शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘अब कुनै निर्मातालाई डुब्न दिँदैनौँ’

विदेशी फिल्म आइतबार रिलिज गर्नुपर्ने धारणा अगाडि सार्दैछौँ : नवल खड्का, अध्यक्ष नेपाल चलचित्र निर्माता संघ
मङ्गलबार, २१ भदौ २०७९, १० : ०९
मङ्गलबार, २१ भदौ २०७९

नेपाल चलचित्र निर्माता संघका नव–निर्वाचित अध्यक्ष हुन् नवल खड्का । हालै सम्पन्न संघको १६औँ महाधिवेशनबाट उनी निर्विरोध अध्यक्ष चयन भएका हुन् । करिब दुई दशक भन्दा बढी समयदेखि फिल्म निर्माण र निर्देशनमा सक्रिय उनले आफ्नो कार्यकालमा नेपाली फिल्म निर्माताले राम्रो महसुस गर्ने बताएका छन् । यसै सन्दर्भमा केन्द्रीत रहेर खड्कासँग गरिएको छोटो कुराकानी :

विभिन्न लफडाले समयमै महाधिवेशन हुन नसकेको निर्माता संघमा निर्विरोध अध्यक्ष बन्नु भयो । त्यस्तो के जादु गर्नुभयो ?

– यो जादुले सम्भव भएको होइन । विगत लामो समयदेखिको मेरो सकारात्मक क्रियाकलापले सबै साथीहरूले ममाथि विश्वास गरेका हुन् । विगतमा भएको टुटफुट र गुटबन्दीले हामी निर्माता धेरै पछि पर्‍यौँ । हाम्रा लगानी डुबे । त्यसले पनि हामी सबैलाई एकै स्थानमा उभ्याएको हो । अर्को कुरा हामी निर्माता एक भएको सन्देश दिन सकियो भने हाम्रा समस्या र चुनौतीसँग लड्न सहज हुन्छ भनेर साथीहरूलाई बुझाउन सफल समेत भइयो । त्यही कारण पनि निर्माता संघको अहिलेसम्मको इतिहासमा पहिले पटक निर्विरोध अध्यक्ष मात्र होइन, पुरै कार्यसमिति चयन भएको छ ।

निर्विरोध कार्यसमिति बन्नुले निर्माता संघ अब गुटबन्दी छैन भनेर बुझ्न सकिन्छ ?

– हो, अहिले निर्माता संघमा गुटबन्दी छैन । अहिले हामी सबैमा एकता छ । हामीले सबैले एकतामै बल छ भनेर बुझेका छौँ । निर्विरोध निर्वाचित हुँदै गर्दा मैले अझ धेरै जिम्मेवारी मेरो काँधमा भएको महसुस गरेको छु । निर्माता साथीहरूले मात्र होइन, पुरै फिल्म क्षेत्रले अहिलेको  टिममाथि आस र भरोसा राखेका छन् । एक वर्षभित्र मैले धेरै चिज गरेर देखाउनु छ । केही समय भित्रै निर्माता साथीहरूले हाम्रो कामको अनुभव गर्न सक्छन् । 

यस अगाडि पनि संघको अध्यक्षमा आउने कोसिस गर्नु भएको थियो होइन र

– हो, त्यो समय विभिन्न बाधा अड्चन आए । संघ समेत फुट्यो । फुटेर हैन, जुटेर जानुपर्छ भन्दै म अध्यक्ष नबनी साथीहरू मिलाउन लागे । अहिले पहिले फुटेका साथीहरूलाई पनि जुटाएर अध्यक्ष भए । हाम्रो फुटले गर्दा हामी निर्माताहरू कमजोर बन्दै गयौँ, त्यसको फाइदा अरूले लिए भनेर बुझाउन केही समय लाग्यो ।

अध्यक्षको रूपमा अगाडि बढ्दै गर्दा के कस्ता चुनौती देख्नुभएको छ ?

– चुनौती त कति छन् कति । त्यो अग्लो पहाड जसरी तेर्सिएको छ । त्यो नाग्नु पर्ने छ । निर्माताले हलमा राम्रा शो पाएका छैनन् । हिन्दी फिल्मले आतङ्क मच्चाएका छ । निर्माता र हलले पचास–पचास प्रतिशत आम्दानीको भागबन्डा गर्दा पनि निर्माताको भागमा सर्भर, इनकोड लगायत थुप्रै अनावश्यक खर्च थुपारिएको छ । त्यो विषयमा लड्नु छ । निर्माताले शो नै पिच्छे विभिन्न बहानामा रकम तिर्नु छ । त्यो विषयमा काम गर्नु छ । हल प्रोमो, बाहिर टाँसिने पोस्टरलगायत हलले निर्मातासँग असुल्दै आएको धेरै खर्च छन् । सिधैभन्दा निर्माताले अलिअलि कमाएको पनि हलमै छोड्नुपर्ने अवस्था छ । त्यो सबै गलत हो । त्यो अत्य हुनुपर्छ ।

आफ्नै देशको सबै ठाउँमा नेपाली फिल्म पुग्न सकेको छैन, किन ?

– त्यसका विभिन्न कारण छ । त्यो कारणको पहिचान हामीले गरिसकेका छौँ । अबको लक्ष्य पहिले नेपाली फिल्म स्वदेशकै कुना कुनामा पुर्‍याउने पनि छ ।

निर्माताहरू धमाधम डुबी रहेका छन् । यस तर्फ पनि केही सोच्नु भएको छ कि ?

– पछिल्लो समय कुनै पनि फिल्मले लगानी उठाउन नसकिरहेको यर्थाथ कसैसँग लुकेको छैन । त्यो अवस्थाले  निर्माताले राम्रो फिल्म बनाउन सकिरहेका छैनन् । निर्माताले राम्रा, क्वालिटीको र स्तरीय फिल्म बनाउनुपर्ने कुरोमा त दुई मत छैन ।

तर राम्रा फिल्मले निर्माण भए पनि प्रदर्शनका लागि उचित समय र हल नमिल्दा डुबिरहेका छन् । हाम्रो लडाइँ त्यो विषयमा पनि रहन्छ । हामीलाई निर्माण खर्च सुरक्षित गर्न नीति/ऐन पनि बाधक बन्छ । त्यो सुधारका लागि पनि पहल हुन्छ ।

विदेशी मार्केट लागि केही सोच्नु भएको छ ?

– छ, हाम्रो फिल्म स्वदेशमा मात्र होइन, विदेशमा पनि चल्नुपर्छ भनेर बेलाबेलामा पहल हुँदै आएको छ । तर त्यो पहल पर्याप्त हुन सकेको छैन । अब हामी राज्यसँग मिलेर विभिन्न मुलुकमा सांस्कृतिक दूत नियुक्त गर्छौँ । त्यसका माध्यमबाट विदेशमा फिल्मको बजार खोज्छौ । हामी कुनै पनि निर्मातालाई अबको दिनमा डुब्न नदिने हिसाबले अल्पकालीन र दीर्घकालीन कामहरू योजनाबद्ध रूपमा अगाडि सार्दैछौँ ।

निर्माताको लगानी सुरक्षित गर्ने नयाँ बाटोको के हुन सक्छ ?

– हाम्रो फिल्मले निर्माणमा फड्को मारेको छ । त्यो अनुसारको प्रदर्शनको व्यवस्था मिल्न नसक्दा हामी अगाडि बढ्न सकेका छैन । विश्व बजारमा अहिले फिल्मकोलगानी सुरक्षित हुने माध्यम ओटीटी लगायत विभिन्न डिजिटल प्लाटफर्मको विकास भएको छ । ती वा नयाँ प्लेटफर्मको निर्माण गरेर लगानी सुरक्षित गर्ने बाटो हामीले  बनाउनुपर्छ । हात हातमा र घरघरमा फिल्म सजिलै हेर्ने प्रविधिको विकासका लागि पनि पहल हुन्छ । 

नेपाली फिल्म शुक्रबार नै रिलिज हुनुपर्ने र विदेशी फिल्म जहिले पनि रिलिज हुने परिपाटीले पनि निर्माता मारमा परेको गुनासो सुन्न पाइन्छ नि ?

– विदेशी होस् वा स्वदेशी, जुनै फिल्म पनि शुक्रबारबाहेक अन्य समय रिलिज हुन नदिने हाम्रो कार्यसमितिले पहिलो मिटिङमै निर्णय गरिसकेको छ । यो तत्काल कार्यान्वयनमा पहल हुन्छ । हामी त नेपाली फिल्म शुक्रबार र विदेशी फिल्म त्यसको तीन दिन पछि अर्थात् आइतबार रिलिज गर्नुपर्ने धारणा अगाडि सार्दैछौँ । अहिले नेपालमा राष्ट्रिय चलचित्र नीति बनेको छ । त्यो कार्यान्वयन भएको छैन । त्यो कार्यान्वयनमा आयो भने हामी निर्माताको मात्र होइन, सबै फिल्मकर्मीका अहिले देखिएको ९० प्रतिशत समस्या हल हुन्छ ।

फिल्म क्षेत्रमा रहेको मुर्गा प्रविधिको अब अन्त्य हुन्छ त ?

– निर्माता सजग नभएर मुर्गा प्रविधि मौलाएको हो । एकपटक झुकिएर त्यो मानिस मुर्गा बन्ला तर त्यो दोहोरिँदैन । त्यसैले फिल्म निर्माणमा आउने नयाँ निर्मातालाई मुर्गा प्रविधि, लगानी, आम्दानी, प्रदर्शन लगायत हरेक कुरा बुझाउन सकियो भने मुर्गा प्रवृत्ति स्वतः हट्छ । हाम्रो पहल त्यसतर्फ पनि हुनेछ । मुर्गा प्रवृत्तिले गर्दा नेपाली चलचित्रको स्तर खस्किँदै गएको छ ।

अहिले गुनासो स्तरीय र दर्शक अपेक्षित फिल्म बनेन भन्ने पनि छ नि ?

– फिल्म राम्रो निर्माण हुनुपर्छ । त्यसमा कुनै दुई मत छैन ।  अहिले जुनसुकै फिल्म विश्वका जुनसुकै कुनामा रिलिज हुन थालेका छन् । हामीले पनि फिल्मलाई स्तरीय र भाषामा पनि ध्यान दियौँ भने यो गुनासो आउँदैन । अहिले बजारमा आएका फिल्म दर्शक अपेक्षित कथा र निर्माणमा चुकेका छन् । निर्माण भए कथामा मेल आएको छैन । कतिपय अवस्थामा विभिन्न डकुमेन्ट्री फिल्मको रूपमा देखाएर पनि दर्शक भाँड्ने काम भएको छ । हामीबाट बजार हेरेर थोरै बजेटमा स्तरीय र दर्शकमुखी फिल्म बनाउने पहल हुन्छ । त्यसका लागि प्रशिक्षण, गोष्ठी लगायतका क्रियाकलाप स्वदेश तथा विदेशमा आयोजना हुन्छन् ।

निर्माता संघको अनियमितताको विषयमा पनि पटक पटक लफडा हुँदै आएका छन्  नि ?

– हो, कानुन सम्मत खर्च भएका, बिल भौचर भएका भनेर विगतका नेतृत्वको विषयमा आलोचना भएका हुन् । त्यो सकारात्मक रूपमा हेर्ने हो भने राम्रो गर्न घचघच्याएको पनि हो । त्यसलाई नराम्रो दृष्टिले हेर्नुपर्दैन । अहिले म आएको छु । आफू पनि अनियमितता गर्दिनँ र त्यस्तो भएको भए पनि स्विकार्दिनँ ।

फिल्मका लागि विदेशी बजार पनि खोज्छु भन्नु भएको छ । के कस्ता बजारको कुरा गर्नु भएको हो ?

– हाम्रो राष्ट्रिय चलचित्र नीति २०७१ ले जहाँ–जहाँ हाम्रो राजदूतावास छ, त्यहाँ त्यहाँ सांस्कृतिक दूतहरू नियुक्त गर्ने र त्यो मार्फत सबै देशमा हाम्रा कला संस्कृति र चलचित्रको बजार बिस्तारका लागि पहल गर्ने भन्नेछ । त्यसका लागि राज्यको सहयोग लिनेछौँ ।

अहिले बक्स अफिस पारदर्शी भएन भनिन्छ नि ?

– हो, बक्स अफिस पारदर्शी छैन । त्यो मिलाउँछौ । बिस्तारै  निर्माताको हकहितका लागि धेरै कार्य गर्नेछु । त्यसका लागि निर्माता सबैको सहयोग भने अवश्य चाहिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप