बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

अनि बाटो मोडियो मोहनराजको

बुधबार, २२ भदौ २०७९, १७ : २१
बुधबार, २२ भदौ २०७९

काठमाडौँ । ‘अहिले १५० घार मौरी छन्, ४/५ सय घार बेचिसकेँ, वार्षिक ७/८ लाख कमाउँछु, यो पेसादेखि सन्तुष्ट छु ।’

मौरी पालन व्यवसायबाट हुने आम्दानीबारे सुनाउँदै गर्दा मोहनराज खनाल आफ्नो व्यवसायप्रति गर्वानुभूतिको भावमा देखिन्थे । यो व्यवसायमा धेरै लगानी नपर्ने र आम्दानी पनि राम्रो हुने भएकोले आफू सन्तुष्ट रहेको उनको भनाई थियो । अन्य व्यवसायको जस्तो तनाव नहुने सङ्केत गर्न होला सायद, उनी भन्दै थिए– यो कमाई पनि मह खादै हुने कमाई हो नि !

मोहनराज मौरी पालन पालन व्यवसायबाट अहिले जसरी खुसी देखिन्छन्, उनले जीवनको पृष्ठभूमिमा त्यसको धेरै गुणा धेरै दुःख र पीडाको सामना गरेका छन् । २०४१ सालमा कैलालीको गौरिगञ्जमा जन्मिका खनालको खास दुःख २०५८ सालमा सुरु हुन्छ ।

‘एसएलसी पास गरेपछि काठमाडौँको रत्नराज्य कलेजमा पढ्दै थिएँ, २०५८ साल माघ २९ गते माओवादीले नेपाल बन्द आव्हान गरेको थियो, त्यही बन्दको प्रचारमा पर्चा फाल्दै थिएँ, सादा पोशाकका प्रहरीले पक्रिहाल्यो,’ उनले दुःखको पोको फुकाउन सुरु गरे ।

उनलाई सादा पोशाकका प्रहरीले पक्राउ गरेपछि त्यही ठाउँमा तिघ्रामा गोली हानियो । खनालको भाग्य भनौँ या प्रहरीको चलाखी, गोलीले तिघ्रो छेडेपनि हड्डीमा लागेनछ । मासुमा मात्रै गोली लागेको थियो ।

पक्राउपछि १ महिनासम्म उनलाई हिरासतमै राखियो । त्यसपछि जेल हालियो । ‘जेल परेपछि मेरा सुखका दिन सुरु भएका थिए, कम्तीमा यातना त भोग्नु पर्दैनथ्यो,’ खनालले दुःखद विगत सम्झे । उनी १४ महिना जेल परे ।

२०६२/६३ सालको दोस्रो जनआन्दोलन सफल भयो । माओवादी पनि राज्यको मूल प्रवाहमा समाहित भयो । तर, मोहनराज खनालको भने न पढाइ राम्रो भयो, न जागिर खान सक्ने अवस्था थियो । त्यसैले निराशामा थिए । यस्तैमा उनले विदेश जानको लागि पासपोर्ट बनाए । पासपोर्ट बनाएर मामालाई भेट्न चितवन गए ।

विदेश जानुअघि एक पटक मामालाई भेटौँ न भन्ने उनको चाहना जीवनको गति नै बदलिने घटना भयो । चितवनमा मौरी पालन व्यवसाय गर्नेहरू धेरै थिए । उनको मामाको घर नजिकै पनि एक जना किसानले व्यावसायिक रूपमा मौरी पालेको खनालले देखे । अनि मामाको सहयोगमा मौरी खेतीबारे थप बुझ्ने प्रयासमा लागे ।

मोहनका बुबाले घरमा एउटा घार मौरी राख्ने गरेका थिए । एक त चितवनमा गएर बुझ्दा राम्रै आम्दानी हुने सुनेको, दोस्रो बुबाले पनि गरेको पेसा भएकोले चितवनबाट फर्कँदा नै मोहन विदेश नजाने सोचमा पुगिसकेका थिए । 

‘मौरी खेतीबारे जानकारी लिएपछि विदेश जाने सोच नै बदलियो, अनि १० घार मौरी किनेर व्यावसायिक रूपमा मौरी खेती गर्न लागेँ,’ मोहनले सुनाए । त्यो बेला एक घार मौरीको मूल्य ३ हजार रुपैयाँ थियो । अहिले भने मूल्य बढेर प्रतिघार १० हजार रुपैयाँ पुगेको छ । 

मौरीका रोचक विषय

कुराकानीकै बीचमा खनालले मौरीबारे केही रोचक विषय पनि सुनाए । उनका अनुसार १ घारमा ७ हजारदेखि २० हजार मौरी हुन्छन् । कैलालीका किसानले कात्तिकतिर मौरी चराउन दाङ लैजान्छन् । र, दाङका किसानले मंसिरतिर मौरी चराउन कैलालीतिर लान्छन् । यी महिनाहरूमा जुन जुन क्षेत्रमा तोरी हुन्छ, त्यही क्षेत्रमा मौरी चराउन लगिने गरिएको हो ।

मौरी चराउनको लागि राति गाडीमा हालेर लगिने खनालले जानकारी दिए । ‘दिउसो हिँडाउँदा मौरी आत्तिन्छ, राति हिँडाउनु पर्छ,’ उनले भने । मौरीले चरेपछि तोरीको उत्पादन ३० देखि ३५ प्रतिशत बढ्ने उनले सुनाए । 

खनालसँग अहिले १५० घार मौरी छन् । तर, उनले सुरुमा किनेको जम्मा १० घार मात्रै हो । उनले यसबीचमा ४/५ सय घार पनि बेचिसकेका छन् । 

‘मैले थप मौरी किनेको होइन, एउटा घारबाट एक वर्षमा ३/४ घार मौरी बनाउँछौँ,’ उनले भने । एउटा घारबाट वार्षिक २० देखि २५ केजी मह उत्पादन हुने गर्छ । 

रानी मौरी बन्ने समय भनेको फागुन–चैत महिना हो । रानी मौरीले पारेको अण्डालाई कर्मी मौरीले रोयलजेली मात्रै खुवाएर रानी उत्पादन गर्छन् । रोयलजेली मौरीकै शरीरमा उत्पादन हुने खनालले बताए । रानी मौरीले एक प्रकारको गन्ध निकाल्छ । जसलाई फेनोमेन सेन्ट भनिन्छ । प्रत्येक रानी मौरीको यस्तो सेन्ट फरक हुने भएकोले मौरीले आफ्नो घार कुन हो भनेर चिन्दछन् ।

‘रानीकोष तयार भइसकेपछि घारमा भएका चाका आधा आधा बनाएर अर्को घारमा राखिदिन्छौ, एकातिर रानी मौरी हुन्छ भने अर्काेतिर रानीकोष, कर्मी मौरीले रानीकोषलाई पनि रानी मौरीकै रूपमा लिन्छन्, यसरी घार छुट्टयाएर राखेपछि २४ घण्टापछिदेखि एउटा घारको मौरी अर्को घारमा जाँदैन,’ खनालले भने । रानीकोषबाट रानी मौरी उत्पादन हुन्छ ।

तीन प्रकारका मौरी

प्रत्येक घारमा तीन प्रकारका मौरी हुने खनालले बताए । उनका अनुसार रानी मौरीको काम अण्डा पार्ने मात्रै हो । एक पटक गर्भाधान भएपछि रानी मौरीले ३ वर्षसम्म अण्डा पारिरहने उनको भनाई छ । घारमा भएको भाले मौरीको काम भने रानी मौरीसँग सम्भोग गर्नु मात्रै हो । एक पटक सम्भोग गरेपछि भाले मौरी मर्छ । 

घारमा अर्को प्रकारको मौरी पनि हुन्छ । त्यसलाई कर्मी मौरी भनिन्छ । मौरी व्यवसायी खनालका अनुसार रानी मौरीले अण्डा पारिसकेपछि त्यो अण्डालाई रोयलजेली खुवाउनुपर्छ । रोयलजेलीको मात्रा खुवाएको आधारमा रानी, भाले या कर्मी मौरी बन्छन् । अर्थात् रानीले पारेको अण्डाबाट रानी उत्पादन गर्ने हो कि, भाले उत्पादन गर्ने हो कि वा कर्मी मौरी उत्पादन गर्ने हो भन्ने यकिन रोयलजेली खुवाएको मात्राका आधारमा हुन्छ । र, यसको जिम्मा कर्मी मौरीले लिएको हुन्छ ।

उमेर अनुसार काम

मौरीमा पनि उमेर अनुसार कामको विभाजन छ भन्छन् खनाल । कोषबाट निस्कने मौरीले निस्किएको ३ दिनसम्म घारभित्रै बस्छन् । यो समयमा उनीहरूले खाना खाने, आफूभन्दा साना मौरीलाई खाना खुवाउने काम गर्छन् । त्यसपछिको ६ दिनसम्म उनीहरूको अर्को काम पनि थपिन्छ । त्यो हो– घार सफा गर्ने । 

मौरीको उमेरसँगै काम थपिँदै जान्छ । कोषबाट निस्केको २१ दिन नपुगी मौरी घारबाट बाहिर निस्कँदैन । यसबीचमा उसले घारभित्रै मैन उत्पादन गर्ने, रोयलजेली निकाल्ने लगायतका काम गर्नुपर्छ । र, २१ दिनको भएपछि मौरी घारबाट बाहिर निस्कन्छ । मौरीको आयु ६ सातादेखि ६ महिनासम्म हुने खनालले बताए ।

मह खाने बानी बसालौँ 

अहिले पनि सेना, प्रहरी जस्ता शारीरिक श्रम आवश्यक पर्ने निकायमा साप्ताहिक रूपमा यति परिमाणमा यस्तो यस्तो वस्तु यति परिमाणमा खानुपर्छ भन्ने गरिएको छ । तर, यसमा मह मिसाइएको छैन । हप्ताको ५० देखि १०० ग्राम मह खानुपर्छ भनेर सरकारले भनिदिए पनि किसानको लागि धेरै राम्रो हुने खनाल बताउँछन् ।

‘नेपाली मह गुणस्तरीय छ, महको सेवनले स्वास्थ्य राम्रो हुन्छ, त्यसैले एक वयस्क व्यक्तिले सातामा ५० देखि १०० ग्राम मह खानुपर्छ भनेर सरकारले भनिदिए मात्रै पनि मह विक्री नहुने समस्याबाट किसानले मुक्ति पाउँथे,’ खनालले भने ।

अहिले नेपालमा वार्षिक ४ हजार टन मह उत्पादन हुने गरेको छ । वार्षिक रूपमा ८ हजार टन मह खपत हुने गरेको विभिन्न तथ्यांकले देखाएको खनाल बताउँछन् । उनका अनुसार बाँकी मह आयात हुन्छ । नेपाली किसानले उत्पादन गरेको १ हजार टन मह विक्री नभएर बसेको उनले सुनाए ।

‘डाबर नेपाल जस्ता कम्पनीले नेपाली किसानले नै उत्पादन गरेको २० देखि २५ प्रतिशत मह प्रयोग गर्नुपर्ने नीतिगत व्यवस्था भइदिए राम्रो हुने थियो, गुणस्तरहिन आयातित महले बजार ओगटेको छ, हाम्रो गुणस्तरीय उत्पादनले बजार पाएको छैन, यसमा नीतिगत सुधार आवश्यक छ,’ खनाल भन्छन् । 

उनी नेपाल मौरीपालक महासंघका महासचिव पनि हुन् । महासंघको महाधिवेशन पनि नजिकिएको छ । भदौ २३ र २४ मा काठमाडौँमा हुने महाधिवेशनले आगामी कार्यकालको लागि नयाँ नेतृत्व छनौट गर्नेछ । खनाल अबको कार्यकालका लागि अध्यक्षको प्रत्याशी बन्ने तयारीमा छन् । उनले नेपाली किसानले उत्पादन गरेको महको ब्राण्डिङ र बजारीकरणको लागि नयाँ विकल्प पनि अघि सारे ।

‘देशभरका किसानले उत्पादन गरेको मह महासंघले किनेर एउटै ब्राण्डमा विक्री गर्नुपर्छ, यसो गर्न सकियो भने नेपाली किसानलाई पनि फाइदा हुन्छ र नेपालीले गुणस्तरीय मह उपभोग गर्न पाउँछन्,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप