आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

निर्मल लामा बहुप्राविधिक शिक्षालयको थप नयाँ भवन बन्दै

मङ्गलबार, २१ भदौ २०७९, १० : १८
मङ्गलबार, २१ भदौ २०७९

महोत्तरीको बर्दिबास नगरपालिका–११ खयरमाराको सुन्दरबस्तीस्थित ‘निर्मल लामा बहुप्राविधिक शिक्षालय’ आत्मनिर्भर हुँदै गएको छ  । यसअघि दुई ठूला भवनका ६४ आधुनिक कोठामा सञ्चालन हुँदै आएको शिक्षालयमा अब थप दुई अत्याधुनिक भवन बन्ने भएको छ । यो प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी)बाट सम्बन्धनप्राप्त शिक्षालय हो ।

दक्षिण कोरिया सरकारको कोइका इन्टरनेशनलले दुई नयाँ भवन र शैक्षिक उपकरणसहितलाई रु एक अरब पाँच करोड रकम सहयोग गरेको छ । नयाँ भवनको पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार शिलान्यास गरे  । 
विसं २०७५ साउन २८ गते स्थापना भएको सो शिक्षालयमा हाल हिमाली, पहाडी र मधेससहितका २८ जिल्लाका आठ सय विद्यार्थी प्राविधिक धारका सात विषयमा अध्ययन गर्दैछन् । यसमा होटल म्यानेजमेन्ट, फुड एण्ड डेरी टेक्नोलोजी, सिभिल इञ्जीनियरिङ, जियोमेट्रिक इञ्जीनियरिङ (सर्वे नापी), फरेष्ट्री, फार्मेसी र रेडियोग्राफीसहितका विषय सामेल छन् । माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरेका छात्रछात्रा शिक्षालयको भर्ना प्रक्रियामा सामेल हुन्छन् । अध्ययन र अभ्यास हुने विषयका लागि निर्धारित सङ्ख्याभित्र सिटीइभिटीले स्वच्छ प्रतिस्पर्धा गराइ छनोट भएका  विद्यार्थी भर्ना लिइँदै आइएको शिक्षालय प्रशासनले जनाएको छ ।

प्राविधिक धारको पछिल्लो नतिजा प्रकाशनमा आफ्नो शिक्षालयका जियोमेट्रिक इञ्जीनियरिङ विषयका विद्यार्थीले मुलुकभित्रकै उत्कृष्ट नतिजा ल्याएका शिक्षालयका प्रमुख रमणकुमार मेहताको भनाइ छ । शिक्षालयले हालसम्म सिभिल इञ्जीनियरिङ र जियोमेट्रिक इञ्जीनियरिङ विषयको एक–एक समूह (ब्याच) पासआउट गराइसकेको छ ।

“हाम्रोे शिक्षालयले सरकार, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद, विभिन्न दातृ निकायबाट राम्रो वास्ता र सहयोग पाउँदैछ”, शिक्षालय प्रमुख मेहताले भने, “भौतिकरूपमा आत्मनिर्भरतातर्फ उन्मुख हाम्रो शिक्षालयले दक्ष जनशक्ति निर्माणको कामलाई महत्वका साथ अघि बढाउँछ ।”

शिक्षालयमा हाल ४३ शिक्षक र अन्य सहयोगी कर्मचारी छन् । पठनपाठनका लागि शिक्षक जनशक्ति थप आवश्यकता रहेको शिक्षालय प्रमुख मेहताले बताए। शिक्षालय मधेसको मात्र नभएर राष्ट्रकै गौरव गर्न लायक बनाइने शिक्षकहरूको सङ्कल्प रहेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप