बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

नेपाल पूर्वधार सम्मेलनको तयारी पूरा

बुधबार, २२ भदौ २०७९, ११ : २५
बुधबार, २२ भदौ २०७९

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा नेपाल पूर्वाधार सम्मेलनको चौथो संस्करण विहीबारदेखि काठमाडौंमा हुँदैछ । दीगो पूर्वाधारमार्फत देशको समग्र विकास गर्न सकिन्छ भन्ने विश्वासका साथ नेपाल उद्योग परिसंघले सरकारसँगको साँझेदारीमा सन् २०१४ देखि नेपाल पूर्वाधार सम्मेलन गर्दै आएको छ । 

नेपाल पूर्वाधार सम्मेलन २०२२ मा यातायात, उर्जा, शहरी विकास, खानेपानी तथा सरसफाईलगायत पूर्वाधार विकासका प्रमुख बाधाहरू पहिचान गर्दै पूर्वाधार विकासका लागि सरकारले गरेका प्रतिज्ञा एवं सुधार, पूर्वाधार क्षेत्रमा निजी लगानी आकर्षित गर्ने; दिगो विकास लक्ष्यहरू हासिल गर्न मद्दत गर्ने हरित, जलवायु, उत्थानशील पूर्वाधार परियोजनामा गहन छलफल हुने परिसंघले जानकारी दिएको छ ।

सम्मेलनको थिम विकासका लागि पूर्वाधार रहेको छ । सन् २०१९ मा भएको पूर्वाधार सम्मेलनपछि कोभिड–१९ का कारण सन् २०७६÷७७ मा नेपालको आर्थिक वृद्धि २.३७ प्रतिशतले संकुचित भयो । आर्थिक गतिविधिहरू विश्वव्यापी रूपमा ठप्प हुँदा विश्वले आपूर्तिमा गम्भिर अवरोधको सामना गर्नुपर्यो । नेपालले आर्थिक वर्ष २०७९÷८० मा ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ । 

कोभिड–१९ पछिको प्रोत्साहन एवं उच्च अंकको आर्थिक बृद्धि हासिलका लागि पूर्वाधारमा लगानी अनिवार्य छ । नेपाल पूर्वाधार सम्मेलनले आर्थिक पुनरुत्थान, हरित पूर्वाधारमा ध्यान केन्द्रित गर्दै पूर्वाधारमा लगानी गर्नु नै उत्तम शर्त हो भन्ने धारणालाई सुदृढ पार्ने विश्वास लिइएको परिसंघको भनाई छ । यस्तै सम्मेलनले नवीन वित्तीय ढाँचा, प्रत्यक्ष वैदेशिक लगानी, निजी क्षेत्रको थप संलग्नता, प्रविधि र डिजिटल रूपान्तरणलगायतका विषयमा नीतिगत सुधारको अवधारणालाई पुनर्जीवित गर्नेछ । 

पूर्वाधारका लागि लगानी प्रबद्र्धन, पूर्वाधार विकासका सफल अभ्यास, पूर्वाधार क्षेत्रको विकासका अवरोधलगायतका विषयमा राष्ट्रिय, अन्तर्राष्ट्रिय पूर्वाधार विज्ञ, लगानीकर्ता, तीनै तहका सरकार, निजी क्षेत्रका प्रतिनिधिबीच गहन रुपमा छलफल हुनेछ । सम्मेलनको विभिन्न सत्रमा पूर्व प्रधानमन्त्री, संघीय सरकारका मन्त्रीहरु, प्रदेशका मुख्यमन्त्रीहरु, महानगरपालिकाका मेयरहरु, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक, एशियाली विकास बैंक, विश्व बैंक, प्राध्यापकहरुको प्रस्तुती हुने परिसंघले जानकारी दियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघ आयोजक रहेको नेपाल पूर्वाधार सम्मेलनको सह आयोजकमा लगानी बोर्डको कार्यालय र नेपाली युवा निर्माण व्यवसायी समुदाय रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप