निर्माणाधिन बुटवल-नारायणगढ सडकखण्डको म्याद थप

राष्ट्रिय गौरवका आयोजना अन्तरगत निर्माणाधिन बुटवल—नारायणगढ सडकखण्डको काम समयमा पूरा हुन नसकेपछि फेरि म्याद थप गरिएको छ ।
एक वर्षका लागि सडक विस्तारको म्याद थपिएको हो । म्याद थप गरिएसँगै उक्त सडकखण्ड पूरा हुन अझै एक वर्षसम्म लाग्ने देखिएको छ । सडक नबन्दा पूर्व पश्चिम भएर चल्ने सवारी साधन र यात्रुहरुले सास्ती खेप्दै आएका छन् । नवलपरासी पश्चिममा पर्ने पुर र कल्भडहरु भने पूरा भएका छन । सम्झौताअनुसार गत साउन तेस्रो हप्तामा सम्पन्न हुनुपर्ने सडकको काम अहिलेसम्म १८ प्रतिशत मात्र भएको छ ।
गत साउनको २३ गतेदेखि लागू हुनेगरी एक वर्ष लागि आयोजनाको म्याद थपिएको नारायणघाट–बुटवल सडक विस्तार आयोजनाका पश्चिम सेक्टरका प्रमुख प्रदीपराज शाक्यले जानकारी दिए । ४२ महिनाभित्र सम्पन्न गर्नेगरी उक्त सडक विस्तारका लागि २०७५ माघमा नेपाल सरकार र चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनबीच सम्झौता भएको थियो । सम्झौताअनुसार २०७९ साउनभित्र निर्माण सम्पन्न गर्नुपर्ने थियो । समयमा काम नगर्ने निर्माण कम्पनीलाई कोभिड–१९ को महामारीको कारण देखाउँदै म्याद थप गरिएको हो ।
काम गर्न नसकेपछि ठेक्का नै तोड्न दबाब बढेको थियो । २ प्याकेजमा विभाजन गरी सडक निर्माण हुँदै छ । गैँडाकोटदेखि दाउन्नेसम्मको ६४.५ किलोमिटर खण्डलाई प्याकेज १ र दाउन्नेदेखि बुटवलको ४८.५ किलोमिटर खण्डलाई प्याकेज २ निर्धारण गरेर काम भएको हो । विस्तार भइरहेको सडकको कुल लम्बाइ ११३ किलोमिटर रहेको छ ।
सडकखण्डको ‘स्टान्डर्ड’ चौडाइ चार लेन (२४ मिटर) हुनेछ । अन्य क्षेत्रमा सडकको कुल चौडाइ ‘मेडियन’सहित चार लेनको हुन्छ भने ग्रामीण र सहरी क्षेत्रमा चार लेनका साथै ‘सर्भिस ट्रयाक’समेत निर्माण गरिनेछ । ‘मेडियन’को चौडाइ तीन मिटर हुनेछ । गैंडाकोट–दाउन्नेखण्डको सहरी क्षेत्र (१७.७ किमि)मा दुवैतर्फ ६ मिटरको ‘सर्भिस ट्रयाक’ पनि निर्माण भइरहेको छ । त्यसैगरी ग्रामीण क्षेत्र (४२.७ किमि) ‘सर्भिस ट्रयाक’बाहेक चार लेनको सडक निर्माण भइरहेको छ ।
त्यसैगरी दाउन्ने उकालो क्षेत्रको ४.१ किलोमिटरमा विस्तारपछि पनि यो राजमार्ग तीन लेनको मात्र हुने छ । आयोजनाका अनुसार एसियाली विकास बैङ्क (एडीबी) ऋण सहयोगमा कुल १६ अर्ब ९९ करोड ५२ लाख रुपियाँ लागतमा राजमार्गको विस्तार भइरहेको छ । लागतको ८५ प्रतिशत रकम एडीबीले ऋण उपलब्ध गराएको छ भने बाँकी सरकारको लगानी छ ।
आयोजनाका अनुसार, गैँडाकोट–दाउन्ने सडकखण्डको लागत नौ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने–बुटवलखण्डको लागत सात अर्ब ८६ करोड ३४ लाख रहेको छ । काम सुरु भएको चार वर्ष बितिसक्दा पनि सम्पन्न हुन नसके पछि नारायणगढ–बुटवल सडकखण्डको फेरि म्याद थप गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
-
देशका चार स्थानको तापक्रम माइनसमा, काठमाडौँमा केही बढ्यो
-
१० बजे, १० समाचार : ओली आराममा, रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई कारबाही गरिने
-
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
-
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौँ : मन्त्री गुरुङ
-
सोकेस आयोजना ३५ मा सीमित हुनसक्ने, आयोजनाको संख्या बढाउन दबाब