत पन्तले भने ।

पूर्वाधार निर्माणमा लगानीका लागि स्रोतको अभाव तथा निजी क्षेत्रको अनिच्छा भन्दा पनि सरकारी नीति नियमकै कारण अवरोध भइरहेको नेपाल उद्योग परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले बताए । अनुमानयोग्य नीतिको अभावमा कयौं पूर्वाधारका परियोजना प्रभावित भएको उनको भनाई छ ।  

विकासका लागि आवश्यक पूर्वाधारको प्रकृति र प्राथमिकता परिवर्तन भएको विज्ञहरूले बताएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलन २०२२ को ‘इन्फ्रास्ट्रक्चर फर  ग्रोथ– दी बिग पिक्चर पोस्ट कोभिड सिनारियो’ सत्रमा विज्ञहरूले बदलिँदो परिवेशमा पूर्वाधारको प्राथमिकता र त्यसको माग गर्ने लगानीको मागमा फरकपन आएको बताए ।  

कोभिड महामारीले अहिलेसम्मका पूर्वाधार, त्यस्ता पूर्वाधार निर्माणमा अपनाइएका मोडल, सहभागिता जस्ता विषयमा पुनर्विचार गर्नुपर्ने अवस्था आएको उनीहरुको भनाई छ । जलवायु परिवर्तन, सामाजिक बृहत्तर हित, सबै लाभान्वित हुने पूर्वाधारको दीर्घकालीन लक्ष्यका प्राथमिकता र प्रकृतिमा परिवर्तन आएसँगै यसले धेरै लगानीको माग गर्ने विज्ञहरूको भनाइ छ । 

सीमित सरकारी स्रोत साधनबाट राज्यका अन्य अनिवार्य दायित्व पूरा गर्नकै लागि अपर्याप्त हुँदै गएको समयमा सार्वजनिक पूर्वाधार निर्माणमा निजी क्षेत्रको सहभागिता आवश्यक रहेको उनीहरूले वताए । तर यसका लागि सरकारले बनाउनुपर्ने नियामकीय व्यवस्था, निजी क्षेत्रको भरोसा जाग्ने वातावरणको निर्माण आवश्यक रहेको उनीहरुको मत छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप