त्रिविको खस्किँदो अवस्था र नेविसङ्घको जिम्मेवारी

person explore access_timeभदौ २०, २०७९ chat_bubble_outline0

नेपालको उच्च शिक्षाको धरोहर त्रिभुवन विश्वविद्यालयको गौरवशाली इतिहास र प्राज्ञिक छवि आज धराशायी हुँदै गएको छ । यो तथ्य विश्वविद्यालयका वर्तमान उपकुलपति स्वयंले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरे । त्रिविको यो हालत कसरी भयो भन्ने विषयमा चर्चा गर्दा आफ्नो पदीय जिम्मेवारी बिर्सिंदै नेवि सङ्घमाथि दोष थोपरिएको छ ।


विद्यार्थीको हकहित र अधिकारका लागि पञ्चायतकालदेखि लड्दै आएको छ नेपाल विद्यार्थी सङ्घ । अहिले यसको जिम्मेवार भूमिकामाथि प्रश्न गर्दै कपोलकल्पित लाञ्छना लगाउनु आफ्नो असक्षमता ढाकछोप गर्ने दुष्प्रयास हो । कुत्सित मनसायले आयोजित पत्रकार सम्मेलनको अर्थ नबुझी कपोलकल्पित र भ्रामक किसिमले उपकुलपतिले दिएको खास संस्था र व्यक्ति केन्द्रित समाचार सम्प्रेषण गरी आम जनमानसमा भ्रम सिर्जना गर्न खोजिएको छ । यसले त्रिविको यथार्थता र नेवि सङ्घले खेलेको भूमिकाबारे केही प्रष्ट पार्न यो लेख लेखिएको हो । यसमा त्रिविको प्राज्ञिक छवि, त्रिविका वर्तमान पदाधिकारीको आगमनपछिको अवस्था र नेवि सङ्घको समग्र भूमिकाबारे यथार्थ चर्चा गर्ने प्रयत्न गरिएको छ । 



कुनै पनि देशको समग्र विकासको लागि उच्च शैक्षिक संस्थाको भूमिका सर्वोपरि हुन्छ भन्ने कुरामा कोही कसैको द्विविधा छैन । हरेक देशका विश्वविद्यालयले आफ्नो देशको तात्कालीन र दीर्घकालीन योजना र विकासका लागि आवश्यक पर्ने सबैखाले दक्ष जनशक्ति उत्पादन गर्ने उत्तरदायित्व लिएको हुन्छ । सोहीअनुसार आफ्नो जिम्मेवारी पूरा पनि गरेको हुन्छ । यसकारण पनि प्राध्यापक र विद्यार्थीहरू राज्यको प्राथमिकतामा पर्दछन् । तर विडम्बना नेपालको सन्दर्भमा न त विश्वविद्यालयले आफ्नो अहम भूमिका निर्वाह गर्न सकेको छ न त सरकारले नै । यहाँ त खास किसिमको राजनीतिक आस्था बोकेको गैरजिम्मेवार व्यक्ति विश्वविद्यालयको जिम्मेवार पदमा नियुक्ति लिने गररेका छन् । नियुक्तिपछि पदीय जिम्मेवारी अनुसार आफूले काम गर्न सके नसकेको, गरे नगरेको, विश्वविद्यालय सही दिशामा अगाडि बढे नबढेकोमा कहिले प्रश्न गर्दैनन् । अनि आफ्ना आसेपासे र राजनीतिक आस्थाका आधारमा आफूसँग सामीप्यता राख्ने विचार र सम्बन्ध भएका प्राध्यापक, कर्मचारी एवं विद्यार्थीलाई जेजस्तो काम गरे पनि काखी च्याप्ने गर्छन् ।  फरक मत वा विचार राख्ने प्राध्यापक, कर्मचारी र विद्यार्थीलाई विभिन्न वहानामा विभेदपूर्ण व्यवहार गर्ने र कपोलकल्पित लाञ्छना लगाउँदै सर्वथा निषेध गर्न खोजिएको छ ।



त्रिभुवन विश्वविद्यालयको गौरवशाली इतिहास विश्वविद्यालय स्वयंमा होइन कि यसका विद्यार्थी र उनीहरूको जिम्मेवार भूमिकासँग जोडिएको छ । विद्यार्थी नै विश्वविद्यालयको केन्द्र हो भन्ने कुरा संसारभरका विश्वविद्यालय र सरकारले बुझेका हुन्छन् । यसकारण पनि उच्च शैक्षिक संस्थाको नीति र कार्यक्रम विद्यार्थी केन्द्रित र विद्यार्थीमैत्री हुन्छन् ।

नेपाल र त्रिविका सन्दर्भमा कुरा गर्दा नेपाल विद्यार्थी सङ्घ निरङ्कुश पञ्चायती व्यवस्थामा पनि नेपालका विद्यार्थीको हक, हित र अधिकारको सुनिश्चितताका लागि निरङ्कुश सत्ता र शासनका विरुद्ध निर्भीक र अडिग भएर निरन्तर आवाज उठाउँदै अनेकन लडाइँ लडि नै रह्यो । निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्धमा मात्र होइन कि लोकतन्त्रको स्थापनापछि उच्च शैक्षिक संस्थामा आम विद्यार्थीहरूको हक, हित र अधिकारलाई स्थापित गर्ने र स्तरीय शैक्षिक भौतिक वातवारण तयार गर्न पटक पटक आन्दोलन गर्दै आएको तथ्य पनि इतिहासमा जगजाहेर छ । यसका अतिरिक्त देशको राजनीतिक परिवर्तन र लोकतन्त्रको स्थापना र संस्थागत विकासमा समेत नेपाल विद्यार्थी सङ्घ निरन्तर लडिरहेकै छ । त्यति मात्र होइन, सचेत र जिम्मेवार विद्यार्थी सङ्गठनको हैसियतले नेपाल विद्यार्थी सङ्घले महत्त्वपूर्ण समसामयिक राष्ट्रिय अन्तर्राष्ट्रिय विषयमा समेत आफ्नो दृष्टिकोण र भूमिका निर्वाह गर्दै आएको छर्लङ्ग नै छ ।    

त्रिभुवन विश्वविद्यालयको सन्दर्भमा वर्तमान पदाधिकारीको आगमनपछि शैक्षिक, प्रशासनिक र आर्थिक पक्षको व्यवस्थापन र नियमनमा असक्षम, विवेकहीन अराजक र स्वेच्छाचारी प्रवृत्ति देखिएको छ । यसबाट सिर्जना भएको शैक्षिक प्राज्ञिक अस्तव्यस्तता, बेथिति, अनियमितता एवं अशान्त र असुरक्षित वातावरणबारे नेपाल विद्यार्थी सङ्घ र नेविसङ्घका केही विद्यार्थीहरूलाई जोडेर उनीहरूको जिम्मेवार भूमिका, व्यवहार र चरित्रबारे भ्रामक प्रचार गरिएको छ । यो कार्य पदाधिकारीले राजनीतिक आस्थाका आधारमा विश्वविद्यालय कब्जा गर्ने कुत्सित मनसायबाहेक अरू केही हुन सक्दैन । प्राध्यापक जस्तो व्यक्ति विश्वविद्यालयको जिम्मेवार पदमा आउँदा विश्वविद्यालयको ऐतिहासिक, शैक्षिक, प्राज्ञिक छवि र अस्तित्व धराशायी बन्छ भने त्यसको दोष अरूलाई लगाएर उम्किन मिल्छ र ?

विश्वविद्यालयको इतिहासमा कहिले नभएको विषम परिस्थिति आफ्नो पदावधिमा सिर्जना हुनु आफ्नो पदीय भूमिका र नेतृत्वदायी असक्षमता होइन र ? विश्वविद्यालय वास्तवमा विश्वविद्यालयजस्तो गरी सञ्चालन गर्न सकिएन भने एउटा नैतिकवान, जिम्मेवार र कर्तव्यनिष्ठ प्राध्यापकले विश्वविद्यालयलाई बन्धक बनाउने हा ेकि उचित निकाश दिने हो ?

विश्वविद्यालय समाल्न र जिम्मेवारी वहन गर्न कठिनाइ हुँदा यसको वातावरण बिग्रन दिनुभन्दा उचित निकास दिनुपर्दछ भन्ने कुरा विगतका उपकुलपति प्रा.डा. केदारभत्त माथेमाजस्ता उपकुलपतिबाट सिक्नु पर्दैन र ? एउटा इमानदार, कर्तव्यनिष्ठ र सक्षम प्राध्यापकले विश्वविद्यालय धराशायी बन्दै जाँदा आफ्नो विश्वविद्यालयका प्राध्यापक, कर्मचारी र विद्यार्थीलाई असक्षम भन्दै दोष लगाएर भए पनि पदमा बसिरहने र अभिष्ट पूरा गर्ने हठ गर्न सक्छ ? विश्वविद्यालयको नैतिकवान, इमानदार र सक्षम प्राध्यापक यो अवस्था हुँदा पनि टुलुटुलु हेरेर बसिरहन सक्छ ? यस्ता प्रश्नहरूको उत्तर कोही कसैले खोजेको छैन । पदासीन व्यक्तिले जे प्रचार गर्यो त्यही सत्य हुन्छ कि त्यसको अन्तर्य अरू केही पनि हुन सक्छ ? यसबारे न कुनै सञ्चार माध्यमले प्रश्न गरेका छन्, न कुनै प्राध्यापक, कर्मचारी र विद्यार्थीले । विश्वविद्यालयको यथार्थता एउटा छ प्रचारबाजी अर्कै छ ।

विश्वविद्यालय के हो ? के के हुनु पर्दछ ? के भइरहेको छ ? भन्ने प्रश्नको उत्तर खोज्दा हालको त्रिविको यथार्थता बुझ्न सकिन्छ । विश्वविद्यालय स्वतन्त्र, भयरहित भएर कुनै पनि विषयमा खोज, अनुसन्धान र छलफल गर्ने उच्च शैक्षिक संस्था हो । यहाँ राज्यका महत्त्वपूर्ण विषयहरूमा बहस, छलफल, अन्तरक्रिया गर्नुपर्दछ र गरिन्छ । यी सबै शैक्षिक क्रियाकलापहरू विद्यार्थी केन्द्रित हुन्छन् । के त्रिविमा हालको पदाधिकारी आएपछि विश्वविद्यालयमा हुनुपर्ने यस्ता प्राज्ञिक क्रियाकलापहरू भएका छन् ?

यस्ता महत्त्वपूर्ण शैक्षिक गतिविधिबारे आम सरोकारवाला र सञ्चारमाध्यमको प्रश्न र विश्लेषण खोइ ? अन्य विद्यार्थी सङगठनको प्रश्न खोइ ?

अहिले त्रिभुवन विश्वविद्यालयको भर्ना, पठनपाठन, परीक्षा र नतिजा प्रकाशनजस्ता न्यूनतम शैक्षिक कार्यक्रम पूर्णतः अस्तव्यस्त छन् । कुनै पनि पक्षको सुनिश्चितता छैन । गुणस्तरीय, व्यावहारिक र सीपमूलक शिक्षाका सन्दर्भमा शैक्षिक क्यालेन्डरको माग गर्नु, नियमित र स्तरीय पठनपाठनको कुरा गर्नु, विश्वविद्यालयमा आवश्यक अनुसन्धान र अनुसन्धानमा आधारित पठनपाठनको कुरा गर्नु, समयमा परीक्षा सञ्चालन र नतिजा प्रकाशनको माग गर्नु विद्यार्थीको हकहित र अधिकारको सुनिश्चतताको आवाज उठाउनु गलत हो ?

विद्यार्थी केन्द्रित शैक्षिक प्राज्ञिक पक्षबारे माग गर्दा विश्वविद्यालय पदाधिकारीले बेवास्ता गरी विद्यार्थीलाई अपराधी र गुण्डागर्दीको संज्ञा दिइन्छ भने नेवि सङ्घ यसको भण्डाफोर गर्दै आफ्ना विद्यार्थीकेन्द्रित जायज मागको लागि जस्तोसुकै दुःखद् र कठिन अवस्थामा पनि निरन्तर लागिरहनुपर्दछ र लागिरहन्छ ।

देशको सबैभन्दा ठूलो र जेठो गरिमामय छवि भएको उच्च शैक्षिक संस्थालाई व्यवस्थित गरिनुपर्दछ । निजी उच्च शैक्षिक संस्थासँग प्रतिस्पर्धी बनाउनु पर्दछ, गरिब र जेहेनदार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था हुनुपर्दछ । उचित र उपयुक्त छात्रावासको व्यवस्था हुनुपर्दछ । स्वच्छ, स्वस्थ खानेपानी, सफा र स्तरीय शौचालय, सुधारिएको स्तरीय पुस्तकालयको व्यवस्था हुनुपर्दछ । विश्वविद्यालयको भैतिक संरचना र वातावरण विश्वविद्यालयकै जस्तो हुनुपर्दछ भन्नेजस्ता माग हाम्रा  हुन् । यी समग्र पक्षको सुधारका लागि गर्न शान्तिपूर्ण आन्दोलन गर्दा बेवास्ता गरिएको छ । विद्यार्थीलाई राजनीतिक आग्रह र पूर्वाग्रही ढङ्गले निषेध गरिएको छ । यस्तो सर्वसत्तावादी चरित्र विश्वविद्यालयका पदाधिकारीमा हुनु  घातक छ ।

यसैगरी परीक्षाजस्तो संवेदनशील विषयमा पटक पटक प्रश्नपत्र दोहोरिनु, निजी क्याम्पस÷कलेजमा सोधिएका प्रश्न त्रिविको अन्तिम परीक्षामा सोधिनु विश्वासनीयतामाथि प्रश्न उठ्नु हो । त्यसबारे छानविन गरी समयमा नै दोषीलाई कार्वाही हुनुपर्छ । यस्ता कमी कमजोरी सुधार गर्नुर्छ भन्ने आवाज उठाउँदा त्यसप्रति कुनै वास्ता गरिएको छैन । यसबारे भएका  अध्ययन प्रतिवेदन सार्वजनिक नगरी गुपचुप राख्नु, दोषीलाई संरक्षण गर्नुले विश्वविद्यालयको शैक्षिक गुणस्तरमाथि सङ्कट निम्त्याएको छ । यस्ता गलत क्रियाकलापको अन्त्य हुनुपर्छ भनी शान्तिपूर्ण माग राख्दा नेवि सङ्घ आपराधिक र गुण्डागर्दी गर्ने सङ्गठन भनी मुठभेड गराई आफ्नो अभीष्ट पूरा गर्ने पदाधिकारीको सोच अवश्य राम्रो होइन ।

प्राध्यापक–प्राध्यापक, कर्मचारी–कर्मचारी, विद्यार्थी–विद्यार्थीबीच मुठभेड सिर्जना गरी त्रिविलाई अशान्त बनाएर पद जोगाइरहने पदाधिकारीको यो चरित्रले विश्वविद्यालयलाई रणभूमिमा परिणत गरेको छ ।

विद्यार्थीलाई केन्द्रमा राखी गुणस्तरीय, सान्दर्भिक र समसामयिक पाठ्यक्रम, भौतिक वातावरण, शैक्षिक वातावरण, प्राज्ञिक वातावरण निर्माणको लागि रचनात्मक रूपमा सहयोग र सहभागी हुन नेवि सङ्घ तयार रहेको छ । यो कुरा पटक पटक सार्वजनिक गरिएको छ । पटक पटक बुझाईएका ज्ञापनपत्र र औपचारिक अनौपचारिक कुराकानीमा समेत नेवि सङ्घ विश्वविद्यालयको विग्रिएको अवस्थाप्रति संवदनशील भएर त्यसको रचनात्मक समाधानका लागि तत्पर रहेको बताएको छ । नेवि सङ्घको अभिव्यक्ति र भूमिकाले नेवि सङ्घ इमानदार र जिम्मेवार छ ।

तर त्रिवि पदाधिकारी विद्यार्थी सङ्गठनसँग वार्ता र संवाद नगरी विभिन्न किसिमका झुटा आरोप र मुद्दा लगाएर सङ्गठनकै बदनाम नेवि सङ्घमाथि निरन्तर दमन गर्ने र निषेध गर्ने कार्य गर्न उद्यत छ । यस किसिमको प्रवृत्ति र व्यवहार भएका पदाधिकारी नैतिकवान, इमानदार र सक्षम प्राध्यापकले हुन सक्छन् ? यसबारे त्रिविका कुलपति र सहकुलपतिज्यूले प्रश्न गर्नुपर्दैन ?

यस्ता भ्रामक प्रचारका लागि गरिएको पत्रकार सम्मेलनका आधारमा धारणा बनाउनु हुँदैन । कुलपतिज्यू र उपकुलपतिज्यूले त्रिवि कसरी चलिरहेको छ, त्यसको यथार्थ जानकारी लिएर मात्र सही समाधान हुन सक्छ ।

कुलपतिज्यू र सहकुलपतिज्यूले वर्तमान त्रिविका पदाधिकारीलालई एउटा गम्भीर प्रश्न गर्नु आवश्यक छ । राम्रो कामको जस लिने र नराम्रो कामको जिम्मा लिने दायित्व त्रिवि पदाधिकारीको हो कि कुलपति र सहकुलपतिको ? यदि संसद्, सरकार, कुलपति र सहकुलपतिले त्रिविको जिम्मा लिने हो भने पदाधिकारीको काम के हो ? अन्यथा त्रिवि जस्तो पवित्र उच्च शैक्षिक संस्थामा भइरहेका गैरप्राज्ञिक हर्कतहरू टुलुटुलु हेरेर बस्नुको कुनै विकल्प हुने छैन ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।