शुक्रबार, २६ पुस २०८१
ताजा लोकप्रिय

मन्त्री श्रेष्ठले सार्वजनिक रूपमा माफी माग्नुपर्छ : डा. राई

मङ्गलबार, २१ भदौ २०७९, १४ : ०९
मङ्गलबार, २१ भदौ २०७९

राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेकी छन् ।

मंगलवार राष्ट्रिय सभाको बैठकमा शून्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य पौड्यालले मन्त्री श्रेष्ठले भिसा लिन जाने क्रममा सुरक्षा गार्डप्रति अमानवीय व्यवहार गरेको भन्दै त्यसप्रति सार्वजनिक रूपमा माफी माग्नुपर्ने बताएकी हुन् । उनले मन्त्रीको यस्तो व्यवहार अस्वीकार्य हुने बताइन् । उनले जनताले तिरेको करबाट सेवा सुविधा लिनेहरू जनताको शासक नभई सेवक भएको बताइन् । 

यस प्रकारको घटना पुनः नदोहोरियोस् भन्नका लागि उहाँले सरकारको ध्यानाकर्षण पनि गराउनु भयो । उनले भनिन् – ‘जनताले तिरेको करबाट सेवा, सुविधा लिने हामी जनप्रतिनिधि र मन्त्री, प्रधानमन्त्री, सरकारका सबै अङ्गहरू जनताका सेवक हुन् । शासन होइनन् । दुई दिन अगाडी मात्रै हो, एकजना मन्त्रीले एउटा कार्यालयमा भिसा लिन जाँदा खेरी एउटा गार्डप्रति गरेको अमानवीय व्यवहार एकदमै धेरै अस्वीकार्य छ । उहाँले यसमा सार्वजनिक रूपमा माफी माग्नुपर्छ । राजीनामा त उहाँले दिनुहुन्न मलाई थाहा छ । तर सार्वजनिक रूपमा माफी माग्नुपर्छ । किनभने हामी सेवक हौँ । शासक होइनौँ । यो कुरालाई स्थापित गर्नुपर्छ । यो एकजना गार्ड र एकजना मन्त्रीको मात्रै कुरा होइन । विधि बनाउने हामी, विधि उल्लङ्घन गर्ने हामी, विधि उल्लङ्घन गर्न नदिँदा एउटा श्रमिकलाई पाँच दिन थुनामा राख भनेर थुनामा राख्ने पनि हामी ? यो भएन । यसलाई सरकारले तुरुन्तै ध्यान पुर्‍याओस् । र यो खालको घटना फेरि नदोहोरियोस् भनेर पनि म सरकारप्रति माग गर्न चाहन्छु । र मन्त्रीले सार्वजनिक रूपमा माफी मागुन् भनेर पनि माफी माग गर्न चाहन्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप