फोटो स्टुडियोमा नक्कली शैक्षिक प्रमाणपत्र, बत्तीसपुतलीबाट ३ जना पक्राउ
काठमाडौं महानगरपालिका–९ बत्तीसपुतलीका ३ वटा फोटो स्टुडियोमा नक्कली शैक्षिक प्रमाण पत्र बन्ने गरेको थाहा भएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले फोटो स्टुडियोमा छापा मारेर नक्कली शैक्षिक प्रमाणपत्रसहित स्टुडियोका संचालकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बत्तीसपुतलीस्थित एभी–१ फोटो स्टुडियो संचालक मोरङ घर भएका चबुरलाल चौधरी, एम.ए जेनेरल फोटो स्टुडियो संचालिका सिन्धुलीको सुनकोशी गाउँपालिका घर भएकी सुमित्रा कोइराला र आर एन फोटो स्टुडियोमा कार्यरत सोलुखुम्बु घर भएकी २४ वर्षीया फुल्हमु तामाङ छन् ।
त्रिभुवन विमानस्थलबाट भिजिट भिसा लिएर विदेश जानेहरुको कागजात जाँच गर्दा प्रहरीले नक्कली कागजात फेला पारेपछि त्यसबारे अनुसन्धान थालेको थियो । फोटो स्टुडियो संचालकहरुले ५ सय र १ हजार रुपैयाँ लिएर एसएलसी र प्लसटुका नक्कली शैक्षिक प्रमाणपत्र बनाइदिने गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए ।
‘आरोपीहरुले ग्राहकलाई आवश्यक अनुभवको प्रमाणपत्रदेखि हरेक कागजात बनाउने गरेको थाहा भएको छ’ एसपी कोइराला भन्छन्–‘उनीहरुलाई थप अनुसन्धान र कारवाहीका लागि प्रहरी वृत गौशालामा पठाइएको छ ।’ प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाउन प्रयोग हुने विभिन्न उपकरण र तयारी अवस्थाका नक्कली प्रमाणपत्रहरू पनि बरामद गरेको छ । सो स्टुडियोहरूमा खाडी मुलुकमा वैदेशिक रोजगारमा जानेहरुले नक्कली प्रमाणपत्र बनाउने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।