आइतबार, ०६ माघ २०८१
ताजा लोकप्रिय

‘उपाधि जित्ने हाम्रो लक्ष्य’

सोमबार, २० भदौ २०७९, १४ : २७
सोमबार, २० भदौ २०७९

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले साफ महिला च्याम्पियनसिप फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा भुटानसँग खेल्दै सुरुवात गर्दैछ । दोस्रो पटक घरेलु मैदानमा हुने प्रतियोगिताको उपाधि जित्ने लक्ष्य बनाएको नेपालले सपूर्ण रुपमा तयार भएको प्रशिक्षक कुमार थापाले बताए ।

उनले आफ्नो दोस्रो इनिङ सफल बनाउन आफू लागि परेको बताए उनले नेपाली टोलीले साफका लागि सात साता तयारी गरेकाले उत्कृष्ट नतिजाका लागि आफूहरु तयार भएको बताए । ‘घरेलु मैदानमा हुन लागेको प्रतियोगिताको उपाधि हामी नै राख्ने योजना बनाएका छौं । साफले नेपालमा ल्याएको ट्रफीलाई यतै राख्ने र सम्पूर्ण समर्थकलाई खुसी बनाउने योजना छ,’ उनले भने ।

थापाले नेपाली टोली लामो समयदेखि उपाधिको भोको भएको बताए । उनले यो पटक उपाधिको प्यास मेट्ने गरि आफूहरुले तयारी गरेको र खेलाडीहरु पनि त्यही मानसिकतामा भएको बताए । ‘लामो समय देखिको उपाधिको प्यास यो पटक मेट्ने योजनामा छौं हामी । त्यसैअनुसार तयारी पनि भइरहेको छ । खेलाडी पनि तयार छन् । मेरो दोस्रो इनिङ्समा आफू सफल बनाएर देखाउने मौका पनि हो,’ उनले भने ।

यता नेपाली राष्ट्रिय टोलीकी नयाँ कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले आफूहरु उपाधिका लागि खेल्ने बताइन् । प्रतियोगिता अघि धेरै कुरा गर्नुभन्दा पनि यो समय खेलेर प्रमाणित गर्ने रहेको उनले बताइन् । एन्जिलाले आफूलाई कप्तानको जिम्मेवारी दिएर विश्वास गरेकोमा टिमलाई धन्यवाद दिँदै आफूले कप्तानीको रुपमा प्रमाणित गरेर देखाउने बताइन ।

‘मलाई विश्वास गरेर कप्तानको जिम्मेवारी दिएको छ । म त्यो जिम्मेवारीलाई सफल बनाएर देखाउने छु । टिमलाई उपाधि दिलाउन सकेमा म सफल भएको प्रमाणित हुनेछ । स्वर्ण नै मेरो लक्ष्य हो,’ उनले भनिन् । प्रतियोगिता अन्तर्गत नेपालले भोलि भुटानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप