शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गाईजात्रामा देखाइएका नाचमध्ये ख्याल प्याखंबाट ख्वप कलेज प्रथम

बुधबार, २२ भदौ २०७९, १२ : ३१
बुधबार, २२ भदौ २०७९

भक्तपुर नगरपालिकाले आयोजना गरेको गाईजात्रा पर्वको अवसरमा प्रदर्शन गरिएका नाचका विभिन्न विधामध्ये ख्याल प्याखं (प्रहसन) तर्फ ख्वप मावि देकोचा भक्तपुर प्रथम भएको छ । २९ साउनदेखि २ भदौसम्म प्रदर्शन गरिएका सांस्कृतिक विधाहरूमा ख्वप प्रथम भएको नतिजा नगरपालिकाले सार्वजनिक गरेको हो ।

प्रतियोगिताअन्तर्गत उत्कृष्ट महिला कलाकारतर्फ पनि ख्वप कलेजकै पलिस्था रञ्जितकार प्रथम भएकी छन् । भविष्य नाटकबाट पलिस्था आधुनिकतर्फ उत्कृष्ट महिला कलाकार घोषित भएकी हुन् । सोही नाटकका निर्देशकद्वय श्यामसुन्दर शिल्पकार र राजेन्द्र श्रेष्ठ उत्कृष्ट निर्देशक घोषित भए । 

परम्परागत नाचहरूलाई प्रवर्द्धन गर्न भनी नगरपालिकाले जात्राको क्रममा प्रदर्शन हुने विभिन्न नाचका विधाहरूको मूल्यांकन गरी प्रत्येक वर्ष पुरस्कारसमेत प्रदान गर्दै आइरहेको छ । जात्राको अवसरमा प्रदर्शन गरिने नाच, नाटक, प्रहसनलाई नगद पुरस्कार व्यवस्था गरेपछि जात्रामा यहाँ टोल टोलबाट सांस्कृतिक प्रदर्शन हुने गर्दै आएको छ ।

नगरपालिकाले प्रत्येक वर्ष जात्रामा प्रदर्शन हुने सांस्कृतिक प्रदर्शनको मूल्यांकन गरी पहिलो, दोस्रो र तेस्रो हुने विधाहरूलाई नगद पुरस्कार वितरण गर्दै आएको छ ।  गाईजात्राका क्रममा यहाँ दुई दर्जन विधाका सयौं प्याखं (नाच) पनि देखाइन्छ । यहाँं देवी नाच, भैल नाच, बाँदर नाच, गाईचा नाच, लुसी नाच, फाकंदली नाच, नागाचा नाच देखाइन्छन् ।

साथै लाखे नाच, नटु (मथु) वाचा नाच, कंलाली नाच, जंगली नाच, भालु नाच, खिचा नाच , ख्या नाच, कवाँंचा नाचलगायतका नाच पनि देखाइन्छ । साथसाथै हनुमान, म्हेखा, किजापूजा, कपायफेनेगू, सलां नाच, झ्या झ्या नाचलगायतका नाच देखाइन्छ । गाईजात्राका क्रममा एउटै वडाबाट पनि दर्जनौं नाच, नाटक, प्रहसन प्रदर्शन गर्ने प्रचलन रहँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप