मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कुखुराको मासु कुन चाहिँ राम्रो ? छालासहित वा छाला रहित ?

बिहीबार, २३ भदौ २०७९, १२ : ३१
बिहीबार, २३ भदौ २०७९

विश्वभरी सबैभन्दा रुचाइने मासु भनेको कुखुराको हो । खाद्य तथा कृषि संगठन (एएफओ) का अनुसार सन् २०२१ मा विश्वभर १३३ करोड टन सेतो मासु खपत भयो । ल्याटिन अमेरिका कुखुराको मासु खपतमा तेस्रो स्थानमा छ । सन् २०१९ मा यहाँ प्रतिव्यक्ति कुखुराको मासुको उपभोग ३२.७० किलो थियो ।

सन् २०२० मा ब्राजिलमा प्रतिव्यक्ति ४०.६ केजी कुखुराको मासु खपत थियो । योसँगै अर्जेन्टिना प्रतिव्यक्ति ४७ केजी चिकनसहित पहिलो स्थानमा थियो । चिकन सामान्यतया सस्तो हुन्छ । यसमा बोसो कम हुन्छ र यो खाने विषयमा निकै कम सांस्कृतिक र धार्मिक प्रतिबन्ध छन् ।

त्यसैले यो सबैभन्दा बढी खाइने मासु बनेको छ । यसका साथै कुखुरामा भरपुर प्रोटिन पाइन्छ र यो भिटामिन र मिनरल्सको पनि महत्वपूर्ण स्रोत हो । यसमा एक निश्चित स्तरसम्म मोनो स्याचुरेटेड फ्याट हुन्छ, जुन मानिसको मुटु र मुटुको स्वास्थ्यका लागि राम्रो हुन्छ ।

तर मानिसहरूको यो निकै मनपर्ने खाना धेरै गलत विश्वास र अशंकाले घेरिएको छ ।

छाला रहित कुखुराको मासु राम्रो कि छाला सहितको ?

उदाहरणका लागि, कुखुराको छालामा धेरै बोसो हुन्छ ।  त्यसैले कुखुराको मासु छालासहित खाने कि छाला बिना खाने भन्ने प्रश्न प्रायः रहन्छ ।

अर्जेन्टिनाको मासु पोषण सूचना केन्द्रकी पोषणविद् मारिया डोलोरेस फर्नान्डिस पेजोसले बीबीसीसँगको कुराकानीमा यसबारे जानकारी दिएकी छिन् । उनी भन्छिन्, ‘कुखुराको छालामा ३२ प्रतिशत फ्याट हुन्छ । अर्थात्, छालासँग १०० ग्राम कुखुराको मासु खाँदा ३२ ग्राम बोसो तपाईंको शरीरभित्र जानेछ ।’

उनले भने, ‘कुखुराको छालामा पाइने बोसोको दुई तिहाइ भाग अनस्याचुरेटेड हुन्छ, जसलाई ‘राम्रो बोसो’ भनिन्छ । यो बोसोले रगतमा कोलेस्ट्रोलको स्तरलाई राम्रो बनाउने काम गर्छ । फ्याटको एक तिहाइ हिस्सा स्याचुरेटेड हुन्छ,  यसलाई ‘खराब बोसो’ पनि भनिन्छ । यसले शरीरमा खराब कोलेस्ट्रोललाई बढाउँछ ।’

पेजोस भन्छन्, ‘यदि हामीले छालासहितको कुखुराको मासु खायौँ भने प्रत्येक भागमा क्यालोरीको मात्रा ५० प्रतिशतले बढ्छ । छालाविहीन कुखुराको ०.१७ किलोको छातीको भाग खायौँ भने हाम्रो शरीरले २८४ क्यालोरी प्राप्त गर्छ । तर छालासहित कुखुराको मासु खायौँ भने ३८६ क्यालोरी प्राप्त हुन्छ ।’

यही कारणले गर्दा शरीर अतिरिक्त क्यालोरी नजाओस् भनेर मानिसहरूलाई कुखुराको छाला रहित मासु खाने सल्लाह दिइन्छ ।

विज्ञहरूका अनुसार यदि स्वस्थ र शारीरिक रूपमा सक्रिय व्यक्ति जसको तौल उसको उचाइको हिसाबले एकदम सही छ भने उसले कुखुराको मासुलाई छालासहित पकाउन सक्छन् । यसले मासुलाई बढि रसिलो बनाउँछ ।

कुखुराको मासुलाई बारम्बार फ्रिज नगर्नुहोस्

एक पटक कुखुराको मासुलाई फ्रिजबाट निकालेपछि, यसलाई फेरि फ्रिज नगर्न सिफारिस गरिन्छ । खानामा सूक्ष्म जीव नबढुन् भन्नका लागि खानालाई फ्रिजमा राखिन्छ । त्यसैले यदि कुखुराको मासुलाई बारम्बार फ्रिजबाट निकाल्नुहुन्छ भने यसमा सूक्ष्म जीव बढ्ने आशंका रहन्छ । त्यसैले कुखुराको मासुलाई पकाइसकेपछि मात्र पुनः फ्रिजमा हाल्नुहोस् ।

कुखुराको मासुलाई डी–फ्रोस्ट गर्ने सबैभन्दा राम्रो तरिका

बरफले जमेको कुखुराको मासुलाई डी–फ्रोस्ट गर्न वा बरफ हटाउनका लागि कोठाको तापक्रममा राख्नु राम्रो मानिँदैन । यसलाई तातो पानीमा हाल्नु पनि सही होइन । कोठाको तापक्रममा राख्दा यसमा सूक्ष्म जीव हुर्किन सक्छ ।

त्यसैले डी–फ्रोस्ट गर्ने राम्रो तरिका भनेको मासु बनाउनु ठिक अघि मात्रै यसलाई फ्रिजरबाट निकाल्नुपर्छ । विशेषज्ञका अनुसार कुखुराको मासुलाई कहिले पनि फ्रिजरबाट निकालेर कोठाको तापक्रममा पग्लिन दिनु हुँदैन ।

कुखुराको मासुमा कुन राम्रो राम्रो ? पहेँलो कि गुलाबी

कुखुराको मासुको रङ कुखुराको आहारको रङमा निर्भर हुन्छ । विज्ञहरूका अनुसार पहेँलो र सेतो–गुलाबी रंगको कुखुराको मासुमा पोषण र अन्य गुण समान छन् ।

कुखुराको मासुलाई विषाक्तताबाट कसरी बचाउने ?

कुखुराको मासु सबैभन्दा पौष्टिक खानामध्ये एक हो र यो धेरै लोकप्रिय पनि छ । तर अक्सर यो खाना विषाक्तताको एउटा स्रोत  नै बन्ने गर्छ ।  क्याम्पिलोब्याक्टर ब्याक्टेरिया काँचो मासुमा हुर्किन सक्छ । कहिले काँही यसमा साल्मोनेला र क्लोस्ट्रिडियम परफ्रिजेन्स पनि बढ्न सक्छ । त्यसैले जब यस्तो मासु राम्रोसँग नपकाइकन खाइन्छ तब फूड पोइजनिङ हुन सक्छ । अन्य काँचो खानाबाट पनि कुखुरामा ब्याक्टेरिया बढ्न सक्छ ।

युएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) को अनुमान अनुसार अमेरिकामा हरेक वर्ष करिब १० लाख मानिस संक्रमित कुखुराको मासु खाएपछि बिरामी पर्छन् ।

बीबीसी

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप