आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

विद्यालय कर्मचारी आन्दोलन : अर्थ मन्त्रालयसँगको वार्ता सकारात्मक

सोमबार, २० भदौ २०७९, १७ : २२
सोमबार, २० भदौ २०७९

नेपाल सरकार र नेपाल विद्यालय कर्मचारी परिषदबीचको वार्ता सकारात्मक बनेको छ । शिक्षा मन्त्रालयले गठन गरेको वार्ता टोली, परिषद्को तर्फबाट गठन गरिएको वार्ता टोली र अर्थ मन्त्रालयका अधिकारीहरू बीचको वार्ता सकारात्मक बनेको हो । 

परिषद्का अध्यक्ष गंगाराम तिवारीले आज वार्ता निकै सकारात्मक बनेको बताए । वार्तामा अर्थ मन्त्रालयका अधिकारीहरूसँग आफ्ना मागहरूका विषयमा कुराकानी भएको थियो । अर्थ मन्त्रालयका अधिकारीहरूले मागका विषयमा अध्ययन गर्नको लागि समय मागेका छन् । जसले गर्दा आजको वार्तामा कुनै निष्कर्षमा पुग्न सकेन् । अब अर्को दिन पुनः बस्नेगरी आजको वार्ता सकिएको अध्यक्ष तिवारीले बताए । 

‘आजको वार्ता एकदमै सकारात्मक बन्यो । हामीले आफ्ना मागहरू राख्यौं । उहाँहरूले आफ्नो धारणा राख्नुभयो । कुराकानी के भयो भन्ने विषय अहिले नै उल्लेख नगरौं । केहीदिन धैर्य गरौं’ अध्यक्ष तिवारीले भने ।  यसअघि शिक्षा मन्त्रालयका अधिकारीहरूसँग बसेको पहिलो बैठकले अर्थ मन्त्रालयसँग बस्ने निर्णय गर्दै सकिएको थियो । अर्थ मन्त्रालयका अधिकारीहरूको समय मिलाएर वार्ता गर्ने भनिएको थियो । 

पूर्ण सेवा सुरक्षा ग्यारेन्टीसहित विभिन्न माग अघि सारेर विद्यालय कर्मचारीहरू गत भदौं १ गतेदेखि आन्दोलन गर्दै आएका थिए । शान्तिपूर्ण आन्दोलनबाट सरकार माग सुनुवाई गर्न अघि नसरेपछि उनीहरूले भदौं १२ गते देशभरका विद्यालय बन्दको घोषणा गरेका थिए । सोहीदिन शिक्षा मन्त्रालयले आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्ताका लागि आह्वान गरेको थियो । सोही आधारमा उनीहरूले आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप