बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

निर्देशक सुदर्शन थापाले दिए पत्रकारलाई कानको जाली फुटाइदिने धम्की

मङ्गलबार, २१ भदौ २०७९, २२ : २८
मङ्गलबार, २१ भदौ २०७९

निर्देशक सुदर्शन थापाले समाचारको विषयलाई लिएर चलचित्र पत्रकारको कानको जाली फुटाइदिने धम्की दिएका छन् । उनले आफ्नो निर्देशन रहेको गत शुक्रबारबाट प्रदर्शन आएको फिल्म ‘सम्हालिन्छ कहिले मन’ ले हलमा राम्रो व्यापार नगरेको आसयसहित समाचार लेखेको भन्दै पत्रकार सुजन श्रेष्ठलाई कानको जाली फुटाइदिने धम्की दिएका हुन् ।

निर्देशक थापाले पत्रकार श्रेष्ठलाई फोनमार्फत धम्की दिएका हुन् । जसको अडियो अहिले सामाजिक संजालमा फैलिएको छ । अडियोमा उनले सुजनलाई फिल्म चलेको बेलामा समाचार नलेखेको तर सो सकिएपछि गलत मनसायले समाचार लेखेको भन्दै कुटपिट गर्ने धम्की दिएका हुन् । पत्रकार श्रेष्ठले ‘टिकट फ्रि हुँदा पनि हल सुनसान’ भन्ने शीर्षकमा समाचार बनाएका थिए । यो समाचारपछि सोमबार साँझ ४ बजेतिर निर्देशक थापाले आफूलाई फोन गरेर धम्क्याएको श्रेष्ठले बताए । ‘सुरुमा राम्रैसँग कुरा गर्नु भएको थियो तर पछि गाली गलौज गर्न थालेपछि मैले प्रमाणका लागि अडियो रेकर्ड गरेको हुँ’ श्रेष्ठले भने ‘समाचार लेखेकै भरमा गाली गलौज गर्नु जायज नलागेपछि अडियो सार्वजनिक गरे ।’

निर्देशक थापाले आफूलाई गाली गलौज गरेको विषयमा चलचित्र पत्रकार संघका अध्यक्ष दिनेश सिटौला र पत्रकार महासंघ प्रदेश कार्य समितिका अध्यक्ष बैकुण्ठ पराजुलीलाई जानकारी गराएको श्रेष्ठले सल्लाह गरेर कानुनी प्रक्रियामा जाने तयारी समेत गरेका छन् । यस विषयमा निर्देशक थापासँग पटक पटक सम्पर्क गर्न खोज्दा पनि सम्पर्क हुन सकेन । श्रेष्ठले नौलो न्युज डटकममा फिल्मको विषयमा समाचार बनाएका थिए ।

निर्देशक थापालाई नेपाल पत्रकार महासंघ एसोसियट प्रदेशको चेतावनी
निर्देशक थापाले पत्रकार श्रेष्ठलाई गरेको गाली गालौजप्रति नेपाल पत्रकार महासंघ एसोसियट प्रदेश समितिले आपत्ती प्रकट गरेको छ । एसोसियट प्रदेशले एक विज्ञप्ति जारी गर्दै समाचारलाई लिएर निर्देशक थापाले पत्रकारलाई गाली गलौज गरेको प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

‘थापा निर्देशित चलचित्र ‘सम्हालिन्छ कहिले मन हेर्न दर्शक नआएको भन्दै सो अनलाईनमा फिल्मको विषयमा ‘टिकट फ्रि हुँदा पनि हल सुनसान’ समाचार प्रकाशित भएको थियो । उक्त समाचारप्रति आपत्ती जनाउँदै थापाले फोन गरेर कानको जाली फुटाइदिन्छु’ भन्ने शब्द प्रयोग गरी धम्कीपूर्ण गाली गलौज गरेका छन्’ विज्ञप्तिमा अगाडि भनिएको छ ‘चलचित्र आफै पनि सूचना, सन्देश र अभिव्यक्तिको संवाहक रहँदा र चलचित्र क्षेत्रमै सेल्फ सेन्सरसिपको माग भइरहँदा यो क्षेत्रमा स्थापित व्यक्तिबाट यस्तो प्रकारका धम्की आउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप भएको महासंघ प्रदेश समितीको ठहर छ ।’  

‘संविधानले सुनिश्चित गरेको पत्रकारको अधिकारको सुनिश्चित गरी यस्ता घटना नदोहोर्याउन चेतावनी समेत दिन चाहन्छौँ’ महासचिव रोशन आचार्यद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । यस्तै चलचित्र पत्रकार संघले पनि एक विज्ञप्ति जारी गर्दै निर्देशक थापाको धम्कीप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप