शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

विराटनगरको विकासका लागि एडीबीद्वारा तेस्रो चरणको काम सुरु

मङ्गलबार, २१ भदौ २०७९, १७ : ५३
मङ्गलबार, २१ भदौ २०७९

विराटनगरको विकासका लागि एसियाली विकास बैंक (एडीबी)ले तेस्रो चरणको कार्य सुरु गरेको छ । एडीबीका प्रतिनिधिहरूले महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीसित भेटेर हालसम्म भएको प्रगतिका विषयमा छलफल गरेको हो ।

 एडीबीको सहयोगमा विराटनगरमा एकीकृत फोहोर व्यवस्थापनको केन्द्र, बाढी र डुबान समस्याको दीर्घकालीन समाधानका लागि नाला निर्माण, सहरी सडक पूर्वाधार, प्रादेशिक बसपार्क निर्माण र ल्याण्डपुलिङका लागि डिपीआरको काम सुरु भइसकेको छ ।

 निर्वाचित भएर आएलगत्तै मेयर कोइरालाले विराटनगरको विकासमा सहयोग गर्न एडीबीलाई आग्रह गरेका थिए । सोही आग्रहअनुसार एडीबीले विभिन्न परियोजनाको डीपीआर बनाउन सुरु गरिसकेको छ । हालसम्म भएको डीपीआरको अवस्थाबारे एडीबीका प्रतिनिधिले मेयर कोइराला र उपमेयर कार्कीलाई जानकारी गराएका थिए ।  

विराटनगरको विकासमा विगतमा सञ्चालित परियोजनाको समीक्षा र आगामी परियोजनाका विषयमा एडीबीको टोलीसित छलफल भएको क्षेत्रीय सहरी विकास परियोजना (आरयुडीपी)का परियोजना व्यवस्थापक इन्जिनियर भरत न्यौपानेले जानकारी दिए । 

एडीबीले विराटनगरसहित पूर्वका इटहरी, दुहबी, धरान, इनरुवा र दमकमा १० वटा ठूला परियोजना सञ्चालन गर्दैछ । मेयर कोइरालाले तत्कालका लागि फोहोर व्यवस्थापन, बाढी र डुबान समस्याको दीर्घकालीन समाधानका लागि नाला र सडक निर्माण आवश्यक रहेको बताए ।

‘विराटनगरका लागि तत्काल गर्नुपर्ने भनेको सडक र नाला निर्माणका साथै फोहोर व्यवस्थापन नै हो,’ मेयर कोइरालाले भने, ‘त्यसका लागि एडीवीले काम सुरु गरिसकेको छ । हामीले डीपीआर छिटो बनाउनुहोस् भनेका छौं ।’ क्षेत्रीय सहरी विकास परियोजना (आरयुडीपी) अन्तर्गत यसअघि विराटनगरको विकासमा नेपाल सरकारसँगको साझेदारीमा एडीबीले ६ अर्बभन्दा बढी लगानी गरिसकेको छ । एडीबीको टोलीले यसभन्दा अघि सञ्चालित परियोजनाहरूको अनुगमनसमेत गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप