सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

नेपाली जनप्रगतिशील मञ्च अमेरिकाको प्रशिक्षण कार्यक्रम सम्पन्न

सोमबार, २० भदौ २०७९, २२ : ०७
सोमबार, २० भदौ २०७९

नेपाली जनप्रगतिशील मञ्च अमेरिकाको आयोजनामा बृहद प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । नेकपा माओवादी केन्द्रका सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण कार्यक्रम गरिएको नेपाली जनप्रगतिशील मञ्च अमेरिकाले जनाएको छ । 

प्रशिक्षणमा बोल्दै सचिव पौडेलले मंसिर ४ गते हुन लागेको आम निर्वाचनमा विदेशमा रहेका पार्टीका सुभेच्छुक संस्थाको भूमिका महत्वपूर्ण हुने भएकाले पार्टीको पक्षमा माहोल बनाउन आग्रह गरे । उनले महाधिवेशनपछि पार्टी नयाँ मोडमा पुगेको उल्लेख गर्दै माओवादीको पक्षमा माहोल सिर्जना गरिरहेको पनि बताए । यस्तै सत्ता गठबन्धन परिवर्तन र अग्रगमनको पक्षमा रहेकाले गठबन्धन लामो समय जाने समेत पौडेलको भनाइ थियो ।  

सो क्रममा प्रवसमा बस्ने नेपालीहरुको मातृ भूमिप्रतिको दायित्व, एनआरएनए नागरिकता, स्किल रिसोर्स र लगानी, अमेरिकामा बस्ने नेपालीको समस्यालगायतका विषयमा छलफल भएको प्रवास समन्वय कमिटीका अध्यक्ष ओम शर्माले जानकारी दिए । यस्तै चुनावमा माओवादीलाई जिताउन प्रवासको भूमिका, मञ्चको अन्तर्राष्ट्रिय सञ्जाल निर्माणको आवश्यकतालगायतका विषयमा पनि छलफल केन्द्रीत भएको उनको भनाइ छ । 

मञ्चका अध्यक्ष  तिलक केसीको अध्यक्षतामा भएको कार्यक्रममा विशेष अतिथिका रुपमा प्रवास समन्वय कमिटीका सहइन्चार्ज लक्ष्मण पन्त, अध्यक्ष ओम शर्मा, सचिव टिबी पाठक रहेका थिए भने अतिथिहरुमा मञ्चका नेताहरु सुरेन्द्र भुसाल, केशव नेपाल, युवराज भण्डारी, रमेश तिवारी, प्रकाश अधिकारी, रन बहादुर केसी, राजेन्दर शर्मा रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप