बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

आयात नरोकिए चरणबद्ध आन्दोलन गर्ने केरा किसानको चेतावनी

बिहीबार, २३ भदौ २०७९, १४ : १६
बिहीबार, २३ भदौ २०७९

जिल्लाका केरा उत्पादक कृषकले भारतीय केराको आयात नरोकिए आन्दोलन गर्ने चेतावनी दिएका छन् । नेपाल केरा उत्पादक सङ्घ चितवन शाखाले विज्ञप्ति जारी गर्दै भदौ २९ गतेसम्ममा भारतीय केरा आयात नरोकिए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको हो । सङ्घका अध्यक्ष माधवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा केरामा आत्मनिर्भर बन्न लागेका कृषकलाई भारतीय केराको आयातले निरास बनाएको जनाइएको छ ।

जिल्लामा ७० हजार मेट्रिक टन वार्षिक केरा उत्पादन हुँदै आएको सङ्घले जनाएको छ । भारतीय केराको आयात नरोकिए जिल्लाका केरा व्यवसायी चरणबद्ध आन्दोलन गर्ने सङ्घले जनाएको हो । सरकारले केरा आयात गर्दा एलसी खोलेर मात्र ल्याउन पाउने नियम बनाएको भए पनि विभिन्न नाकाबाट बिना एलसी भारतीय केरा अवैधरूपमा नेपाल भित्रिने गरेको पाइएको अध्यक्ष घिमिरेले जानकारी दिए । विज्ञप्तिमा भनिएको छ, “यो समस्या समाधान हुन नसके व्यावसायिकतातर्फ उन्मुख कृषक पलायन हुने अवस्थामा पुग्ने छन् ।”

चाडपर्वको समयमा नेपालको उत्पादनले बजार मूल्य नपाउनाले यहाँका कृषक अप्ठ्यारोमा परेको कृषकहरूले बताएका छन् । नेपाल केरा उत्पादक महासङ्घका अध्यक्ष विष्णुहरि पन्तले भारतीय आयात रोक्न नसके जिल्लाको उत्पादन त्यसै फाल्नुपर्ने बताए । नेपालमा छठ पर्वसम्मलाई पुग्ने केरा उत्पादन भएको भन्दै उनले देशभरबाट भारतीय केरा आयात विरुद्धमा आन्दोलनको तयारी भएको बताए । नेपालमा उत्पादित केराले बजार नपाउने अवस्थामा कृषक आन्दोलित बन्नुपरेको महासङ्घले जनाएको छ । नेपालको उत्पादनको २० प्रतिशत केरा चितवनले ओगट्ने गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप