शिक्षा मन्त्रालयमा अन्तरिक्ष विज्ञान शाखा स्थापना

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अन्तरिक्ष विज्ञान शाखा खोलेर खगोल एवं अन्तरिक्ष विज्ञानसम्बन्धी कामलाई अघि बढाएको छ । नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) १६औँ वर्ष प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा मन्त्रालयका उपसिचव एवं शाखा प्रमुख सन्तोष शर्माले खगोल एवं अन्तरिक्ष विज्ञानका विषयमा हुने गतिविधिलाई एकीकृत गर्न लागिएको जानकारी दिए । शाखामार्फत् खगोल र अन्तरिक्ष विज्ञान विषयमा काम गर्ने संस्थालाई एकीकृत गरी काम गरिने उनको भनाइ थियोे ।
नेपालमा खगोल विज्ञानलाई प्रवद्र्धन गर्न नासोले विद्यालय एवं महाविद्यालय तहका विद्यार्थी बीचमा विभिन्न गतिविधि गर्दै आएको छ । कक्षा आठदेखि खगोल विज्ञानसम्बन्धी ओलम्पियाड प्रतियोगिता, चित्रकला, वक्तृत्वकलालगायत कार्यक्रम गर्दै आएको कार्यक्रममा जानकारी गराइएको थियो ।
यसले गर्दा खगोल विज्ञानका विषयमा विद्यार्थीमा जिज्ञासा बढाएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका सदस्य डा.दीनेशराज भुजुले खगोल विज्ञानका विषयमा धेरै विद्यार्थी, अभिभावक र जनसाधारणको पनि ध्यानाकर्षण गराउन नासो सफल भएको बताए ।
नासोले नेपालमा विज्ञान र संस्कृतिलाई अघि बढाएको उल्लेख गर्दै उनले अबका वैज्ञानिक सांस्कृतिक वैज्ञानिक हुने पनि सुनाए । नासोका अध्यक्ष सुरेश भट्टराईले नेपाललाई वैज्ञानिक संस्कृतितिर अघि बढाउने उद्देश्यले नै १५ वर्षअघि त्रिचन्द्र क्याम्पसमा विज्ञान पढ्ने विद्यार्थीको समूहले काम सुरु गरी संस्था स्थापना गरेको बताए । पाठ्यक्रम विकास केन्द्रका पाठ्यक्रम अधिकृत खिलनारायण श्रेष्ठले अन्तरिक्ष विज्ञान विश्वव्यापी बनिरहेका बेला नेपालले पनि काम सुरु गरेको जानकारी दिए ।
कार्यक्रममा नास्टका इञ्जिनीयर रोशन पाण्डे, अभिभावक पङ्कजकुमार कर्ण, विज्ञान शिक्षिका सरिता शाक्य प्रधान र रुपा मानन्धरलगायतले नेपालमा खगोल एवं अन्तरिक्ष विज्ञानका बारेमा अध्ययन, अनुसन्धान गर्ने गराउने वातावरण बनाउन माग गरेका थिए ।
कार्यक्रममा नासोले विभिन्न समयमा आयोजना गरेका गतिविधिमा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान पनि गरिएको थियो । नासोले मन्त्रालय, नास्टलगायत विज्ञानका विषयमा काम गर्ने सरकारी एवं गैरसरकारकारी संस्थासँग सहकार्य गरी आफ्ना गतिविधि अघि बढाउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय उसु निर्णायक र डिप्लोमा कोर्ष सम्पन्न
-
फ्रान्सको मस्जिदमा संघातिक हमलाका सन्दिग्ध इटलीमा पक्राउ
-
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
-
ट्रम्पको पुनरागमनपछि मस्कको शक्ति बढ्यो तर लोकप्रियता र सम्पत्तिमा घाटा
-
बाटो निर्माणमा ७ लाख ७९ हजार हिनामिना, वडाअध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा दायर
-
मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन उद्घाटनविनै सञ्चालन