आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

रूपन्देही ३ : घनश्याम भुसाल एमालेको घेराबन्दीमा, कांग्रेसबाट बालकृष्ण खाण सर्वसम्मत् सिफारिस

सोमबार, २० भदौ २०७९, १६ : ०३
सोमबार, २० भदौ २०७९

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दलहरुले धमाधम उम्मेदवार सिफारिस गरिरहेका छन् । सोही क्रममा रुपन्देहीको क्षेत्र नम्बर ३ मा नेकपा एमालेबाट घनश्याम भुसाल र नेपाली कांग्रेसबाट गृहमन्त्री बालकृष्ण खाण आफ्ना पार्टीबाट उम्मेदवार सिफारिस भएका छन् ।

खाण सर्वसम्मत रुपमा सिफारिस भएका हुन् भने एमालेले भुसालसहित चार जनाको नाम सिफारिस गरेको छ । भुसालसँगै तिलोत्तमा नगरपालिकाका पूर्व नगरप्रमुख बासुदेव घिमिरे, पार्टीका पुराना नेता यज्ञजित शाह र दुर्गा भुसालको नाम एमालेले सिफारिस गरेको छ ।

२०७७ साल पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि खरो प्रतिरोधमा उत्रेका नेता घनश्याम भुसाल र त्यतिबेलासम्म भुसालकै कट्टर समर्थक रहेका बासुदेव घिमिरेलाई गुट परिवर्तन गराएर एमालेको संस्थापन पक्षले अहिले दुवै जनालाई उम्मेदवारका रुपमा सिफारिस गरेको छ । प्रतिनिधिसभा विघटनको समयमा नगरप्रमुखको रुपमा विज्ञप्ति नै निकालेर घिमिरेले विरोध जनाएका थिए ।

तर एमाले उपाध्यक्ष विष्णु पौडेलले गुट परिवर्तन गराएर ओली समूहमा ल्याएका उनै घिमिरेलाई अहिले भुसालको विकल्पको रुपमा प्रयोग गर्ने तयारी गरिएको छ । भुसाललाई भरसक उम्मेदवार नबनाउने पक्षमा एमालेका ओली पक्षका नेताहरु लागेका छन् ।

एमाले तिलोत्तमा नगर अध्यक्ष तामनाथ पाण्डेका अनुसार भुसाल एमालेका लागि रुपन्देही–३ को निर्विकल्प उम्मेदवार हुन् । तर ओली पक्षका नेताहरुले भुसाललाई टिकट नदिएर घिमिरेलाई उम्मेदवार बनाउन चाहेको कतिपयको आशंका छ ।

विकल्पमा राप्रपासँग तालमेल

नेकपा एमालेका ओली समूहका नेताले घनश्याम भुसाललाई उम्मेदवार बनाउनुपर्ने अवस्था आएमा अर्को विकल्प अपनाउने देखिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी एकता गरेर क्षेत्र नम्बर ३ राप्रपा नेता दिपक बोहोरालाई दिने र क्षेत्र नम्बर १ मा एमालेका छबिलाल विश्वकर्मालाई उम्मेदवार बनाउने रणनीति ओली पक्षका नेताहरुले बनाएको बुझिएको छ । प्रतिनिधिसभा विघटन र पार्टीको दशौं महाधिवेशनको अन्तरविरोध साँधेर भुसाललाई सजाय दिन खोजिएको एमाले वृतमै चर्चा हुने गरेको छ ।

कांग्रेसमा तानातान

नेपाली कांग्रेसका नेता बालकृण खाणलाई भने आफ्नै निर्वाचन क्षेत्र रुपन्देही–३ र २ बाटसमेत प्रतिनिधिसभा उम्मेदवारमा पार्टीले सिफारिस गरेको छ । क्षेत्र नम्बर ३ बाट सर्वसम्मत रुपमा सिफारिस गरिएका खाणलाई क्षेत्र नम्बर २ मा ल्याउन बुटवलका केही कांगे्रस नेताहरु लागेका छन् । क्षेत्र नम्बर २ बाट खाणलाई चुनाव लडाए एमालेका प्रतिस्पर्धी विष्णु पौडेललाई यसपटक हराउन सकिने कांगे्रस नेताहरुको आकलन छ ।

नेपाली कांग्रेसका रुपन्देही सचिव हरि काफ्लेले भने क्षेत्र नं. ३ बाट खाण नै कांग्रेसको निर्विकल्प उम्मेदवार भएको बताउँछन् ।

यसअघि २०७४ सालको निर्वाचनमा निर्वाचन क्षेत्र नं. ३ बाट एमाले नेता घनश्याम भुसाल राप्रपा–कांग्रेस गठबन्धनका उम्मेदवार दिपक बोहोरालाई पराजित गरेर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । भुसालले ३२ हजार ८६६ मत ल्याउँदा बोहोराले २७ हजार ४२२ मत प्राप्त गरेका थिए । त्यतिबेला कांग्रेस नेता खाण समानुपातिकतर्फ थिए ।

रुपन्देही क्षेत्र नम्बर ३ मा सिद्धार्थ नगरपालिका, शुद्धोधन गाउँपालिका, तिलोत्तमा नगरपालिकाका वडा नं. १३ र १४, बुटवल उपमहानगरका १४, १५, १६, १७, १८ र १९, सियारी गाउँपालिकाका १, २, ३, ४, ५, ६ र ७, मायादेवी गाउँपालिकाका ७ र ८ तथा ओमसतियाका गाउँपालिकाको वडा नम्बर २ पर्दछ ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाअध्यक्षहरुले ल्याएको मत परिणाम अनुसार नेपाली कांग्रेससहित गठबन्धनका दलको ३४ हजार १५३, एमालेको २९ हजार ४८ र राप्रपाको १३ हजार ३९७ मत छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप