शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

चुनावको मुखमा दल बदल्ने होड

बुधबार, २२ भदौ २०७९, १२ : १५
बुधबार, २२ भदौ २०७९

चुनावको मुखमा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताले पार्टी परिवर्तन गर्ने लहर चलेको छ । कतै उम्मेदवार बन्ने कोसिसमा त कतै उम्मेदवार बन्न सिफारिसमा नपरेका करण नेताहरुले दल बदल्ने गरेका छन् ।पाल्पाको तानसेन नगरपालिकामा दुई कार्यकाल मेयर बनेका एमाले नेता अशोककुमार शाही केही दिनअघि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरे । एमालेबाट यो पटक स्थानीय तहको निर्वाचनमा पुनः मेयर दाबी गरेका शाहीले टिकट पाएनन् । यही असन्तुष्टिले उनले एमाले छाडेका छन् ।

स्थानीय तहको चुनावको बेलामा माओवादी प्रवेश गरेका रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका पूर्वअध्यक्ष बब्लु शुक्ला यही भदौ ११ गते जनमत पार्टीमा प्रवेश गरे । स्थानीय तहको चुनावमा सम्मरीमाई गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनाइएका उनले जित्न सकेनन् । अहिले उनले जनमत पार्टीबाट रूपन्देही–४ (क) बाट प्रदेशसभा सदस्यको उम्मेदवार बन्ने घोषणा गरेका छन् ।

२०७४ सालको स्थानीय चुनावमा फोरम लोकतान्त्रिकबाट उम्मेदवार भई जितेका शुक्ला चुनाव जितेको केही महिनामै तामझामका साथ एमालेमा प्रवेश गरेका थिए । एमालेमा प्रवेश गरेको वर्षदिन नपुग्दै उनले एमाले छाडे । त्यसपछि विभिन्न मधेस केन्द्रित पार्टीमा सक्रिय उनी वैशाखमा सम्पन्न स्थानीय तहको चुनाव अघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हातबाट अबिर र खादा लगाउँदै माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

कुनै समय नेपाल सदभावना पार्टीका प्रभावशाली नेता कपिलवस्तुका दानबहादुर चौधरी डेढ दशक अघि एमालेमा प्रवेश गरेर सांसद निर्वाचित भए । एमाले छाडेको डेढ दशकपछि उनी पुनः एमालेमै फर्किका छन् । मधेस आन्दोलनसँगै एमाले छाडेका उनी मधेसी जनअधिकार फोरममा प्रवेश गरे । त्यसपछि बाबुराम भट्टराईको नयाँ शक्ति हुँदै जनता समाजवादी पार्टीमा गएका उनी बाबुराम भट्टराईले गठन गरेको नेपाल समाजवादी पार्टीका उपाध्यक्ष थिए । त्यो पार्टीबाट उम्मेदवारी पाउने र चुनाव जित्ने सम्भावना नभएपछि उनले एमाले रोजेको उनी निकटका कार्यकर्ताले बताए ।

विभिन्न दल चहार्दै एमालेमा आएका चौधरीलाई एमाले अध्यक्ष केपी ओलीले पार्टीमा स्वागत गरेका छन् । उनी कपिलवस्तु–१ बाट प्रतिनिधिसभाका लागि समानुपातिक उम्मेदवार प्रस्तावित भएका छन् । शुक्ला र चौधरीमात्रै नभई आगामी चुनावमा उम्मेदवार हुनका लागि अन्य नेताहरुमा पनि दल बदल्ने होड चलेको छ । पहिले यो होड तराई–मधेसमा बढी हुन्थ्यो । अहिले पहाडमा पनि हुन थालेको छ ।

गुल्मीमा एकीकृत समाजवादीका दुई प्रभावशाली नेता नरेश भण्डारी र गणेश खनाल पुनः एमालेमा फर्किएका छन् ।

कपिलवस्तुका वृजेशकुमार गुप्ता चुनावपिच्छे पार्टी फेर्ने नेतामा पर्दछन् । २०५६ सालमा राप्रपाबाट प्रतिनिधिसभा सदस्य भएका उनी २०६४ सालमा तराई मधेस लोकतान्त्रिक पार्टीबाट चुनाव जिते । २०७४ सालमा हृदयेश त्रिपाठीसँग मिलेर (स्वतन्त्र राजनीतिक समूह) बनाएका उनी त्यही समूहबाट एमालेको सूर्य चिन्ह लिएर चुनाव जिते । अहिले घोषित रुपमै उनी एमालेमा प्रवेश गरेका छन् ।

स्थानीय चुनाव अघि पनि पार्टी फेर्नेहरु धेरै थिए । फागुन २ गते रुपन्देहीको धकधईमा आयोजना भएको आमसभामा रुपन्देहीको दुई गाउँपालिका अध्यक्षसहित स्थानीय प्रभावशाली नेताहरुले एमाले प्रवेशको घोषणा गरे । एमाले प्रवेशको घोषणा गर्ने गाउँपालिका अध्यक्ष थिए, ओमसतियाका हिरा केवट र रोहिणीका सनोज यादव । केवट र यादवसगैं ओमसतियाकी उपाध्यक्ष सुन्दरमति हरिजनले पनि एमाले रोजिन् । गएको स्थानीय तहको निर्वाचनमा केवट र हरिजन माओवादी केन्द्रबाट निर्वाचित हुन् भने यादव तत्कालीन मधेशी जनअधिकार फोरमबाट निर्वाचिन भएका थिए ।

उनीहरुसँगै ओमसतिया र रोहिणीको माओवादी र जनता समाजवादी पार्टीका प्रभावशाली स्थानीय नेताहरुले एमाले प्रवेशको घोषणा गरेका थिए । तुलनात्मक रुपमा पार्टीको संगठन कमजोर रहेको दक्षिण क्षेत्रका यी दुई पालिका प्रमुख सहितको पार्टी प्रवेशले एमाले नेतृत्व उत्साहित देखिए पनि स्थानीय तहको चुनावमा उत्साहजनक नतिजा निस्कन सकेन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप