मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

व्यवसायमैत्री र सम्पत्ति शुद्धीकरण रोक्न कानुनमा संशोधन : मन्त्री बन्दी

मङ्गलबार, २१ भदौ २०७९, १६ : ४०
मङ्गलबार, २१ भदौ २०७९

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद बन्दीले नेपालमा व्यवसायिक वातावरण थप बलियो बनाउन र सम्पत्ति शुद्धीकरण गर्नबाट रोक्न कानुनमा संशोधन गर्न लागिएको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री बन्दीले केही नेपाल ऐन संशोधन गर्ने विधेयक मार्फत संशोधन गर्न लागिएका १९ वटा कानुनमध्ये १६ वटा कानुन व्यवसायिक वातावरण निर्माण गर्ने (डुइङ विजनेस) र सम्पत्ति शुद्धीकरण रोक्नको लागि मात्रै भएको उनको भनाई छ ।

‘अहिले सरकारले संसदमा दर्ता गराएको विधेयकको सैद्धान्तिक पक्षमा माननीयज्यूहरुको खासै विमति देखिनँ, अहिलेको समय ठिक हो कि होइन भन्ने विषयमा विवाद देखियो, संशोधन गर्न लागिएका १९ कानुनमध्ये ३ वटा कानुन प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसँग सम्बन्धित छन् भने १६ वटा कानुनहरु कि त डुइङ विजनेसमा सहजीकरण गर्ने, कि त सम्पत्ति शुद्धीकरण हुन नदिने कानुन मात्रै छन्,’ मन्त्री बन्दीले भने ।

अहिले नेपालले अभ्यास गरेको लोकतन्त्रले अवैध सम्पत्ति आर्जनलाई वर्जित गरेको भएपनि विद्यमान कानुनका छिद्र प्रयोग गरी सम्पत्ति शुद्धीकरण हुने खतरा रहेकोले त्यसलाई नियन्त्रण गर्न कानुन संशोधन गर्न लागिएको उनको प्रष्टिकरण छ ।

‘हामी पहिला पनि सम्पत्ति शुद्धीकरण रोक्ने कार्य प्रभावकारी रुपमा गर्न नसकेको भनेर कालोसूचीमा पर्नबाट बालबाल बचिएको हो, वित्तीय अपराध नियन्त्रणको लागि प्रभावकारी संस्थाहरु बनाएरभन्दा पनि कमाएको सम्पत्तिको स्रोत सम्बन्धित व्यक्तिले देखाउनुपर्छ भन्ने अन्तराष्ट्रिय मान्यता अनुरुपका कानुन बनाउन लागेका हौं,’ मन्त्री बन्दीले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप