शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बाहुबलीका कटप्पा जस्तै देखिने ‘प्रेम गीत–३’ का क्रान्तिवीर !

मङ्गलबार, २१ भदौ २०७९, १७ : ३६
मङ्गलबार, २१ भदौ २०७९

झट्ट हेर्दा जो कोहीलाई उनी सुपरहिट चलचित्र बाहुबलीका कटप्पा जस्तै लाग्न सक्छ । तर, कटप्पा नभएर ऊनी प्रतीक्षित नेपाली चलचित्र प्रेम–गीत–३ का एक सशक्त पात्र क्रान्तिवीर अर्थात् प्रेम पुरी हुन् । पिरियड ड्रामामा आधारित चलचित्र प्रेम गीत–३ मा क्रान्तिवीर पनि एक सेनापतिकै भूमिकामा छन्, जसरी बाहुबलीमा कटप्पा थिए। 

जतिबेला प्रेम गीत निर्माण टिमले प्रेम पूरीको एउटा पोस्टर सार्वजनिक गर्‍यो धेरै दर्शकले कटप्पा जस्तै देखिएको प्रतिक्रिया दिए । टिजर सार्वजनिक हुँदै गर्दा पनि अधिकांशले प्रेम गीत–३ मा किन कटप्पा भनेर प्रश्न पनि गरे । तर, कटप्प्पा र क्रान्तिवीर एउटै होइनन्। पुरी भन्छन्, ‘नेपाली कथा र इतिहासको विषयलाई समेटेर तयार चलचित्रको एक पात्र हो क्रान्तिवीर, जो चलचित्रमा आफ्नै मौलिकता, लवज, भाषा र भूगोलमा बाँचेको छ,’ खुसीसाथ थप्छन्, ‘यति लामो कला यात्रामा एउटा सुपरहिट चलचित्रको पात्रसँग दाँजेर प्रतिक्रिया दिनुभएको छ । खुसी पनि छु तर  तर, क्रान्तिवीर पात्रको पनि आफ्नै मौलिकता छ। यसलाई कटप्पा नभएर क्रान्तिवीरकै रूपमा लिन म आग्रह पनि गर्छु । 

क्रान्तिवीर पात्र जसलाई जन्माउन चलचित्र युनिटले ठूलो मेहनत गरेको छ । सँगै आफूले पनि ठुलो त्याग गरेको सुनाउँछन् उनी । ‘मनाङको त्यो हिउँ परेको मौसम हरेक पात्रका लागि चुनौतिपूर्ण थियो । हरेक दिन बिहान तालु खौरनु पर्ने, त्यही गेटअपमा देखिनु पर्ने मेरालागि एक प्रकारको च्यालेन्ज नै थियो,’ उनी थप्छन्, ‘कथाले मागेको चरित्र चित्रणका लागि घोडसवारका समय लडेर पाखुराको पाता नै  खुस्किएको क्षण पनि मेरा लागि कम स्मरणीय रहेन । त्यसैले पनि क्रान्तिवीर मौलिक छ।’

चलचित्र ‘सम्झिराख है’, ‘चंखे, शंखे पंखे’ हुँदै  प्रेम गीत–३ सम्म आइपुगेका पुरी यस पटक नेपालसँगै बलिउडको नजरमा पनि परेका छन् । चलचित्रले नेपालसँगै भारतका सयौँ स्क्रिनमा स्क्रिनङको तयारी गर्दै गर्दा क्रान्तिवीर पात्रको चर्चा पनि उत्तिकै चुलिँदो छ । भारतका कयौँ ठाउँमा लागेका पोस्टरमा पुरीको बलियो उपस्थितिले पनि यो कुरा पुष्टि गरेको छ । असोज ७ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र प्रदर्शनको मिति पुरी स्वयंका लागि प्रतीक्षित बनेको छ । उनै कलाकार प्रेम पुरीसँग रातोपाटीका लागि तयार यो भिडियो सामग्री :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मनोज न्यौपाने
मनोज न्यौपाने
लेखकबाट थप