शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय

‘डेन्जर जोन’ मा रहेका विमलेन्द्र निधि यसकारण गए सुटुक्क समानुपातिकतर्फ

मङ्गलबार, २१ भदौ २०७९, १२ : १७
मङ्गलबार, २१ भदौ २०७९

नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ‘डेन्जर जोन’ मा थिए । तर उनले यस पटक प्रत्यक्षतर्फ उम्मेदवार नहुने निर्णय लिँदै समानुपातिकतर्फ उम्मेदवार बन्ने निधो गरेका छन् । उनको यो निर्णयलाई कांग्रेसकै कतिपय कार्यकर्ताले अनौठो मानेका छन् ।

निधिको निर्वाचन क्षेत्र धनुषा–३ मा ‘हेभी वेट’ प्रतिस्पर्धाको अपेक्षा थियो । किनकि सोही निर्वाचन क्षेत्रबाट लोसपाका नेता राजेन्द्र महतो पनि उम्मेदवार बन्दैछन् । अघिल्लो निर्वाचनमा महतोले नै निधिलाई पराजित गरेका थिए । अर्कोतिर नेकपा एमालेबाट जुली महतो (रघुवीर महासेठकी पत्नी) सोही क्षेत्रमा उम्मेदवार बन्ने तरखरमा छिन् । त्यसैले पनि निधिले ‘हेभी वेट’ भिडन्तबाट आफूलाई अलग्याएको हुन सक्ने कांग्रेस कार्यकर्ताहरु बताउँछन् ।

कांग्रेसभित्र आन्तरिक गुटबन्दीका क्रममा लामो समय शेरबहादुर देउवा पक्षमा रहेको निधि पछिल्लो समय आफ्नै गुट सञ्चालन गर्दै आएका थिए । आन्तरिक गुटबन्दीकै कारण उनले प्रत्यक्षतर्फ चुनाव जित्ने अवस्था नदेखेपछि समानुपातिकमा सुटुक्क सुरक्षित हुने बाटो रोजेको कतिपयको बुझाइ छ ।

समानुपातिकमा जानुपर्ने बाध्यता किन ?

बारम्बार सरकारमा प्रतिनिधित्व गरेको तथा पार्टीको पनि उपसभापतिजस्तो महत्त्वपूर्ण जिम्मेवारी सम्हालिसकेका निधि समानुपातिकतर्फ उम्मेदवार बन्नु धेरैका लागि अप्रत्यासित निर्णय बनेको छ । तर, निधिलाई नजिकबाट बुझ्नेहरुले यो उनको बाध्यता रहेको बताउने गरेका छन् । गत वैशाखमा सम्पन्न स्थानीय चुनावमा निधिले कांग्रेसभित्र गुटबन्दीमात्र गरेनन्, गठबन्धनको मर्मविपरीत भूमिकासमेत निर्वाह गरेका थिए । त्यसैले निधिलाई यस पटक गठबन्धनका अन्य घटकले सघाउने अवस्था थिएन ।

स्थानीय तह निर्वाचनमा गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी(जसपा)ले जनकपुरको मेयरमा उम्मेदवारी दिएको थियो । तर निधिले जसपा उम्मेदवारको विरूद्धमा कांग्रेसकै मनोजकुमार साहलाई स्वतन्त्र उम्मेदवार बनाएर मैदानमा उतारे । निधिकै सहयोगमा साहले मेयरमा जित हात पारे । यसलाई जसपाले ‘धोका’ का रुपमा लिएको छ । उक्त धोकाको बदला जसपाले आसन्न निर्वाचनमा लिन्छ भन्ने आकलन गर्दै निधिले आफूलाई समानुपातिकमा सामेल गराएको चर्चा पनि चलिरहेको छ ।

‘गत स्थानीय निर्वाचनमा गठबन्धनको उम्मेदवार हराउन उहाँले खेलेको भूमिकाले गठबन्धन असन्तुष्ट बनेको छ । जसको असर यो निर्वाचनमा देखिनसक्छ भनेर पनि निधिजी प्रत्यक्षतर्फ उम्मेदवार बन्नबाट पछि हटेको हुनसक्छ,’ जसपाका एक स्थानीय नेताले रातोपाटीसँग भने ।

सहमहामन्त्री महेन्द्र यादवलाई कमजोर गर्न निधिको समानुपातिक कार्ड

निधिले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको प्रभावलाई कमजोर पार्न समेत समानुपातिक कार्ड खेलेको धेरैको बुझाई छ । कुनैबेला नेपाली कांगे्रसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको विश्वासपात्र रहेका निधिले १४ औं महाधिवेशनमा देउवाविरुद्ध नै सभापतिमा उम्मेदवारी दिए । यद्यपि दोस्रो चरणमा उनले देउवालाई नै समर्थन गरे तर देउवा पक्षमा उनी विश्वासिलो बन्न सकेका छैनन् । बरु, उनकै साथ रहेका कतिपय नेता अहिले उनलाई छाडेर देउवा पक्षमा लागिसकेका छन् । देउवा पक्षले पनि निधिको विकल्पका रुपमा महेन्द्र यादवलाई अघि सारेको छ ।

धनुषामा अहिले देउवा खेमा, शेखर कोइराला खेमा र निधिको आफ्नै खेमा गरी तीन खेमामा कांग्रेस कार्यकर्ता विभाजित छन् । देउवा खेमाका महेन्द्र यादव अहिले मधेस प्रदेशमै शक्तिशाली मानिन्छन् । निधि र यादवको सम्बन्ध त्यति राम्रो छैन । निधिको क्षेत्रमा यादवको राम्रो पकडकै कारण आफूलाई असहयोग हुने देखिएपछि निधि समानुपातिकतर्फ गएका हुन् ।

कांग्रेसको आन्तरिक शक्ति सन्तुलनमा भूमिकाविहीन हुँदै गएका निधिले संघीय संसदमा प्रतिनिधित्व हुन नसके आफ्नो राजनीतिक करिअर नै धरापमा पर्ने चुनौती पनि सामना गरिरहेका छन् । एकातिर गठबन्धनबाट साथ नपाउने, अर्कोतिर पार्टीभित्र पनि गुटबन्दीको सिकार भएको अवस्थामा संघीय संसदमा समेत आफ्नो उपस्थिति नभएमा राष्ट्रिय राजनीतिबाटै ओझेल पर्ने भएकाले निधि समानुपातिकतर्फबाट संघीय संसदमा जाने बाटो रोजेको जानकारहरु बताउँछन् ।

स्थानीय तहमा पनि निधि कमजोर

धनुषा क्षेत्र नं ३ मा चार वटा पालिका छन् । धनुषाको मुखियापट्टी मुसहरनिया बाहेक तीन वटा पालिकामा कांग्रेसले नै जिते पनि निधि भने ती पालिकाबाट आफूलाई मत आउनेमा विश्वस्त हुन सकेका छैनन् ।

मुखियापट्टी मुसहरनिया गाउँपालिकामा निधि पक्षका मधेस प्रदेशमा भौतिक पूर्वाधारमन्त्री राम सरोज यादवले एकलौटी रुपमा आफ्नै भतिज रामबाबु यादवलाई अध्यक्षको उम्मेदवार बनाएपछि कांग्रेसका सोही गाउँपालिकाका पार्टी सभापति विश्वनाथ यादव र महाधिवेशन प्रतिनिधि मुन्ना चौधरी असन्तुष्ट बनेका थिए । पछि उनीहरुसहित कांगे्रसका सयौं कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका थिए । कोर ‘भोट बैंक’ भनिएको सो गाउँपालिका निधिको पकड निकै कमजोर भएको देखिन्छ ।

मुखियापट्टी मुसहरनिया गाउँपालिकाको अध्यक्षमा जसपाका जयकुमार यादव विजयी भएका छन् । सो पालिकामा जसपाले अध्यक्ष, उपाध्यक्ष र ६ वडामध्ये ४ वडाको अध्यक्षमा जित हासिल गरेको छ । एउटा वडामा नेकपा एकीकृत समाजवादी र एउटा वडामा मात्र नेपाली कांग्रेसले जितेको छ ।

गाउँपालिकाको अध्यक्षमा जसपाका जयकुमार यादव ५ हजार ४१० मत ल्याएर निर्वाचित हुँदा नेपाली कांग्रेसमा रामबाबु यादवले २ हजार ४५५ मतमात्र ल्याएका थिए । त्यस्तै निधिको गृहपालिका नगराइन नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका विनयकुमार यादव जित्न सफल भए पनि निधिको वडा नगराइन– २ को अध्यक्षमा भने लोकतान्त्रिक समाजवादी पार्टीका बुलन यादव निर्वाचित भएका छन् ।

उपप्रमुखमा नेकपा एमालेकी राधा देवी यादव निर्वाचित भएकी छन् । ९ वडामध्ये १, ३, ४, ७ गरी चारवटा वडामा मात्र कांग्रेसले जितेको छ भने ५, ६, ८ र ९ मा एमालेले जितेको छ ।

नगरकार्यपालिकाको बोर्डमा कांग्रेस ४० प्रतिशतमा खुम्चिएको छ भने एमालेको संख्या ६० प्रतिशत छ । कार्यपालिका बोर्डमा एमालेको बहुमत भएका कारण नगरप्रमुखले हालसम्म नगरसभा समेत गर्न सकेका छैनन् ।

उक्त क्षेत्रमा पर्ने धनौजी गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष तथा कुल ५ वडामध्ये ४ वडामा वडाध्यक्ष समेत कांग्रेसले नै जितेको छ । वडा नम्बर १ मा मात्र लोसपाले वडाध्यक्ष जितेको छ । उक्त गाउँपालिकामा कांग्रेस नै बलियो देखिएको छ । तर पनि गुटबन्दीका कारण कार्यकर्ताहरु बाँडिने डर निधिलाई छ ।

क्षेत्र नं ३ अन्तर्गत जनकपुरधाम उपमहानगरपालिकाको प्रमुखमा कांग्रेसका बागी उम्मेदवार मनोज साहले चुनाव जितेका छन् । साह स्वतन्त्र भए पनि निधिकै ‘कोर’ कार्यकर्ता हुन् । उपप्रमुखसहित ११ वडामा कांग्रेसले जितेको छ । कुल २५ वटा वडा रहेको उक्त पालिकामा ७ वटा वडामा नेकपा एमाले, एउटामा माओवादी, दुई वटामा स्वतन्त्र, एउटामा तमलोपा, दुईवटा वडामा लोसपाले जितेको छ । 

जनकपुरधाम उपमहानगरपालिको कार्यपालिका बोर्डमा कांग्रेसकै मतदाताले ‘फ्लोर क्रस’ गरेका थिए । निधिले कार्यपालिका चलाउन सबैलाई मिलाउन भन्दै ‘फ्लोर क्रस’ गराएर कांग्रेसका उम्मेदवार पंकज महतो र रामप्रवेश बैठालाई हराएको आरोप छ । कांग्रेसको कुल ७७ मत थियो, जित्नका लागि ६३ मत मात्र आवश्यक थियो । तर, पंकज महतोलाई ४९ मत र रामप्रवेशलाई ३५ मतमात्रै परेको थियो कांग्रेसकै प्रतिनिधिले नै एमालेका उम्मेदवार दीपेन्द्र साह र सन्तोष महतोलाई भोट दिएर जिताएका थिए । निधिकै निर्देशनमा निधिका स्वकीय सचिव गणेश तिवारी, क्षेत्रीय सभापति श्याम निधि लगायतले हाकाहाकी आफूहरूलाई हराएको महतोको आरोप छ ।

उक्त अन्तर्घातका कारण जीवनाथ चौधरी पनि निधिबाट टाढिएका छन् । नेपाली कांग्रेसभित्र प्रभावशाली देखिएका उनी हाल मधेस प्रदेश समितिका सदस्य छन् भने महेन्द्र यादवको निकट पुगेका छन् ।

आफ्नै पार्टीका कार्यकर्ताबीच गुटबन्दी गराएर फाइदा लिँदै आएका निधि अहिले भने त्यही गुटबन्दीका कारण आफू संकटमा परेका छन् । जसले गर्दा प्रत्यक्षतर्फ उम्मेदवार बनेको खण्डमा आफूलाई पार्टीभित्रैबाट असहयोग हुने आकलन गरी उनी समानुपातिकतर्फ बसेको कार्यकर्ताहरु बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप