‘एक्स्पोमा विश्व बजारमा उपलब्ध गुणस्तरीय फर्निचरजन्य सामान पाइन्छ’

person explore access_timeभदौ २२, २०७९ chat_bubble_outline0

फर्निचर तथा फर्निसिङका उत्पादनमा मुलुकलाई आत्मनिर्भरताको बाटोमा डोर्याउने लक्ष्यका साथ भदौ २३ गतेदेखि काठमाडौंमा आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पोको आयोजना हुँदैछ । एक्स्पोले विश्व बजारमा उपलब्ध आधुनिक प्रविधि भित्र्याउन टेवा पुर्याउने अपेक्षा व्यवसायीको छ । बर्सेनि झण्डै ६० अर्ब रुपैयाँ बराबरको फर्निचरजन्य उत्पादनको कारोबार हुने गरेकोमा त्यसको ४० देखि ५० प्रतिशत हिस्सा आयातित उत्पादनको छ । यो हिस्सा घटाएर स्वदेशी उत्पादनको हिस्सा बढाउन अरु क्षेत्रमा भन्दा सहज भएको एक्स्पोको आयोजक संस्था नेपाल फर्निचर तथा फर्निसिङ संघको बुझाई छ । 
यही सन्दर्भमा उपभोक्तालाई समेत यसको जानकारी दिने लक्ष्यका साथ एक्स्पो आयोजना गरिएको बताउने संघका अध्यक्ष शुभेन्द्र जोशीसँग रातोपाटीले गरेको कुराकानीः 


फर्निचर तथा फर्निसिङका उत्पादनमा आत्मनिर्भर हुन सकिन्छ भनिरहनु भएको छ । बाधक के हो ?



व्यवसायी एक्लैको पहलले मात्र एउटा अभियानले पूर्णता पाउन सक्दैन । सरकारले गत असार १६ गते राजपत्रमा प्रकाशित गरेको नयाँ वन नियमले वन पैदावरसँग सम्बन्धित व्यक्तिले मात्र काठको लिलामीमा भाग लिन पाउने भनेर गरेको व्यवस्थालाई उदाहरणका रुपमा लिन सकिन्छ । यो व्यवस्था गलत छ । 



कुल ८० देखि ९० प्रतिशत काठको प्रयोग गर्ने फर्निचर व्यवसायीलाई त्यस्तो टेन्डरमा निषेध गरी सिन्डिकेटको रुपमा वन पैदावरहरुसँग मिलेर एउटा सिमित वर्गको हातमा अधिकार सुम्पिँदा सिमित बिचौलियाहरुले मात्र काठको टेन्डरमा भाग लिन पाउने अवस्था बनाइएको छ । यसले वास्तविक व्यवसायीहरु मारमा परेका छन् भने आत्मनिर्भरताको अभियानमा लाग्नेहरू नै छुटेपछि नतिजा उल्टो हुन जान्छ । 

अर्कातिर यस्तो नीतिले आयातित सामान र नेपाली उत्पादनको लागत अझ बढाउने निश्चित छ । वन मन्त्रीले बाहिरबाट आउने काठ रोक्छौँ भन्नु मात्र हुन्छ, अहिले तत्काल त्यस्तो अवस्था देखिन्न । प्रतिस्पर्धाको बजारमा सिन्डिकेट नीतिले फर्निचर मात्र होइन, अरु धेरै किसिमका उत्पादनको वृद्धिमा नकरात्मक असर पारिरहेको छ । यस्ता धेरै विषय छन्, जहाँ राज्यले पहलकदमी लिनु पर्नेमा उल्टो कामहरु भइरहेका छन् । व्यवसायीसँग पर्याप्त छलफल र संवाद गरेर नीतिगत रुपमा अघि बढ्ने हो भने आत्मनिर्भर हुन धेरै समय लाग्दैन । 

फर्निचर व्यवसायी जुन गतिमा विस्तार हुँदैछ, यस दौरान तपाईहरुले भोगेका समस्यालाई कसरी लिनु भएको छ ?

नीतिगत रुपमा सामान्य विषय पनि सम्बोधन हुन नसकेको अवस्था मात्र नभई अन्य धेरै कारणले व्यवसायीहरु चुनौतीको सामना गरिरहेका छन् । फर्निचर तथा फर्निसिङको कच्चा पदार्थ र सिमित सामाग्रीमा भन्सारमा खासै फरक देखिँदैन । त्यसैले उत्पादकहरु अनुकुल अवस्था नपाई उत्पादन तयार गरिरहेका छन् । 

काठ किन्नका लागि टेण्डरमा भाग नै लिन नपाउने विडम्बना मैले सुरुमा भनिसकेँ । यसले स्वदेशका गुणस्तरीय काठको ठाउँमा हामीले महंगोमा काठ किन्नु परिरहेको छ । यसले हाम्रो उत्पादन क्षमतामा ह्रास आइरहेको छ । जबकि हामीले उत्पादन क्षमता बढाउँदै जानु पर्ने अवस्था छ । यस्तै, बैंक वित्तीय संस्थाको चर्को ब्याजले थप समस्या भइरहेको छ । 

कच्चा पदार्थको आयात व्यवस्थापन, स्वदेशमा हुने उत्पादनको प्रोत्साहनको कमिलगायतका विषय पनि उत्तिकै महत्वपूर्ण छन् । यस्ता विषयमा सरकारी संयन्त्रहरुमा हामीले पटक पटक आवाज पुर्याइरहेका छौं । तर, कतैबाट पनि सकारात्मक प्रतिक्रिया आएको अवस्था छैन । यसले हामीमाथि विभेद भएको छ भन्ने हाम्रो बुझाई हो । यसलाई काठको लिलामीमा भएको सिण्डिकेटले उजागर गर्छ । 

आयात प्रतिस्थापनका लागि कच्चा पदार्थको पर्याप्तता जरुरी हुन्छ । यसमा निषेधभन्दा बाहेक कुनै कामहरु भएका वा भनौं गरिएका छैनन् । आयात प्रतिस्थापन मात्र नभएर निर्यातको पाटेमा पनि उत्तिकै कामहरु गर्नु पर्ने हुन्छ, जुन भइरहेका छैन । 

कार्पेट, म्याट्रेसहरुको उत्पादन अवस्था आशाजनक भए पनि कच्चा पदार्थ आयात गरिरहनु परेको छ । कच्चा पदार्थ आयात गरेर नै भए पनि यहाँ उत्पादित त्यस्ता सामान भारततर्फ निर्यात भइरहेका छन् । पहिले पर्दा पनि निर्यात हुने गरेको थियो । तर, त्यसलाई विकास गर्ने, बढावा दिने काम कतैबाट भएन र त्यस्ता धेरै उद्योग बन्द भइसकेका छन् । 

यस्ता अरु धेरै विषय छन्, जसको निदान नगरी हामीले सोचे अनुसार निर्यातको अवस्थामा पुग्न गाह्रो छ । व्यवसायीहरुले निर्यात गर्न सम्भव देखिरहेको अवस्थामा राज्यले किन नदेखेको हो वा प्राथमिकतामा नपरेको हो भन्नेमा हामी अचम्मित छौं । 

तपाईले समस्याको चाङ देखाउनुभयो तर, झण्डै ४० प्रतिशत मात्र आयातित उत्पादनले बजार लिएको छ, यो तथ्यमा तपाईं के भन्नु हुन्छ ?

सबैभन्दा पहिलो कुरा त यो बजार हो । बजारको आकार क्रमिक रुपमा बढ्नु एकदमै राम्रो कुरा हो । अहिले झण्डै ६० अर्बको फर्निचर तथा फर्निसिङजन्य उत्पादनको कारोबार हुने गरेको अनौपचारिक तथ्यांक छ । औपचारिक तथ्यांक राज्यसँग पनि छैन भन्ने विषयले व्यवसायीलाई चिन्तित बनाएको छ । यसमा व्यवसायी आफैंको पहलबाट र विगतका नीतिगत व्यवस्था, व्यवधानका बीच बजारमा स्वदेशी उत्पादनको उपस्थिति बढेको हो । केही वर्ष अघिसम्म ४० प्रतिशतभन्दा कम रहेको स्वदेशी उत्पादनको हिस्सा अहिले ६० प्रतिशतमा उक्लिएको हो । समस्याका चाङका बीचमा नै स्वदेशी उत्पादनको हिस्सा २० प्रतिशतले बढ्न सक्छ भने राज्यले ती समस्यालाई बुझिदिने, नीतिगत रुपमा नै स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने, निर्यातका सम्भाव्यताको खोजी गरिदिने हो भने आत्मनिर्भर मात्र नभई निर्यातको अवस्थामा पुग्न समय लाग्दैन । समस्या कच्चा पदार्थको होइन, त्यसको सदुपयोग गर्न नपाउने नीतिगत व्यवस्थाको हो । अरु धेरै विषया नीति नियमसँग जोडिएका छन् भन्ने आवाज व्यवसायीको हो । 

राज्यको आँखा पुगेन भन्दै गर्दा फर्निचर एक्स्पो आयोजना गर्दै हुनुहुन्छ ? कतिको उत्साहित हुनुहुन्छ ?

नकरात्मक सोचले मानिसलाई अघि बढ्न दिँदैन । प्रयासलाई निरन्तरता नदिने हो भने परिवर्तन पनि सम्भव छैन । यस अर्थमा एक्स्पोले कुनै न कुनै रुपमा राज्यको आँखा खुलाउन पहलकदमी लिनेछ भन्ने हाम्रो अपेक्षा हो । यसका साथै उपभोक्तालाई फर्निचर तथा फर्निसिङका विश्व बजारमा चलेका उत्पादनसँग साक्षात्कार गराउने हाम्रो लक्ष्य हो । आधुनिक उत्पादनका बारेमा जानकारी, सूचना आदान प्रदान पर्याप्त भएपछि मात्र त्यस्ता उत्पादनको माग आउन थाल्छ । यो अवस्थामा हामीले अहिले नै त्यस्ता उत्पादनको गुणस्तर, मूल्य, प्रयोग विधि, उत्पादन विधिलगायतका विषयमा जानकारी दिने उद्धेश्यका साथ एक्स्पो आयोजना गरेका हौं । अर्कातिर चाडपर्व नजिकिँदै छ । यस्तो बेला धेरैले फर्निचर तथा फर्निसिङ अपग्रेड गर्ने सोच बनाउनु भएको हुन्छ । उहाँहरुलाई एकै छानामुनी आवश्यक सबै सेवा र उत्पादन उपलब्ध गराउने लक्ष्यका साथ एक्स्पो आयोजना गरिएको हो । स्वदेशी र विदेशी उत्पादनका मूल्य र गुणस्तर तुलनात्मक रुपमा अध्ययन गरेर निर्णय गर्न अवलोकनकर्तालाई एक्स्पो उचित गन्तव्य हुने हाम्रो विश्वास छ ।

अहिले आठौं संस्करणको एक्स्पो हुँदैछ, यस्ता एक्स्पोबाट कस्तो उपलब्धी हासिल भएको छ ?

एक्स्पोकै पाटोबाट भन्ने हो भने सामान्य अवस्थाबाट सुरु भएको एक्स्पो अहिले अन्तर्राष्ट्रियस्तरमा आयोजना हुन थालेको छ । यसले उपभोक्ताको रुची बढेको छ भने व्यवसायी मित्रहरु पनि उत्साहित हुनुहुन्छ । कतिपय एक्स्पोमा प्रदर्शक खोज्न जाँदा पनि नपाउने अवस्था हुन्छ भने हामीले एक्स्पोमा अटाउन नसक्नु भएका प्रदर्शकलाई चित्त बुझाउन आग्रह गर्नु परिरहेको अवस्था छ । 

हरेक वर्ष एक्स्पोले बजारमा आएका नयाँ र आधुनिक उत्पादनको बजार विस्तारमा महत्वपूर्ण योगदान पुर्याएको छ भन्ने लाग्छ । यसको उपज बजार विस्तार नै हो । एक्स्पो केही दिन चल्छ, तर एक्स्पोले देखाएको बाटो व्यवसायी र उपभोक्ताका लागि ज्यादै उपयोगी सावित हुन्छ । यसले नै स्वदेशी उत्पादनको हिस्सा बढाउन पनि योगदान पुगेको कुरालाई नकार्न सकिन्न । 

केही वर्ष अघिसम्म नेपाली सामान भन्नासाथ शंका गर्ने परिपाटीमा अहिले व्यापक सुधार आएको छ । नेपाली उत्पादनको गुणस्तर र मूल्यलाई उपभोक्ताले एक्स्पोमा मज्जाले बुझ्न पाइरहनु भएको छ । जसले स्वदेशी उत्पादनप्रतिको विश्वसनीयता बढाइरहेको छ । स्वदेशी उत्पादकहरुको मनोबल पनि बलियो बनाउन एक्स्पोको भूमिका छ भन्नेमा म विश्वस्त छु । 

राज्यलाई पनि यो क्षेत्रमा केही छ है, भन्ने आभाष दिलाउन विगत वर्षका एक्स्पोहरुले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । यस पटकको एक्स्पोले पनि कुनै न कुनै रुपमा बजार विस्तारसँगै आन्तरिक उत्पादनको हिस्सा बढाउने, नीतिगत रुपमा झकझक्याउने र नतिजाको बाटो पहिल्याउनेमा हामी आशावादी छौं । स्वदेशी उत्पादन हेर्न र गुणस्तर बुझ्नका लागि भए पनि एक्स्पो अवलोकनका लागि आइदिनुहोस् भनेर आम उपभोक्तासँग आग्रह पनि गर्दछु ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।