आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

रुपन्देही २ : चुनावी माहोल बनाउँदै नेताहरु, विष्णु पौडेलको प्रतिस्पर्धी को ?

बिहीबार, २३ भदौ २०७९, २२ : २८
बिहीबार, २३ भदौ २०७९

आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तयारीमा राजनीतिक दलका नेता कार्यकर्ताहरु लागिरहेको बेला एमाले उपाध्यक्ष विष्णु पौडेल पनि रुपन्देही क्षेत्र नंं. २ मा चुनाव केन्द्रित कार्यक्रममा सहभागी भइरहेका छन् । पार्टीबाट सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस भएका पौडेलले यो वर्षको हरितालिका तीजदेखि नै चुनावी अभियान थालेका हुन् ।

यसपटक बाहिरी हल्लाखल्ला नगरी उनी घरदैलो अभियानमा लागेको नेताहरुले बताएका छन् । तीजको बेला बुटवलको बेलबासमा महिलाहरुसँग छमछमी नाचेर अभियान सुरु गरेका पौडेल केही दिनअघि बुटवलकी महिला उद्यमी ज्ञानु केसीको टपरी उद्योगमा आधुनिक मेसिनका माध्यमबाट टपरी गाँसिरहेका देखिन्थे । पौडेलले कुर्चीमा बसेर सरासर काम गरिरहेको भिडियो टिकटकमा समेत चर्चित बनेको छ ।

पौडेलका स्वकीय सचिव यम पाण्डेका अनुसार हाल रुपन्देहीमा भइरहेका मुख्य कार्यक्रमहरु पौडेलले छुटाएका छैनन् । चुनावी अभियानकै क्रममा बिहीबार पनि पौडेल बुटवलमै ब्यस्त छन् । उनले पारिवारिक भेटघाटलाई पनि तीव्र पारेका छन् । रुपन्देहीमा पार्टीका कार्यक्रममा उनी व्यस्त रहेको पाण्डेले जनाए ।

यसर्थ पौडेललाई सकस

यसअघि लगातार तीन पटक निर्वाचन जितेको रुपन्देही–२ मा अहिले भने पौडेललाई चुनाव जित्न सहज छैन । तत्कालीन नेकपामा रहँदा अर्थमन्त्री पदको लोभमा लुम्बिनी प्रदेशको राजधानी दाङ सार्न तयार भएर यहाँका ‘जनतालाई धोका दिएको’ भनेर एमालेभित्रै उनको आलोचना हुने गरेको छ ।

बुटवलबाट राजधानी सारेको मुख्य दोष उनलाई लगाउने गरिएको छ । त्यसबाहेक बुटवलका निवर्तमान मेयर शिव सुवेदीले पौडेलको चाहना अनुसार विकासका काम गर्न नसक्दा बुटवलमा पार्टीको पकड खस्किएको एमाले नेताहरुकै बुझाइ छ ।

मुख्यतः बुटवलको ६ लेन सडक विस्तार तथा लक्ष्मीनगरको पहिरो व्यवस्थापनमा उचित समन्वय गर्न नसकेर सुवेदीले पौडेलको बिरासत जोगाउन असफल भएको टिप्पणी हुने गरेको छ ।

अर्कोतर्फ राजधानी सार्ने÷नसार्ने बहसका बेला एमालेका महासचिव शंकर पोखरेलसँग पौडेलेको आन्तरिक मतभेद हुँदा पोखरेलको जित भएको पार्टी कार्यकर्ताको बुझाइ छ । जसका कारण पौडेलका खाँटी कार्यकर्ताले पोखरेललाई साथ दिन थालेका छन् । वैशाख ३० को स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनौटमा पनि पौडेल र पोखरेलको तानातान भएपछि पौडेलले चाहेका उम्मेदवार नै रुपन्देहीमा पछि हट्न बाध्य भएका थिए । यी यावत कारणले यसपटक पौडेललाई चुनाव जित्न सहज छैन । त्यसमा पनि पाँच दलीय गठबन्धनले स्थानीय तहको निर्वाचनमा हासिल गरेको मत परिणाम अनुसार रुपन्देही–२ मा एमालेको तुलनामा गठबन्धन करिब ८ हजार मतान्तरले अगाडि देखिन्छ ।

यी हुन् पौडेलका सम्भावित प्रतिस्पर्धी

रुपन्देही–२ मा गठबन्धनबाट को उम्मेदवार बन्छ भन्ने चासोको विषय छ । गठबन्धन दलको उम्मेदवार अनुसार पनि पौडेलले चुनाव जित्ने या हार्ने भन्नेमा प्रभाव पर्न सक्छ । रुपन्देही–२ मा नेपाली कांग्रेसले गृहमन्त्री बालकृष्ण खाणलाई समेत उम्मेदवार सिफारिस गरेको छ । तर खाण यस क्षेत्रमा आउने सम्भावना न्यून रहेको नेताहरु बताउँछन् । खाणको निर्वाचन क्षेत्र रुपन्देही–३ हो ।

त्यसो त युवा नेता युवराज गिरीसहित केही नेतालाई पनि कांग्रेसले रुपन्देही–२ मा अघि सारेको छ । रुपन्देही २ मा गठबन्धनका दलहरुबाट माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि उम्मेदवारका लागि दाबी गरिरहेका छन् ।

यो क्षेत्रमा माओवादीले नेता विनोद पहाडीलाई उम्मेदवारका लागि एकल सिफारिस गरेको छ भने समाजवादीले राजु गुरुङलाई सिफारिस गरेको छ ।

यस क्षेत्रमा माओवादीका विनोद पहाडीले पनि घरदैलो तथा जनभेटघाटलाई बढाएका छन् । उनी पनि स्थानीयस्तरका कार्यक्रममा सहभागी हुने र पारिवारिक भेटघाटलाई तीव्रता दिएको पाइन्छ । पहाडी दलित आन्दोलनका अगुवा नेता हुन् । पहाडीले भने, ‘रुपन्देहीका पाँचध्ये १ र २ नम्बर क्षेत्रमा माओवादीको दाबी यथावत छ, माथिको निर्णय के आउँछ, हेरौं ।’

रुपन्देही–२ मा आफू उम्मेदवार बन्न पाए जितको बलियो सम्भावना रहेको उनको भनाइ छ । समाजवादीका नेता गुरुङ यसअघि विष्णु पौडेलकै चुनाव कमाण्डर हुन् । एमालेमा रहँदा युवा संघको उपाध्यक्षसमेत बनेका गुरुङ पनि बुटवलका लोकप्रिय युवा नेता हुन् । गुरुङले पनि चुनावी तयारीमा व्यस्त रहेको उल्लेख गरे । उनले भने, ‘रुपन्देही–२ समाजवादीले पाउनुपर्ने दाबी हाम्रो छ, जहाँसम्म माथिबाट पनि यही निर्णय हुन्छ ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप