शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

समूहको स्वार्थका कारण नेपाली कांग्रेसको उम्मेदवार सिफारिसमा विवाद

बिहीबार, २३ भदौ २०७९, ०९ : २२
बिहीबार, २३ भदौ २०७९

गत सोमबार नेपाली कांग्रेस धनुषाका नेता प्रफुल घिमिरेले पार्टीको जिल्ला कार्यसमिति र मधेस प्रदेशको कार्यालयमा एउटा निवेदन दर्ता गराए । उनले प्रदेश कार्यसमिति र महाधिवेशन प्रतिनिधिहरुले केन्द्रको सर्कुलर विपरीत उम्मेदवारको नाम सिफारिस गरेको दाबी गर्दै निवेदनमा त्यसको खारेजी माग गरेका थिए ।

उनले तीन सदस्यीय समितिले सहमतिविपरीत एकलौटी ढंगले धनुषाको क्षेत्र ३ (ख) मा उम्मेदवारहरुको नाम सिफारिस गरिएको आरोपका लगाएका छन् ।  घिमिरेले उक्त निर्णय खारेज गरी केन्द्रको सर्कुलर बमोजिम प्रदेश, केन्द्र र समानुपातिकका उम्मेदवारको नाम सिफारिस गर्न निवेदनमा माग गरेका छन् ।

त्यस्तै कांग्रेस जिल्ला सदस्य तथा पार्टी निकट नेपाल विद्यार्थी संघकी केन्द्रीय सदस्य ममता महतोले महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ समितिको बैठकमा कांग्रेसकै नेता तथा बलवा नगरपालिकाका पूर्व प्रमुख विनोद यादवले दुर्व्यवहार गरेको नेतृ महतोको आरोप छ । समानुपातिकतर्फ आफ्नो इच्छा राख्दा यादवले धम्कीपूर्ण भाषामा बोल्दै हातपात गर्न आएको र न्यायका लागि आफूले जिल्ला, प्रदेश र केन्द्रीय समितिमा निवेदन दिएको जनाइन् ।

‘बलवा नगरपालिका ११ बस्ने विनोद यादवले म निज निवेदिका ममता महतोलाई कपोकल्पित आरोप लगाई नारीको असमितामाथि आँच पु¥याउने प्रकारबाट तथानाम अपशब्द प्रयोग गरी गाली गलौज गरेको यहाँहरु समक्ष जानकारी गराउन चाहन्छु,’ निवेदनमा लेखिएको छ, ‘प्रतिनिधिसभा एवं प्रदेशसभाको निर्वाचनमा उमेदवारको दावी गरे ज्यान मार्नेसम्मको डर, धाक–धम्कीसमेत दिने कार्य गरेको र निजले सो दिन गरेको व्यवहार पार्टी अनुशासन विपरीत भएको हुनाले निज विनोद यादवलाई हदैसम्मको कारवाही गरी पार्टीमा काम गर्ने वातावरण बनाउन अनुरोधसहित यो निवेदन पेस गरेको छु ।’

यद्यपि पार्टीले अहिलेसम्म उनको उजुरीका बारेमा कुनै प्रक्रिया अगाडि बढाएको छैन । विनोद यादवले नेतृ महतोमाथि स्थानीय निर्वाचनमा पार्टीलाई असहयोग गरेको आरोप लगाएका थिए ।

पार्टीले उक्त क्षेत्रबाट प्रतिनिधिसभातर्फ किरण यादवको एकल नाम सिफारिस गरेको छ । समानुपातिकतर्फ सरोज कुमार यादव, ओमशंकर यादव, लक्ष्मीनारायण सिंह, महेन्द्र कुमार झा, सिकली यादव गरी ७ जनाको नाम सिफारिस गरिएको छ ।

प्रदेशसभाको प्रत्यक्षतर्फ ‘क’ मा नागेश्वर यादव, सुशील यादव, बिनोद धामी र समानुपातिकतर्फ रामछबिला यादव, विनोद यादव, चण्डेश्वर मन्डल र भरत मण्डलको नाम सिफारिस गरिएको हो । त्यसैगरी ‘ख’ मा प्रत्यक्षतर्फ मन्जु कुमारी यादव, लक्ष्मण प्रसाद ठाकुर, रोहित ठाकुर, राजकरण साह, समानुपातिकतर्फ नागेन्द्र शर्मा, राम कृपाल यादव, उमेश पासवान र श्यामादेवी पासवान सिफारिसमा परेका छन् ।

त्यस्तै, धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ नेता गणेश तिवारी र परमेश्वर महासेठ, समानुपातिकतर्फ पार्टीका पूर्वउपसभापति विमलेन्द्र निधिको नाम सिफारिस भएको छ । प्रदेशसभामा क्षेत्र नम्बर–३ को (ख) मा नेपाली कांग्रेसको क्षेत्रीय समिति बैठकले प्रत्यक्षतर्फ हरिशंकर साहको एकल नाम सिफारिस गरेको छ भने समानुपातिकतर्फ प्रदिप कुमार चौधरी र किरण कुमारी झाको नाम सिफारिस गरेको छ ।

यसैगरी नेपाली कांग्रेसको मधेस प्रदेशमा चारैतिर विवाद देखिएको छ । उम्मेदवार सिफारिसको विषयमा बहुत भएको समूह हाबी हुँदा विवाद देखिएको छ भने कतै गुट–उपगुटले बखेडा गरेर ।

धनुषामा विवाद

शनिबार धनुषा निर्वाचन क्षेत्र २ को बैठकमा दुई पक्षबीच कुटाकुट नै भयो । नेपाली कांग्रेसका नेता रामकृष्ण यादव र मुक्ता यादवको सर्मथकबीच सिफारिसकै विषयमा विवाद भएपछि कुटाकुट भएको थियो । दुवै पक्षले आफ्नो पक्षबाट एकल नाम सिफारिस हुनुपर्ने अडान राखेको थियो ।

क्षेत्रीय समितिको बैठकमा स्वयं उपस्थित भएका रामकृष्णले मुक्ता यादव लगायत उनका समर्थकलाई अन्तिम पटक आफ्नो एकल नाम सिफारिस गरेर सहयोग गर्न अनुरोध गरेका थिए । तर मुक्ता यादवले दुवै जनाको नाम सिफारिस हुनुपर्ने या रामकृष्ण समानुपातिकमा जानुपर्ने अडान लिइन् । ‘गर्ने हो भने प्रत्यक्षतर्फ दुवै जनाको नाम सिफारिस गरौं । केन्द्रले जसलाई टिकट दिन्छ, स्वीकार गरौैंला,’ मुक्ताले भनेको कुरा उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘होइन भने रामकृष्णजीको एकल नाम सिफारिस हुँदैन ।’

विवाद भएको दुई दिनपछि क्षेत्रीय समितिले दुवै जनाको नाम सिफारिस गरेको छ । रामकृष्ण ०६४ र ०७० सालको संविधानसभाको निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारलाई पराजित गरी विजयी भएका थिए भने ०७४ सालको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट उम्मेदवारी दिएका उमाशंकर अरगरियासँग पराजित भएका थिए । मुक्ता यादव दोस्रो संविधानसभामा समानुपातिक सदस्य र ०७४ सालमा राष्ट्रियसभा सदस्य थिइन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा यी दुवै नेता उम्मेदवार थिए । रामकृष्ण सह–महामन्त्रीमा पराजित भएका थिए भने मुक्ता केन्द्रीय सदस्यमा सर्वाधिक मत ल्याएर निर्वाचित भएकी हुन् ।

कांग्रेस नेता प्रफुल घिमिरेले पनि धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ (ख)मा उम्मेदवारी सिफारिस गर्दा मापदण्ड तोडिएको गुनासो गर्दै पार्टीमा निवेदन दिएका छन् ।

सिरहामा ‘गुटबन्दी’

सिरहा क्षेत्र नम्बर ३ मा एउटै समितिले फरक–फरक नाम सिफारिस गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल समूहबीच कुरा नमिल्दा अलग–अलग उम्मेदवारको नाम सिफारिस भएको हो ।

भदौ १४ गते देउवा समूहको बैठकबाट जिल्ला सभापति रामचन्द्र यादवलाई उमेदवार सिफारिस गरेको थियो । उनी उम्मेदवार सिफारिस भएको दुई दिनपछि रामचन्द्र पौडेल समूहकी सीतादेवी यादव र उनकै छोरा डा. सुभाषचन्द्र यादवलाई पुनः उम्मेदवारमा सिफारिस गरिएपछि विवाद सतहमा पुगेको छ । दुई खालको सिफारिस पार्टीभित्रको प्रदेश कार्यालयसम्म पुगेको छ ।

सर्लाहीमा पनि उस्तै अवस्था

सर्लाही क्षेत्र नम्बर ४ बाट २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका नेता डा.अमरेशकुमार सिंहले प्रतिनिधिसभा सदस्यमा जित हासिल गरे । तर यस पटक उनलाई पार्टीको क्षेत्रीय समितिले उम्मेदवारका लागि सिफारिस नै गरेन । बरु, सो क्षेत्रबाट कांग्रेसका महामन्त्री गगन थापाको नाम सिफारिस भएको छ ।

सोमबार क्षेत्रीय कार्यसमितिले सर्लाही क्षेत्र नम्बर ४ बाट कांग्रेस महामन्त्री गगन थापाको एकल नाम सिफारिस गरेको हो । ०७४ मा काठमाडौं–४ बाट जितेका गगन थापालाई सर्लाहीमा ‘इन’ गराएर उक्त क्षेत्रबाट जितेका सांसद अमरेशलाई ‘आउट’ गरेपछि विवाद चुलिएको हो ।

०७४ मा सर्लाही–४ बाट अमरेशकुमार सिंह निर्वाचित भएका थिए । उनले राजपाका राकेशकुमार मिश्रलाई हराएका थिए ।

यस क्षेत्रबाट प्रदेशसभा सदस्यका लागि ४ (क) को प्रत्यक्षमा मधेस प्रदेशका पार्टी उपसभापति वीरेन्द्रप्रसाद सिंहको नाम एकल सिफारिस भएको छ । ४ (ख)मा अधिककुमार सिंह, अशोककुमार सिंह र नरेन्द्र रायको नाम सिफारिस भएको छ ।

सर्लाही कांग्रेसमा लामो समयदेखि विवाद चलिरहेको छ । जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंह सभापति शेरबहादुर देउवा पक्षीय हुन् भने सांसद अमरेशकुमार नेता शेखर कोइराला पक्षका हुन् ।

पार्टी निर्णय सबैले मान्नुपर्छः सभापति यादव

नेपाली कांग्रेस मधेस प्रदेश सभापति कृष्ण यादवले उम्मेदवार बन्न आकांक्षी बढी भएका कारण विवाद बढी देखिएको बताए ।

‘नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी हो, सबैले आफ्नो अधिकार सुनिश्चित गर्न खोज्नु, प्रजातन्त्रमा सबैले आफ्नो लागि लबिङ गर्न खोज्नु स्वाभाविक हो,’ रातोपाटीसँग उनले भने, ‘उम्मेदवार सिफारिसमा समान्य विवाद देखिएको छ तर पछि मिल्दै जान्छ । केन्द्रले जे निर्णय गर्छ, त्यसलाई सबैले स्वीर्कानु पर्छ ।’

समूहको स्वार्थ बाझिँदा विवादै–विवाद

उम्मेदवार सिफारिसमा समूहको स्वार्थ बाझिँदा विवादै–विवाद देखिएको जानकारहरु बताउँछन् । नेपाली कांग्रेसका एक नेताका अनुसार पुराना नेतालाई बहुमत भएका समूहले पाखा लगाउँदा विवाद बढेको हो ।

‘एउटै पार्टीमा अनेक समूहमा हामी बाँडिएका छौं, एकले अर्काको अस्तित्व स्वीकार गर्दैनौं अनि विवाद नहुने कुरै हुँदैन,’ ती नेताले भने  ।

अहिले आकांक्षी बढी देखिएको र त्यसमा पनि गठबन्धन हुँदा अवसरै नपाउने भयले पनि कतिपय ठाउँमा विवाद देखिएको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप