आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

कोही मालिक, कोही नोकर बनेर निर्वाचनमा जान सकिँदैन : बाँस्कोटा

मङ्गलबार, २१ भदौ २०७९, १४ : ४३
मङ्गलबार, २१ भदौ २०७९

नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले संसद्को आयु लम्ब्याउने कुरा कुनै पनि हालतमा स्वीकार गर्न नसक्ने बताएका छन् । नेपालका केही संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै बाँस्कोटाले सरकारले जनताको लोकतन्त्रलाई मुठ्ठीभित्र कैद गर्ने गरी यो संसद्को आयु लम्ब्याउन लागेको आरोप लगाएका हुन् ।

‘निर्वाचनको प्रक्रिया सुरु भएपछि, अझ मनोनयन दर्ता भएपछि संसद्को आयु लम्ब्याउने कुरा लिएर आइएको छ । यो सिधै लोकतन्त्रलाई गिज्याउने कुरा हो, जनताको अपमान गर्ने कुरा हो, जनताप्रति भरोसा नराख्ने कुरा हो । जनताको जनमतलाई च्यालेन्ज दिने कुरा हो ।’

उनले यसमा नेकपा एमालेको सहमति नहुने स्पष्ट पारे । उनले यो फिर्ता लिनु नै जनताको आवाज सुनेको हुने जिकिर गरे । ‘असोज २ गते निर्वाचन आयोगले समानुपातिकतर्फका नाम दर्ता भएपछि निर्वाचन सुरु भइसक्छ,’ उनले भने, ‘कोही सांसद लोगो लगाएर कोही सामान्य नागरिक भएर, दुईवटा कानुनी व्यवस्थाका साथ, एउटै नागरिकमाथि प्राकृतिक न्यायको सिद्धान्तविपरित प्रतिस्पर्धा गर्न खोजिँदैछ । मालिक र नोकरको व्यवहार गर्ने गरी ल्याइएको यो विधेयक खारेज होस्, फिर्ता होस् ।’

असोज १ गते सबैको म्याद समाप्त हुने उनको भनाई थियो । उनले कानुनमन्त्रीले दाबी गरेजस्तो यस विषयमा आफूहरूको सहमति नभएको पनि स्पष्ट पारे । ‘तपाईंहरुलाई चाहिएको के छ भने धर्तीमा एमाले खाली होस् । तपाईंहरु एक्लै धुलो हिँड्न पाउनुहोस् । तर हेक्का राख्नुहोस् त्यो सम्भव छैन,’ बाँस्कोटाले चेतावनी पनि दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप