बिहीबार, १३ असार २०८१
ताजा लोकप्रिय

चाडवाडको मुखमा नेतृत्वविहीन बन्यो वाणिज्य विभाग, अलपत्र बन्यो बजार अनुगमन

बुधबार, २२ भदौ २०७९, १३ : ५७
बुधबार, २२ भदौ २०७९

सबैभन्दा धेरै कालोबजारी र कृत्रिम अभाव सिर्जना हुने समयमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग नेतृत्वविहीन बनेको छ । बजारमा हुने कालोबजारी, उपभोक्ता ठगी र कृत्रिम अभावमाथि प्रत्यक्ष निगरानी राख्ने निकायको रुपमा रहेको विभाग नेतृत्वविहिन हुँदा चाडबाडको मुखमा बजार अनुगमनको काम अलपत्र बनेको छ ।

सरकारले दशैं तिहार जस्ता नेपालीका ठूला चाडपर्वको मुखमा विभागलाई नेतृत्व विहिन बनाएको छ । महानिर्देशक लिलाप्रसाद शर्मा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रशासन शाखामा सरूवा भएपछि विभाग नेतृत्वविहीन बनेको हो । शर्मा भदौ १६ गतेदेखि मन्त्रालयको जिम्मेवारीमा हाजिर भएका थिए ।

मन्त्रालयकी सह–प्रवक्ता उर्मिला केसीले विभागका महानिर्देशक मन्त्रालयको प्रशासन शाखामा सरूवा भएको बताइन् । उनले रातोपाटीसँग कुरा गर्दै एक सातायता मन्त्रालयको काममा रहेको जानकारी दिइन् । ‘उहाँ १६ गतेदेखि मन्त्रालयमा हाजिर हुनुभएको हो,’ केसीले भनिन् ।

शर्माले आफू उद्योग मन्त्रालयमा सरुवा भएको बताए । ‘अहिले म विभागको जिम्मेवारीमा छैन, अहिलेसम्म अन्य व्यक्तिले पनि जिम्मेवारी पाएका छैनन् । छिट्टै कोहीले जिम्मेवारी पाउलान्,’ शर्माले भने ।

विभागको प्रवक्ताको जिम्मेवारीमा रहेका हरि पंगेनी पनि उद्योग विभागमा सरुवा भएका छन् । 

दशैं, तिहार जस्ता ठूला चाडपर्वमा बढी अधिकांश वस्तुको उपभोग धेरै हुने भएकोले यही मौकामा गुणस्तरहिन वस्तुको विक्री वितरण गर्ने, अनावश्यक रुपमा अभाव सिर्जना गर्ने गराउने, मूल्य बढाउने जस्ता गलत कार्य हुने गरेका छन् । यस्ता कार्य रोक्नको लागि प्रभावकारी रुपमा बजार अनुगमन गर्ने निकाय नै नेतृत्व विहिन भएकोले उपभोक्ता मारमा पर्न सक्ने देखिएको हो । 

उपभोक्तालाई ठगिनबाट जोगाउने मूख्य जिम्मेवारी पाएको विभाग नेतृत्वविहीन बन्दा उपभोक्ता ठगिनेक्रम बढेको छ । यस्तै, यही समयमा डेंगुको प्रकोप बढेर बजारमा सिटामोलको अभावको गुणासो समेत आएको छ । बजारमा चिनीको अभाव लगायतका विषयमा समेत गुणासो आइरहँदा यसबारे बजार अनुगमनको मूख्य जिम्मेवार निकाय भने नेतृत्वविहीन बनेको हो ।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले चाडवाडको नजिकै बजार अनुगमनको जिम्मेवारी पाएको मूख्य निकाय नेतृत्व विहिन हुनु सरकारको लाचारीपन भएको बताए । उनले रातोपाटीसँग कुरा गर्दै यो समयमा सरकारी निकायहरूबीच समन्वय हुनुपर्नेमा वाणिज्य विभाग नै खाली हुनु दुःखद् भएको बताए । 

‘सरकारले दशैं तिहारको मुखमा अन्तरनिकाय समन्वयलाई बढाएर उपभोक्तालाई ठगिनबाट बचाउनुपर्नेमा यही समय वाणिज्य विभागलाई हप्ता दिनदेखि खाली राखेको छ,’ उनले भने ।

उद्योग मन्त्रीसँग छलफल गर्दा एक/दुई दिनमै विभागले नयाँ महानिर्देशक पाउने भनिए पनि अहिलेसम्म नपाएकोमा तिमल्सिनाले दुःख व्यक्त गरे । ‘उद्योग मन्त्रीको पहलमा वाणिज्य विभागमा तत्काल महानिर्देशक पठाउनुपर्नेमा खाली राखिएको छ,’ उनले भने । विभाग नेतृत्वविहीन बनेपछि नियमित बजार अनुगमन प्रभावित भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप